मालिका : छोरीहरुका लागि रेखाले कोरेको रङ्गीन बाटो

  उदय जीएम

 2166 पटक हेरिएको

‘‘चलचित्र मालिका मैले किन हेरें ?’’
‘‘चलचित्र मालिका अरुलाई किन हेर भन्ने ?’’
‘‘मालिकामा के छ त्यस्तो नयाँ कुरा ?’’
‘‘मालिकाबाट के शिक्षा लिने ?’’
यस्तै यस्तै अनगिन्ती प्रश्नहरु ।

मालिका यतिबेला दर्शकहरुको माझमा छ र दर्शकहरुको अपार माया पाइरहेको छ । झण्डै आधा महिना पुग्नै थालेछ, मालिका हेरेको । राजधानीको सिभिल मलमा मालिका हेरेर बाहिरिँदै गर्दा मालिकाले बोकाएका अनगिन्ती प्रश्नहरुको अजङ्ग भारीले थलिएको थिएँ म, थिचिएको थिएँ म । त्यसपछि माथिका प्रश्नहरु अहिलेसम्मै लश्करै लागेर आइरहेका छन्, मथिङ्गलमा । बारम्बार लखेटिरहेका छन्, आफ्नै परछायाँले जस्तै । शायद, केही लेखिसकेपछि मात्रै त्यो अजङ्गको भारी बिसाएको अनुभूति हुनेछ ।

आफू चलचित्रको समीक्षक फिटिक्कै परिएन । चलचित्रले कति व्यापार गर्यो ? त्यो पनि मेरो सरोकारको विषय होइन । एउटा चलचित्रका रुपमा मालिका कति सफल भयो र कति असफल ? त्यसको परख गर्न पनि म फिटिक्कै जान्दैन । तैपनि एउटा साधारण खाले दर्शकको हैसियतले फिल्मबारे मेरा आफ्नै धारणा छन् । फिल्ममा तीनवटा कुरामध्ये एउटै कुरामात्र भएमा मेरा लागि त्यो फिल्म सफल । पहिलो, फिल्मले मलाई रुवाउन सकोस् । दोस्रो, फिल्मले मलाई बेस्सरी हँसाउन सकोस् । तेस्रो, फिल्म हेरेर निस्किँदा दिमागमा अनगिन्ती प्रश्नवाचक चिन्हरुको लामै लश्कर लागोस् । बस् यत्ति । यति भनिसकेपछि भन्नै परेन कि मालिका कुनमा पर्यो होला ? पक्कै पनि तेस्रो कोटीमा ।

अँ । म यतिबेला सिभिल मलमा छु, पर्दामा मालिका र मनमा छोरी आभा । साथमा छन्, धनराज वास्तविक, खेमराज ओली, विष्णु फडेरा लगायतका पत्रकार÷गैरपत्रकार, परिचित÷अपरिचित साथीहरुको १०÷१२ जनाको समूह ।

दाइजो प्रथाको कहरले मानवता नै लज्जित हुने हाम्रै तराईको सुन्दर पृष्ठभूमिमा जिद्धी, निडर, हक्की, साहसी र विद्रोही मालिका यादव अर्थात रेखा थापा । दाइजोसामु मालिकाका निरीह बाबु, मालिका यादव र सम्पूर्ण खण्डहर समाज । विद्रोह गरेर ढोकाबाहिर निस्किएकी मालिका र किंकर्तव्यविमूढ बनेको यादव परिवारको कहालीलाग्दो दृश्यले एउटा बाबुलाई सामाजिक विकृतिको कुरुप नमूना बनेको दाइजो प्रथाको विरुद्धमा उभिने उत्प्रेरणा जागृत हुन्छ ।

यता, बलात्कार र बालविवाहले आक्रान्त जाजरकोटको पृष्ठभूमिमा झुल्किएकी जया अर्थात कमला वलीको जग्गेबाटै विद्रोह । हरेक पाइलाहरुमा पुरुषहरुको कुदृष्टि, यौन दुव्र्यवहार, सहयोगको आवरणमा यौन कुण्ठाको पराकाष्ठा । आर्थिक स्वार्थका लागि मानवता बेच्ने दानवहरुबाट बच्दै पराई शहरमा तराईबाट निस्केकी उनै मालिका यादवसँग कमलाको जम्काभेट र छोरीका लागि स्वर्णिम नेपाल अभियानसँगको उनीहरुको सहयात्रा । छोरीका लागि स्वर्णिम अभियान नेपालको छत्रछायाँमा मालिका यादवबाट दीक्षित जया अर्थात कमला वलीको संघर्ष यात्रा । र, जयालाई न्याय । यत्ति नै हो मालिकाको मूलकथा ।

अलिकति रेखाको कुरा
यो समयकी सर्वाधिक शक्तिशाली नायिका हुन् रेखा थापा । उनैको ‘रेखा फिल्मस’ ब्यानरमा निर्मित मालिकाको निर्देशन पनि रेखाले नै गरेकी छन् । मालिकामा नायिका रेखा थापा र कमला ओलीको मुख्य, बेजोड र जीवन्त अभिनय रहेको छ । सबै उमेर समूहका आम दर्शक तथा हिमाल, पहाड र तराईका भूभागहरुमा उत्तिकै लोकप्रियता हासिल गरेकी नायिका रेखाको यही नै ठूलो शक्ति हो ।

नेपाली चलचित्र उद्योगमा रेखा आफै नायक हुन् । नायकसँग लठारिने र बटारिने भूमिकामा मात्र सीमित छन्, नेपाली नायिकाहरु । नेपाली नायिकाहरु एक्लै सिङ्गो चलचित्रको भारी बोकेर हिड्ने हिम्मत कसैले गर्नै सक्दैनन् र गरिहाले पनि त्यस्तो जोखिम उठाउने हिम्मत कसैको देखिँदैन । रेखा त्यस्तो नायिका हुन्, जसले सिङ्गो फिल्मको नायकत्व ग्रहण गर्न सक्षम छन् र एक्लै फिल्मको भार बहन गरेर मैदानमा खरो उत्रिएकी छन् । नेपाली चलचित्र उद्योगमा रेखाले कोरेको यो रङ्गीन बाटो हो र यो बाटो हिड्ने हिम्मत अहिलेसम्म नेपालका कुनै पनि नायिकाले गर्न सकेका छैनन् । मालिका पनि बिगतका चलचित्र जस्तै रेखाले नायकत्व ग्रहण गरेको चलचित्र हो ।

गहन र ओजिलो विषयवस्तु
कसरी दाम बटुल्न सकिन्छ ? नाफा कसरी थुपार्न सकिन्छ ? यसैलाई केन्द्रविन्दुमा राखेर चलचित्र निर्माण गर्ने प्रचलन छ । घिसेपिटेका विषयवस्तुमा ‘धनप्रसाद’ कमाउने उद्देश्यले ग्ल्यामरमात्र होइन उत्ताउलो र छाडापन पस्किनेहरुको कुनै कमी छैन यहाँ । नाफालाई केन्द्रमा राखेर निर्माण गरिने यस्ता चलचित्रहरुले सामाजिक मूल्य र मान्यताहरुलाई समेत भत्काउने र समाजलाई विकृतितिर उन्मुख गराउने खालका चलचित्रहरु पनि निर्माण भइरहेका छन् । यसले सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने आमसञ्चारमाध्यमको धर्मलाई पनि बिर्सिएको आभास हुन्छ । तर, रेखाले पछिल्लो चरणमा निर्माण गरेका काली, हिम्मतवाली, रुद्रप्रिया, रामप्यारीलगायतका सामाजिक विषयवस्तुमा चलचित्र निर्माण गर्दै आएकी छन् । त्यसैको श्रृङ्खलाका रुपमा जोडिएको छ, मालिका । बालविवाह, दाइजो प्रथा, सामाजिक न्याय, समानताका लागि आवाज मुखरित गर्दै मालिकाले छोरीहरुलाई छोरी होइन मानव बन्न सिकाउँछ र जीवनप्रति आशाको सञ्चार गराउँछ । पक्कै पनि यसले समग्र समाजलाई उज्यालोतिरको यात्राका लागि उत्प्रेरित गर्छ ।

दमदार र जीवनमुखी सम्वाद
चलचित्रको ज्यान हो, चलचित्रको सम्वाद । यसमा प्रयोग गरिएका जीवनमुखी र उत्प्रेरणा दिने खालका सम्वादहरु कण्ठस्थ पारेर राख्ने र पथविचलित, दिग्भ्रमित र निराश भएको समयमा पटकपटक सम्झनैपर्ने र मनन गर्नुपर्ने खालका छन् । यसमा प्रयुक्त सम्वादहरुले छोरीहरुमा मात्र होइन, आम मानवसमाजलाई नै उत्साहित र प्रेरित गर्दछन् । ‘असन्तुष्ट रहने ढाँचा र असफल हुने तालिमले भरिएको छ जिन्दगी । असली विद्रोह यही आफ्नो ढाँचासँग गर्नु छ’, ‘आफन्त ती होइनन् जो रोएका बेला आउँछन्, आफ्न्त ती हुन जो रुन दिँदैनन्’, ‘बारम्बार तिमीहरु छोरी मान्छे हौ भन्ने आभास दिलाउँछ यो समाज, पहिले मान्छे भएर देखाऊ, छोरी मान्छे त्यसपछि बन्ने हो’, ‘डरसँग यसरी आँखा जुधाएर हेर ताकि डर पनि तिमिसँग डराउन थालोस’, ‘अरुले बनाएका खेल र अरुले बनाएका नियम होइन, जया जिन्दगीलाई आफ्नो खेल बनाउन सिक’, ‘डर निर्धा र निर्धनको होइन, डर शिक्षित र सम्पन्नताको खोल ओढ्नेको छ’, जस्ता सम्वादहरुले मालिकालाई जीवन्त र प्रेरणादायी बनाएका छन् ।

‘जीवनमा सधैं हामीलाई डोराउने मान्छे भेटिँदैनन् जया । तिम्रा अगाडि दुइटा बाटो छन– एउटा, जता भीड जान्छ त्यता अनि अर्को तिमी जता जान चाहन्छ्यौ त्यता जाने बाटो ।’ यस्ता सम्वादहरुको माध्यमबाट नेपाली फिल्ममा कुनै छोरीलाई अर्की छोरीले शायद यस्तो सिकाएका होलान् । यसमा प्रयोग भएका सम्वादहरुलाई मनैदेखि अनुभूत गर्न एकपटक मालिका आफै हेर्नुपर्छ । मालिकाका कार्यकारी निर्माता एवं जीवन प्रशिक्षक नरबहादुर कार्कीको जीवनदर्शन मालिकामा बेसैगरी प्रतिबिम्बित भएको छ र यसले फिल्ममा प्राण भरेको छ ।

छोरीहरुको पक्षमा
हरेक बाबु चाहन्छ, आफ्नी छोरी सबैतिरबाट सुरक्षित बनोस् । विडम्बना, हाम्रो समाजमा महिला हिंसा, बलात्कार, हत्याका श्रृंखला लम्बिदै गएको देखिन्छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र त्यसले १ सय दिन नाघिसक्दासमेत दोषी पत्ता नलागेको र श्रृङ्खलावद्ध बलात्कार र हत्याका घटनाहरुको परिवेशमा प्रदर्शनमा आएको मालिकाको महत्व अझै चुलिएको छ । सारांशमा भन्नुपर्दा समाजमा व्याप्त दाइजो प्रथा, छोरीमाथि गरिने विभेदपूर्ण व्यवहार, सामाजिक कुसँस्कार, बालविवाह, सामाजिक असुरक्षाको विरुद्धमा हस्तक्षेपकारी र सशक्त प्रस्तुति हो, मालिका । गहन विषयवस्तुको प्रभावकारी र सरल प्रस्तुतिले मालिकालाई सुनमा सुगन्ध थप्ने काम गरेको छ ।

छोरीलाई हेर्ने दृष्टिकोण र हेप्ने समाजको विकृतिप्रति सशक्त प्रहार गरेको छ मालिकाले । जिन्दगीमा आइपर्ने तमाम समस्याहरुसँग सामना गर्न र छोरीहरुलाई सपना देख्न सिकाउने, साहस र उत्प्रेरणा भर्ने तथा विद्रोह र संघर्ष मालिकाको सशक्त सन्देशका रुपमा स्थापित भएका छन् ।

कर्णालीकी छोरी कमला
मालिकाको अर्को पाटो हुन्, कर्णालीकी छोरी कमला ओली । यसै त दुर्गम जिल्ला जाजरकोट, त्यैमाथि निकै विकट ठाउँकी कमला ओलीले पहिलोपटक टेलिभिजन देखिन्, गाडी चढिन्, फिल्म हेरिन् र अभिनय पनि गरिन् । मालिकाकी मुख्य भूमिकामै छाएकी कमलाको पहिलो अभिनय नै अत्यन्त प्रशंसनीय छ । कथाले मागेअनुसार अभिनयमार्फत त्यसलाई जीवन्तता प्रदान गरेकी छन् कमलाले । नायिका रेखा थापाले आफ्ना प्रत्येक चलचित्रहरुमा नयाँ कलाकारहरुलाई अवसर दिने क्रममा यसपालि उनले ग्रामीण भेगबाट टिपेकी कलाकार कमलाले आफ्नो अभिनयमार्फत मालिकाको ‘प्रत्येक व्यक्ति हिरो हो’ भन्ने मूलमन्त्रलाई सार्थक बनाएकी छन् । उनको सशक्त र जीवन्त अभिनय हेर्नलायक छ ।

सपना देखाउन सिकाउने मालिका
समाजमा चलिआएको मान्यताबिरुद्ध उभिनु त्यति सजिलो छैन । पूर्ण मान्छेको रुपमा बाँच्ने हो भने, उन्मुक्तिको श्वास फेर्ने हो भने, जीवनको सार्थकतालाई अनुभूत गर्ने हो भने छोरीलाई पूर्ण मान्छे हुन नदिने सामाजिक मूल्यमान्यताहरुलाई नभत्काएर सुखै छैन । यही कुरालाई मालिकाले आफ्नो मुख्य विषयवस्तुको रुपमा उठाएर अत्यन्तै सराहनीय काम गरेको छ । त्यसैले त एकपटक सबैले हेर्नैपर्ने चलचित्र भएको छ, मालिका ! यही नै हो मालिका : छोरीहरुका लागि रेखाले कोरेको रङ्गीन बाटो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार