कसरी पुगे ६४ देशको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुरका ३ बालिकाहरु ?

  पहिलोपेज

 667 पटक हेरिएको

काठमाडौं, १० कार्तिक । काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाका बालिकाहरुले पनि सहभागिता जनाएका छन् । टिच फर नेपालको आयोजनामा ६४ देशका ५ सय शैक्षिक व्यक्तिहरुले सहभागिता जनाएको सम्मेलनमा पशुपति मावि कक्षा ८ मा अध्ययनरत निमा चौधरी, कालाखोला मावि कक्षा ७ मा अध्ययनरत पूजा थापा र कक्षा ६ मा अध्ययनरत अनिशा बस्नेतले सहभागिता जनाएका हुन् ।

उनीहरुले विद्यालयमा सिकेका विभिन्न कलात्मक कुराहरुको प्रदर्शन गर्नुका साथै अन्तक्र्रिया कार्यक्रममा सहभागिता जनाएर दाङको कला र सँस्कृतिको प्रवद्र्धन गरेको टिच फर नेपालका नेतृत्व विकास व्यवस्थापक माधवप्रसाद देवकोटाले जानकारी दिए । उनले समुदायमा आधारित विभिन्न कुराहरुको निर्माण गरेर बालिकाहरुले स्थानीय कलाकौशलको प्रदर्शन गरेको पनि जानकारी गराए ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले अवसर पाए सिर्जनशील काम गर्न सक्छन् भन्ने उदाहरण उनीहरुले प्रस्तुत गरेका थिए । नेपालभरबाट १० जना विद्यार्थीहरुको सहभागिता रहेकोमा तुलसीपुर उपमहानगरपालिकाबाट मात्रै ३ जना बालबालिकाले सहभागिता जनाएका थिए । उनीहरुले माटोका विभिन्न कलात्मक भाँडाका साथै बाँसको क्यान्डल समेत प्रदर्शनीमा राखेका थिए ।

माध्यमिक तहमा शून्य दरवन्दी रहेका तुलसीपुरका ८ सामुदायिक विद्यालयहरुमा टिच फर नेपालमा १९ शिक्षकहरुले अंग्रेजी, गणित र विज्ञान अध्यापन गराइरहेका छन् । विश्वभरका टिच फर नेपालसँग सम्वद्ध व्यक्तिहरुको सहभागिता रहेको सम्मेलनमा स्थानीय तहको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सहभागिता जनाएका थिए । सामुदायिक विद्यालयलाई सुधार्ने प्रशस्त आधार रहेको भन्दै पाण्डेले टिच फर नेपालले सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि गरेको कामको प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार