अरिङ्गालै बनेर खनिइन् संसदमा नेकपाकी सचेतक शान्ता चौधरी

  पहिलोपेज

 3069 पटक हेरिएको

काठमाडौ, २ असोज । जताततै अरिङ्गालको चर्चा चलिरहेको बेला नेकपाकी सचेतक शान्ता चौधरी प्रतिपक्षीका लागि अरिङ्गालै बनेर खनिएकी छन् । संसदमा सम्बोधन गर्दै सचेतक चौधरीले विभिन्न बहानामा अहिले सरकारमाथि चौतर्फी र सुनियोजित आक्रमण भइरहेको बताइन् ।

मंगलबार संसदमा सम्बोधन गर्दै सचेतक चौधरीले तिललाई पहाड बनाएर आक्रमण भइरहेको आरोप लगाइन् । “जस्तो कि प्रधानमन्त्री केपी ओलीले प्रतिकात्मक भाषामा अरिङ्गाल भन्नुभयो । त्यसैलाई पहाड बनाइएको छ । ठेट नेपाली उदाहरण र उपमा दिनु, भाषामा मिठास ल्याउनु नराम्रो हो र ?” सचेतक चौधरीले प्रश्न गरिन् । “केपी ओली आकर्षक भाषण गर्नुहुन्छ । के आकर्षक र मीठो भाषण गर्नु नराम्रो हो र ?” यस्तो प्रश्न गर्दै चौधरीले भनिन्, “ग्रामीण जनजीवनको शब्द र उदाहरणहरु ओलीले प्रयोग गर्नुहुन्छ, के यो नराम्रो हो र ?”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक चौधरीले भनिन्, “अहिले सरकारको आलोचना गर्ने समय होइन । हुन त लोकतन्त्रमा सरकारको आलोचना स्वागतयोग्य छ । तर, यहाँ आलोचनाको नाममा सरकारलाई अचानो बनाउने प्रयास भइरहेको छ । उनको थप भनाइ थियो, “लोकतन्त्रमा जे पायो त्यही बोल्न मिल्दैन ।”

प्रतिपक्षलाई सचेत गराउदै चौधरीले भनिन्, “यो सरकार नेकपाको मात्र होइन । प्रतिपक्षी लगायत सारा देशवासीको हो । जननिर्वाचित सरकारलाई असफल र बदनाम बनाउँदा न कसैको हित हुन्छ न त देशको हित । त्यसैले यो देशको समृद्धिको लागि सबैले मिलेर काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार