योजना छनौट गर्दा खानेपानी मन्त्री बिना मगरले देखाइन् यस्तो फरक शैली

  पहिलोपेज

 862 पटक हेरिएको

काठमाडौं, २ मंसिर । खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको ४ करोड रुपैयाँको योजना छनौटमा फरक शैली अपनाएकी छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका २ नगरपालिका र २ गाउँपालिकामा समानरुपमा प्रत्येक स्थानीय तहलाई १ करोड पर्ने गरी योजना छनौट गरेकी हुन् ।

मन्त्री मगरले सबै स्थानीय तहमा अन्य क्षेत्रमा भन्दा फरक शैली अपनाएर समान बजेट बिनियोजन गरी समानताको सन्देश दिएकी छन् । अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’मा ४ करोड रकम विनियोजन गरेको थियो ।

कञ्चनपुर– १ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीकी नेतृ मगरले ४ करोड रकमलाई सबै स्थानीय तहमा समान रकम विनियोजन गरेको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले बताए । प्रमुख तामाङले दिएको जानकारीअनुसार मन्त्री मगरले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकालाई १÷१ करोड बजेट विनियोजन गरेकी छन् ।

पुनर्वास नगरपालिका
मन्त्री मगरले पुनर्वास लामैया नाला पुल निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेकी छन् । पुनर्वासमै कभर्डहल निर्माणका लागि २० लाख रुपैयाँ, सहिद भवन निर्माणका लागि १० लाख रुपैयाँ, भ्यू टावर निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेकी छन् । त्यस्तै, उनले दिव्य भवन निर्माणका लागि १० लाख रुपैयाँ र गैसमति चर्च निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेकी छन् ।

बेलौरी नगरपालिका
त्यसैगरी मन्त्री मगरले बेलौरी रङ्गशाला निर्माणका लागि ५० लाख, पडाउ गाउँ कालोपत्रेका लागि १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माणका लागि १५ लाख विनियोजन गरेकी छन् । त्रिपुरा सुन्दरी मन्दिर निर्माणमा १० लाख र सुतियानालामा तटवन्ध गर्न १० लाख रुपैयाँ विनियोजन गरेकी छन् ।

लालझाडी गाउँपालिका
मन्त्री मगरले लालझाडीमा रानाथारु होमेष्टे र बाल उद्यान निर्माण गर्न ५० लाख, चाँदेवदेखि नन्दगाउँसम्म सडक स्तरोन्नति गर्न २५ लाख विनियोजन गरेकी छन् । त्यस्तै उनले नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन गरेकी छन् ।

बेलडाँडी गाउँपालिका
बेलडाँडी गाउँपालिकामा कालिकिच ताल पर्यटन प्रवद्र्धन गर्न ४० लाख, वडा नम्बर ३ मा सडक स्तरोन्नतीका लागि २० लाख विनियोजन गरेकी छन् । उनले सडक स्तरोन्नतीकै लागि १० लाख, सिमसार संरक्षणमा १० लाख र रामजानकी मन्दिर निर्माणका लागि १० लाख रुपैया विनियोजन गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार