सरकारी गाडी दुरुपयोग गर्दै वनभोजमा मोजमस्ती

  पहिलोपेज

 320 पटक हेरिएको

काठमाडौं, १६ मंसिर । भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको ठूलो भीडभाड थियो । नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो ।

त्यहाँ वनभोज खानेहरु धेरै भए तापनि कर्मचारी र अरुको वनभोजमा भने एउटा फरक ठ्याक्कै भेटिन्थ्यो । अरु वनभोज खानेहरु बस रिजर्भ गरेर त्यहाँ पुगेका थिए भने कर्मचारीहरु पहेँलो नम्बर प्लेटको गाडीमा ठाँटसँग पुगेका देखिन्थे । तिनले सरकारी गाडी दुरुपयोग गरेका थिए ।

सरकार गाडी दुरुपयोग पनि एक दुईवटा हैन । त्यहाँ करिब दुई दर्जन सरकारी गाडीहरु थिए । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर प्राधिकरणका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर वनभोज खान पुगेका थिए ।

वनभोजमा विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाअन्तर्गतका कर्मचारी सामेल थिए । वीरगञ्ज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरिया वितरण केन्द्रका कर्मचारी प्राधिकरणकै गाडीमा त्रिखण्डी पुगेका थिए । केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र वरिष्ठ उपाध्यक्ष शेखर बराकोटी पनि पहेँलो नम्बर प्लेटका गाडीमा पुगेका थिए ।

कर्मचारीको यस्तो पारालाई वनभोजमै आएका अन्य व्यक्तिले समेत मन पराएका थिएनन् । ‘‘यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु राम्रो होइन’’, त्रिखण्डीमै वनभोज खान आएका बारा रतनपुरका भीम तामाङले भने, ‘‘प्राधिकरणका दुई दर्जनभन्दा बढी गाडी लिएर रमाइलो गर्न आउनु मलाई राम्रो लागेन ।’’

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ क्षेत्रीय समिति हेटौंडाका अध्यक्ष प्रकाश बस्नेतले भने यसबाट ‘दुरुपयोग’ नभएको दाबी गरे । उनले वनभोज मात्र नभई भेला पनि आयोजना गरिएकाले प्राधिकरणको गाडी प्रयोग भएको तर्क गरे । उनले शुरुमा प्रायः गाडीको पास रहेको दाबी गरे । हेर्न खोज्दा एउटा पनि पास देखाउन सकेनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकले यो समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार