पैसा निकाल्ने एटिएम होइन, नेपालमै पहिलोपटक आयो– खानेपानीको यस्तो एटिएम

  पहिलोपेज

 1223 पटक हेरिएको

खानेपानी मन्त्री मगरद्वारा २ रुपैंयामा पानी पिउन पाइने वाटर एटीएमको निरीक्षण

काठमाडौं, २५ असोज । एटिएम भनेपछि सबैले बैंकबाट पैसा निकाल्ने एटिएम सम्झने त भइहाल्यो । अब भने पैसा निकाल्ने एटिएम होइन नेपालमै पहिलोपटक खानेपानीको एटिएम पनि शुरु भएको छ, वाटर एटिएम ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलोपटक वाटर एटीएमको नमूना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमूना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गरेकी थिइन् । एटीएमबाट पानी झारेर मन्त्री मगरले पानी पिएकी थिइन् ।

यस्तो प्रविधि नेपालमै पहिलोपटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले जानकारी दिए । ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमूना प्रदर्शन गरिएको थियो । वाटर एटीएमलाई नेपालीमा “पँधेरो” नामकरण गरिएको छ । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाइने अवधारणाअनुरुप वाटर एटीएमको सुरुवात गरिएको हो ।

उक्त एटिएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंयाँ र १ लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । उक्त एटिएममा दुई रुपैंयाको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।

यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यकाभित्र बिस्तार गर्दै लगिने बोर्डका कार्यकारी निर्देशक राणाले बताए । राणाका अनुसार काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएको ठाउँहरुमा पहिलो चरणमा वाटर एटिएम राख्दै लगिने छ । यो वर्षभित्र २० वटा वाटर एटिएम राखिने बोर्डको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार