विकट गाउँमा बाटोको ट्रयाक खोल्दै तुलसीपुर उपमहानगरपालिका

  पहिलोपेज

 455 पटक हेरिएको

तुलसीपुर, २६ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले विकट वडाहरुमा बाटोको ट्रयाक खोल्ने कामलाई पछिल्लो समय तीव्रता दिएको छ । विकास निर्माणका गाडीहरु खरीद गरेर उपमहानगरपालिकाले विकटका वडामा बाटो पुर्याउनुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पारिरहेको छ ।

यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडाहरु १, ३, ४ र १३ का विभिन्न गाउँहरुमा बाटो पुर्याउने काम गरिरहेको नगरप्रमुख घनश्याम पाण्डेले बताए । “दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ हुँदैन” पाण्डेले भने । उपमहानगरपालिकाको विकट वडाका रुपमा रहेको वडा नम्वर ४ का विभिन्न विकट ठाउँमा बाटो पुर्याउनुका साथै बाटो ग्राभेल र फराकिलो बनाउने काम गरेको वडाध्यक्ष बालकृष्ण रानामगरले जानकारी दिए । “पर्यटकीयस्थल चमेरे गुफा र मुलकोटसम्म बाटो पुर्याउने काममा हामी सफल भयौ” पुनले भने ।

यसका साथै वर्षातको समयमा बाढीपहिरोले बन्द गराएको बाटो खुलाउने काममा पनि उपमहानगरपालिकाका गाडीले काम गरेको वडाध्यक्ष रानाले बताए । रानाले लामिदमार, तुषारे खोला, वेत्रावती, खाद्रे स्कुल लगायतका विभिन्न ठाउँमा करिव ८ किलोमिटरसम्मको बाटोमा नयाँ ट्रयाक खोल्ने, ग्राभेल गर्ने काम भएको बताए । उनले बाटो १२ मिटरसम्म फराकिलो भएको पनि बताए ।

त्यस्तै उपमहानगरका गाडीहरुले वडा नम्वर १२ मा अहिले बाटो फराकिलो पारिरहेका छन् । वडाध्यक्ष सुर्यवहादुर डाँगीले १ किलोमिटरको हरिपौरी र गुहारखोला हुँदै धमकापुरसम्म जाने बाटो निर्माण गरिरहेको बताए । “दुईवटा वडा जोड्ने सडकको चौडाई अनिवार्य रुपमा १२ मिटर रहेको छ” उनले भने । डाँगीले पूरै वडालाई सडक सञ्जालले जोडेको पनि बताए । “उपमहानगरपालिकाले गाडी ल्याएर वडामा बाटो निर्माण गर्न सजिलो भएको थियो ।”

यता वडा नम्वर १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेलाई पूरै वडामा बाटो लैजाने विश्वास बढेको छ । “हामीले बाटो पुर्याउन सक्दैनौ जस्तो लागेको गाउँमा पनि बाटो पुग्न सकेको छ’’, उनले नयाँ ठाउँमा पनि बाटो खोल्नका लागि उपमहानगरले नै पहल गरिरहेको पनि बताए । “अब हाम्रो पालो आउँदै गरेको छ, फेरि नयाँ ठाउँमा बाटो खोल्नेछौ” न्यौपानेले बताए । न्यौपानेको जस्तै सुखद अनुभव छ वडा नम्वर १४ का वडाध्यक्ष पर्शुराम चौधरीको पनि । चौधरीले वडाको बजेटबाट गर्न नसकिएका कामहरु उपमहानगरको गाडी प्रयोग गरेर भइरहेको बताए । “गतसाल मलवारदेखि करंगासम्म बाटो फराकिलो बनाउनुका साथै ग्राभेल पनि गर्यौ” चौधरीले बताए ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा विकासका कामहरुलाई अगाडि वढाउनका लागि २ बटा जेसिवी, २ वटा ट्रक र एउटा रोलर किनेर नयाँ ट्रयाक खोल्न र ग्राभेल बनाउन सहज भएको पनि नगरप्रमुख पाण्डेले बताए । वडा कार्यालयहरुले निवेदन दिएपछि क्रमअनुसार गाडी प्रयोग गरिने यान्त्रिक शाखा प्रमुख मधुकर डाँगीले बताएृ । उनले गाडीको आर्थिक जोहो गर्नका लागि बाहिरको काम पनि सस्तो दरमा गरिने बताए । उनले विकास निर्माणका कामहरु सजिलो बनाउनका लागि गाडीहरुले निकै सहयोग गरेको बताए । उनले उपमहानगरपालिकाका सबै वडाहरुमा पालैपालो काम भइरहेको समेत जानकारी दिए ।

नगरप्रमुख घनश्याम पाण्डेले यो वर्ष थप निर्माणका गाडी ल्याउनका लागि उपमहानगरपालिकाले यस वर्ष पनि गृहकार्य गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार