तुलसीपुर उपमहानगरले लगायो भैलोमा जथाभावी गर्न रोक

  पहिलोपेज

 386 पटक हेरिएको

काठमाडौ, १९ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाले देउसी भैलोका नाममा जथाभावी गर्न रोक लगाएको छ । उपमहानगरको ४६ औं बैठकले त्यस्तो रोक लगाएको हो ।

देउसी र भैलोको नाममा हुने गरेका विभिन्न अनियमितता र विकृतिहरुलाई नियमन गर्ने निर्णय पनि उपमहानगरपालिकाले गरेको छ । बैठकले ठूलो आवाजमा गीत बजाउन, घरधनीसँग बलजफ्ती पैसा माग्न, बाटो पूरै कब्जा गर्न र साँस्कृतिक पक्षको अवमूल्यन हुने खालका नृत्य र गीत प्रस्तुत गर्न नपाइने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।

उक्त निर्णय कार्यान्वयनका लागि हरेक वडा कार्यालयले समन्वय गर्नेे जानकारी उनले दिए । “जथाभावी भैलो खेल्दा पर्वमाथि नै प्रश्न उठाउनुपर्ने अवस्था आएपछि हामीले यस्तो गरेका हौ” प्रवक्ता डाँगीले भने । उनले साँस्कृतिक मूल्य र मान्यताअनुसार भैलो खेल्नेहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने समेत बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले राप्ती राजमार्गको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको छ । यसैगरी बैठकले तुलसीपुर उपमहानगरपालिकाको पहलमा सञ्चालनमा आएको तुलसीपुर एयरपोर्टमा नियमित विमान सञ्चालनका लागि नेपाल वायुसेवा निगमसँग सम्झौता गर्ने समेत निर्णय गरेको प्रवक्ता डाँगीले जानकारी दिए । उनले कार्यपालिकाको बैठकले नक्सापास निर्देशिका समेत पास गरेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार