निवृत्त कर्मचारीहरु अनुभवका खानी : नगरप्रमुख पाण्डे

  पहिलोपेज

 357 पटक हेरिएको

दाङ, २३ मंसिर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निवृत्त कर्मचारीहरु अनुभवका खानी भएकाले उनीहरुबाट धेरै ज्ञान लिनुपर्ने बताएका छन् । निवृत्त राष्ट्रसेवक समाज शाखा कार्यालय तुलसीपुर दाङको चौथो अधिवेशन तथा १०औं वार्षिक साधारण सभाको शनिबार तुलसीपुरमा उदघाटन गर्दै नगर प्रमुख पाण्डेले यस्तो धारणा राखेका हुन् ।

आफ्नो योग्यता, क्षमता, ज्ञानअनुसार देश विकासमा ठूलो योगदान पु¥याएको चर्चा गर्दै प्रमुख पाण्डेले उहाँहरुबाट वर्तमान पुस्ताका कर्मचारीहरुले धेरै कुराहरु सिक्न र उहाँहरुको अनुभवलाई अंगाल्न आवश्यक रहेको बताए । समाजका अध्यक्ष जयपृथ्वी बहादुर शाहको अध्यक्षतामा भएको सभाको उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि पाण्डेले पहिलेको पुस्ताले धेरै संघर्षमार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै वर्तमान पुस्तालाई प्रविधिको सदुपयोगसहित अझ बढी काम गर्न अनुरोध गरेका थिए । उनले समाजलाई आवश्यकता अनुसारको सहयोग गर्न उपमहानगरपालिका सदैव तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

समाजका सल्लाहकार शेषमणि रिजालको स्वागत मन्तव्यबाट सुरु भएको सभाको उदघाटन समारोहमा बोल्ने अन्य सहभागीहरुले सरकारले अन्य नागरिकलाई जस्तै निवृत्त कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न माग गरेका थिए । उनीहरुले निवृत्त कर्मचारीको निधनपछि उनीहरुका परिवारलाई पेन्सन भत्ताको आधा रकम दिने चलनको अन्त्य गरी पूरै भत्ता दिने व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

उक्त अवसरमा सचिव निमकान्त ढकालले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अर्जुनकुमार श्रेष्ठले २ लाख ८३ हजार १ सय ८० रुपैयाँ ८० पैसाको आयव्यय विवरण प्रस्तुत गरेका थिए । सभामा विशिष्ठ अतिथिहरु समाजका केन्द्रीय अध्यक्ष चतुरमान डाँगी, पूर्व सांसद बुद्धिराम भण्डारी, वडा नं ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, समाजका केन्द्रीय महासचिव शंकरप्रसाद आचार्य, भूतपूर्व प्रहरी संगठनका खुशल आले, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका डिल्लीराज गौतम श्रीधर, प्रेमचन्द्र शर्मा गैरे, धर्मराज योगी, निर्वाचन संयोजक खुमानन्द अधिकारी, सल्यान जिल्ला सदस्य टेकमप्रसाद अधिकारी, जेष्ठ नागरिक समाज तुलसीपुर नगर समितिका अध्यक्ष ललितकुमार वली लगायतकाले बोलेका थिए । समाजका उपाध्यक्ष ईश्वरीप्रसाद गैरेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव निमकान्त ढकालले गरेका थिए । त्यस अवसरमा ६ जनालाई सम्मान गरिएको थियो ।

यसैबीच सभाले आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । जयपृथ्वी बहादुर शाहको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय कार्यसमितिको चयन गरेको हो । जसको उपाध्यक्ष तुलसा आचार्य, सचिव जगतकुमार वली, कोषाध्यक्ष भीष्मकुमार लामिछाने, सहसचिव रणबहादुर बस्नेत रहेका छन् । त्यसैगरी सदस्यहरुमा जीवाकुमारी पुन जीसी, पार्वती भुसाल, टंकप्रसाद गौतम, धर्मनाथ योगी, प्रेमचन्द्र शर्मा गैरे, चेतराज सिंह ठकुरी रहेका छन् । निर्वाचन संयोजक खुमानन्द अधिकारीका अनुसार नयाँ कार्यसमितिले आइतबार नै पदभार ग्रहण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार