सल्यानको त्रिवेणीमा ‘गर्भवतीलाई नुन’ कार्यक्रम प्रभावकारी

  शंकर केसी

 245 पटक हेरिएको

सल्यान, २२ मंसिर । सल्यानमा गर्भ जाँच गराउँदा एक किलो नुन वितरण कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको यो कार्यक्रमको नतिजा उपलव्धिपूर्ण देखिएको हो ।

प्रत्येक पटकको गर्भ जाँचमा एक किलो आयोडिन नुन गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत प्रदान गर्न थालेपछि हिजोआज चारपटक गर्भ जाँच गर्ने महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको स्वास्थ्य शाखा लुहामले जनाएको छ । स्वास्थ्य शाखाका इन्चार्ज प्रभातकुमार श्रेष्ठले बढीमा ४३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा चारपटक जाँच गर्ने गरेकामा नुन वितरण गर्न थालेपछि यो दर बढेर ८२ प्रतिशत पुगेको बताए ।

‘गत आर्थिक वर्षमा २ सय २० जना महिलाले स्वास्थ्य संस्थामै आएर चार पटकसम्म गर्भ जाँच गराएका थिए । उनीहरुलाई त्रिवेणी गाउँपालिकाले १ हजार ४० किलो आयोडिन नुन वितरण गरेको छ,’ उनले भने । पहिलेका वर्षमा गर्भवती महिलाहरु स्वास्थ्य चौकीमा नआउने, आए पनि जानेबुझेका, केही शिक्षित परिवारमा महिलाहरु मात्र आउने गरेको श्रेष्ठको अनुभव छ ।

गर्भ जाँच गराउँदा एक किलो आयोडिन नुन निःशुल्क वितरण गर्ने कार्य निरन्तर अगाडि बढाइने जनाउँदै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले यो कार्यक्रम लागू भएपछि आफ्नो गाउँपालिकामा नवजात शिशु तथा मातृ मृत्युदर शून्यमा झरेको बताए । यसका लागि गाउँपालिकाले सुत्केरी प्रोत्साहन स्वरुप ५ सय र न्यानो झोला वितरण कार्य पनि गरिरहेको जनाए ।

पछिल्लो समय गाउँगाउँमा मानिसको चेतनास्तरमा क्रमिक बृद्धि हुँदै गएको र ढिका नुन प्रयोग गर्नेहरुले पनि आयोडिन नुन खानामा प्रयोग गर्न थालेको गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताइन् । उनले भनिन्, ‘‘हामीले गर्भवती महिलाको लागि ल्याएको कार्यक्रमले दिदीबहिनीहरु निकै खुशी हुनुहुन्छ । स्वास्थ्य संस्थामा गएर नियमित जाँच गराउने र प्रसूतिगृहमा नै गएर सुत्केरी हुनेको संख्या बढेको देख्दा हामी निकै खुशी भएका छौँ ।’’

गाउँपालिकाले कार्यक्रम शुरु गरेपछि अहिले आयोडिन नुनको महत्व बुझेको जनाउँदै त्रिवेणी गाउँपालिका वडा नम्बर ६ की गीता केसीले कुनै पनि महिलाको ज्यान जोखिममा नपरोस् भनेर गाउँपालिकाले एम्बुलेन्स सेवा पनि सञ्चालन गर्नुपर्ने बताइन् । यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले अबको एक महिनापछि एम्बुलेनस सेवा पनि शुरु हुने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार