५ अर्ब लगानीमा पोखरामा सुरु हुँदैछ पानी शुद्धीकरण आयोजना

  पहिलोपेज

 470 पटक हेरिएको

काठमाडौं, २३ असोज । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाइकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आव्हान गर्दैछ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाईकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको छ । जाईकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो ।

मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरेको हो । यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

त्यसैगरी बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलोपटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी गराइयो । आउँदो बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिए ।

निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाइने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो । यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यकाभित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए ।

त्यस्तै बोर्डबाट गठन भएको टास्कफोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ ।

त्यस्तै बैठकमा मन्त्रालयले दुई साताअघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरि ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गरायो ।

बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताइन् । देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिइन् । मन्त्री मगरले देशैभरि रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत पूर्ण सरसफाईको अभियानलाई अघि बढाउँदै लैजाने बताइन् । पूर्ण सरसफाईसँगै ढलको व्यवस्थापनलाई समेत अगाडि बढाउने मन्त्री मगरको उद्घोष रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार