छयालीस सालपछि नेपाली गीतसङ्गीतको अवस्था र बेलायतका नेपाली भाषी गीतिस्रष्टा

  भावेश भुमरी

 1234 पटक हेरिएको

कार्यपत्रको दायरा

मेरो कार्यपत्र मूलत नेपाली गीतसङ्गीतको समसामयिक अवस्थामा केन्द्रित हुने छ । यसलाई आयोजकले कार्यपत्र भने तापनि कार्यक्रम र मेरै समयाभावका कारण म पूर्ण कार्यपत्र भन्ने पक्षमा छैन । कार्यपत्रका आफ्नै सीमा, रूप र रङ हुन्छन् । यसमा म केही मात्रामा सीमाभन्दा बाहिर गएको छु भने कहीँ सीमा भेट्न चाहेको छैनँ । कार्यपत्रलाई तथ्यगत अध्ययनको निचोड भन्ने गरिन्छ तर मेरो यो निचोड होइन सुरुवात हो । यसमा मैले वि. सं. २०४६ सालपछिको नेपाली गीत सङ्गीतको अवस्था र परिवर्तित धारलाई केलाउने प्रयास गरेको छु भने समय र स्थानाभावका कारण नेपाली स्रष्टाहरूको नाम र कृति कहीँकतै उल्लेख गरेको छैनँ । बेलायतका स्रष्टा र कृतिहरूको नाम भने उल्लेख गर्ने प्रयास गरेको छु तर यो अन्तिम होइन, सुरुवात हो । मैले यस्तो किन भनेको छु भने यहाँ धेरै सर्जकहरूको नाम र कृति छुट्न गएका छन् । यस्तो हुनुको कारण म आफू बेलायतमा बसोवास गर्ने व्यक्ति होइन, मेरो बेलायत भ्रमणका क्रममा मैले देखेका, भेटेका र बुझेका कुरालाई समावेश गर्ने प्रयास गरेको छु । यसमा म क्षमित छु र आउँदा दिनमा ती सबैबारे अध्ययन भई दस्तावेजमा समेटिनुपर्छ ।

 

विषय प्रवेश

नेपाली गीत लेखन, रेकर्ड, सङ्गीत र गायनलाई पहिलो चरण (प्रारम्भदेखि वि. सं. १९४०), दोस्रो चरण (वि. सं. १९४१– २००७) र तेस्रो चरण (वि. सं. २००८ देखि हालसम्म) गरी तीन भागमा विभाजन गरिएको छ । वास्तवमा नेपाली गीतसङ्गीतको विकास रेडियो नेपालको स्थापना अर्थात् प्रजातन्त्रको आगमन र विस्तारको समयदेखि भएको हो भन्न सकिन्छ । यसैले पनि २००८ साललाई तेस्रो चरण मानी यो कालखण्डलाई पनि पहिलो घुम्ती (वि. सं. २००८– २०१६), दोस्रो घुम्ती (वि. सं. २०१७– २०४५) र तेस्रो घुम्ती (वि. सं. २०४६– हालसम्म) गरी तीन चरणमै बाँडिएको छ । यसबाट के कुरा बुझ्न सकिन्छ भने नेपाली गीतसङ्गीतका चरणहरूलाई मुख्य त राजनीतिक परिवर्तन र तिनले पारेका प्रभावका आधारमा हेर्ने गरिएको छ । विशेषतः विषय २०४६ सालदेखि हालसम्मको नेपाली गीतसङ्गीतको अवस्थामा केही बढी केन्द्रित हुने छ ।

 

विषयको विवेचना

वि. सं. २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको आगमन, २०१७ सालमा प्रजातन्त्रको अन्त्य र पञ्चायती शासन सुरु अनि २०४६ सालमा पञ्चायती शासन अन्त्य र प्रजातन्त्रको वहालीलाई आधार बनाएर नेपाली गीतसङ्गीतको तेस्रो चरणका घुम्तीहरू निर्धारण गरिएको छ । नेपाली आधुनिक गीतसङ्गीतको स्वर्णयुग मानिएको २०१७ सालदेखि २०४५ बीचमा नेपाली गीत रचना, सङ्गीत र गायनमा धेरै स्रष्टाहरूको उदय भएको छ र हालसम्म पनि ती स्रष्टाहरूकै अत्यधिक प्रभाव रहेको छ ।

वि. सं. २०४६ सालको पेरिफेरीसम्म आफ्नो पहिचान बनाइसकेका गीतकार, सङ्गीतकार र गायकगायिकाले जुन प्रकारले आफ्नो नामलाई अत्यन्त उच्च र दीर्घकालीन बनाउन सके त्यसपछि आएका स्रष्टाहरूले बनाउन सकेका छैनन् यद्यपि नेपाली गीतसङ्गीतले थुप्रै खुड्किला पार गरिसकेको छ र केही स्रष्टाहरूलाई स्थापित पनि बनाएको छ ।

रेडियो नेपालले लामो समयसम्म नेपालमा गीतसङ्गीत रेकर्ड र प्रसारमा एकाधिकार जमायो । त्यस एकाधिकारलाई तोड्ने काम २०४६ सालको आन्दोलनले ल्याएको वाक स्वतन्त्रतासँगै खुल्न थालेका विभिन्न एफएमहरूले गर्न थाले । प्रसारण स्वतन्त्रतासँगै नेपाल टेलिभिजनको एकाधिकार पनि तोडियो । २०५० सालपछि खुल्दै गरेका विभिन्नि एफएम रेडियो र क्यासेट कम्पनीहरूले गीतसङ्गीतलाई स्रोताहरूको स्वेच्छिक बनाउन थाले ।

२०४६ सालपछि नेपाली आधुनिक गीतसङ्गीतको मूलधार टिकिरहन सकेन, त्यहाँ पप गीतले आफ्नो उपस्थितिलाई बलियो बनाउन थाल्यो । २०५० सालतिर पप गीतले धेरै स्रोताको मन जितेको थियो । यसले आफ्नो स्तर मापन नगरेकै कारण गीतसङ्गीतका पारखीहरूसामु लामो समय रहन सकेन । त्यतिबेला देश द्वन्द्वतिर धकेलियो । निजी कम्पनीका क्यासेटहरूमा सरकार र द्वन्द्वपक्ष दुवैले निगरानी राख्न थाले । त्यतिबेलै डिजिटल प्रविधिको विकास पनि द्रुत गतिमा भइरहेको थियो र नेपाली गीतसङ्गीतले अत्यन्त सङ्क्रमण अवस्थालाई आत्मसाथ गर्नुप¥यो ।

द्वन्द्वमा जकडिएका जनताहरू लोकशैलीका कोठे दोहोरीतिर मोडिए । गाउँघरमा लोकगीत सङ्कलन गर्न जाने अवस्था पटक्कै थिएन । शहरका विभिन्न दोहोरी साँझमा लोकशैलीकै कोठे दोहोरीे गीत गाइए । यस्ता गीतले भाका, शब्द अनि अर्थको मापन गर्न सकेनन् । एउटै लाग्ने भाका, शब्द र गायनकै कारण यसले पनि यात्रा लम्ब्याउन सकेन अर्थात् यो २०६२/६३ को आन्दोलनपछि आफ्नो उचाइमा रहन सकेन । त्यसपछि लोकशैलीकै गीत आए सुगम सङ्गीतको नाममा । सुगमको अर्थ सजिलो हो अर्थात् लोकगीतका भाकालाई कहीँ कतै तोडमोड गरी सङ्गीत संयोजन, बाजा र गायनमा लोकगीतभन्दा एक खुड्किला माथिको बनाउनु हो भन्ने आशय बुझिन्छ । यसले पनि आफ्नो उचाइ बचाइराख्न सकेन । २०७१ सालपछि गीतसङ्गीत आधुनिकतिर मोडिन पुग्यो । यस समयका गीतहरू सङ्गीत संयोजन, बाजा र गायनमा पहिलेकाभन्दा छुट्टै भए भने वेसुरा स्वरलाई अटोट्युन गरी सुर लगाउने चलन आयो ।

यहाँनेर के कुरा महत्वपूर्ण छ भने तेस्रो घुम्ती अर्थात् २०४७ सालदेखि हालसम्मको गीतसङ्गीतको अवस्थालाई अध्ययन गर्दा यसलाई पनि चार खुड्किलामा बाँड्नुपर्छ– २०४७ सालदेखि २०५३ सम्म पप, २०५४ देखि २०६२ सम्म कोठे दोहोरी, २०६३ देखि २०७० सम्म लोकसुगम र २०७१ देखि ट्युन आधुनिक ।

माथिका यी खुड्किलाका आधारमा भन्न सकिन्छ, २०४७ सालपछिको नेपाली गीतसङ्गीत पनि राजनीतिक परिवर्तनकै पेरिफेरीमा परिवर्तन भएको हो । तेस्रो घुम्तीको पहिलो खुड्किला भनेको प्रजान्त्रपछिको उन्मुक्ति र नयाँ पुस्ताको स्वतन्त्र साङ्गीतिक यात्रा हो । त्यसपछि देशले भोग्दै गरेको द्वन्द्वले नेपालीहरूमा छुट्टै वाध्यता थपिदियो र गीतसङ्गीत कोठे दोहोरीतिर मोडियो । शहरबाट गाउँँ जान नसक्नु अनि गाउँबाट शहर पस्न पनि नसक्नुका कारण कोठे दोहोरी बने । २०६२ सालको जनआन्दोलन र गणतन्त्रको आगमनले तिनै कोठे दोहोरीभन्दा एक खुड्किलामाथि मानिने लोकसङ्गीतकै सुगम गीत आए । जसमा गीतहरूले केन्द्रीयताबाट सङ्घीयताका लय र स्वरहरूको प्रतिनिधित्व पनि गरे । संविधान लागू र त्यस सेरोफेरोको समयदेखि नेपाली गीतसङ्गीतको स्तरमा अलि सङ्लोपन देखिन थालेको हो ।

यी राजनीतिक परिवर्तनसँगै फेरिँदै आएका खुड्किलाहरूमा गीतहरूको आयु पनि छोटा भए । गीत सङ्गीत गर्ने सङ्गीतकार र गाउने गायकगायिकाहरू पनि लामो समय टिक्न सकेनन् । यस्तो हुनुको मूल कारण एकातिर अर्थगत विषयवस्तुका हिसाबले गीतहरूको दायरा फराकिलो नहुनु अर्कोतिर सङ्गीत र स्वरले स्रोताहरूको मन जितिरहन नसक्नु नै हुन् ।

 

नेपाली गीतसङ्गीतको बजार

नेपाली गीतसङ्गीतको स्वर्ण काल भनेर २०४७ साल अगाडिको समयलाई भनिए तापनि राम्रो व्यापार भने त्यसपछिको समयमा भएको हो । विभिन्न स्टुडियो र अडियो म्युजिक कम्पनीहरू खुल्दै आएपछि व्यापार पनि बढेको देखिन्छ, जुन अडियो क्यासेट बिक्रीको समय थियो । त्यतिबेला गाउँगाउँसम्म अडियो क्यासेटहरू पुग्थे र बिक्री हुन्थे । लगभग २०५३ सालसम्म क्यासेट निकाल्ने कलाकारहरू घाटा गएको भन्ने कमै सुनिन्थ्यो । त्यतिबेला गायक, सङ्गीतकार या सङ्कलकहरूले नै लगानी गर्थे । देशमा द्वन्द्व बढ्दै गर्दा यसको बजार खस्किन थाल्यो । त्यतिबेलै डिजिटल प्रविधिको विकास पनि द्रुत गतिमा हुँदै थियो । सीडी प्लेयर, मोबाइल, मेमोरी, पेनड्राइभ आदिको विकाससँगै गीतको विक्री ओरालो लाग्न थाल्यो र गायकगायिका या सङ्गीतकारहरूले लगानी गर्नबाट टाढिन थाले । त्यतिबेलासम्म सङ्गीतकार र गायकगायिकाहरूलाई राम्रै पारिश्रमिक दिने चलन पनि आइसकेको थियो ।

नेपालमा सीआरबीटी र पीआरबीटीको झिनो आशाभन्दा साठीको दशकदेखि कतै केही बिक्री नहुने अवस्थामा आएको नेपाली गीतसङ्गीत सत्तरी सालसम्ममा आउँदा विदेशमा पनि सीडी बिक्री हुन छाडे । एकातिर गीतसङ्गीत पहुँच र पैसावालले बनाउँछन् भन्न थालियो भने अर्कोतिर सुन्ने, सुनाउने, देखाउने र अरूबाट आफ्नो वेमूल्य प्रसंशा बटुल्ने कार्यले गीतहरू मूल्यहीन बन्न थाले । यस कार्यलाई डिजिटल प्रविधि र पायरेसीले भरपुर साथ दिए । यिनै कारण नै मन परेको गीत विनापैसामै मागेर सुन्ने चलन बढ्दै आयो । यस्ता कार्यलाई सिर्जनासँग सम्बन्धित व्यक्तिहरूले नै मलजल गरे । यस्तो गर्नुको कारण गायकगायिका र सङ्गीतकारहरूलाई जसरी पनि चल्नु थियो र अरू काम हात पार्नु थियो, अहिले झन् छ ।

 

गीतसङ्गीतमा गीतकारको लगानी

२०५३ देखि २०६२ सालसम्म द्वन्द्व र वेरोजगारीका कारण धेरै नेपाली श्रम गर्न विभिन्न देशमा जाने क्रम ह्वात्तै बढ्यो । यता बेलायत सरकारले गोरखा सेनाहरूलाई आफ्नै देशमा बस्ने अधिकार दियोे । नेपालबाट धेरै गोरखाहरू बेलायत भित्रे । चाहे बेलायत भित्रेका गोरखाहरू होऊन् चाहे रोजगारीका लागि विदेश पसेका, सबैको अनुभूति लगभग एउटै थियो, विदेसिनुपर्दाका पीडा, देश समाजप्रतिको माया अनि संस्कृतिप्रतिको मोह । यिनै विषयलाई आफ्ना रचनामा समेटेर गीत लेख्न थाले । विदेश पसेपछि घरपरिवार अनि आफ्ना इष्टमित्रहरूलाई सम्पर्क गर्नका लागि भनेर प्रयोग गर्न थालेको सामाजिक सञ्जाल सिर्जना प्रस्तुत गर्ने एउटा सजिलो माध्यम बन्न थाल्यो । यस्तो सूचना प्रविधि र सामाजिक सञ्जालले कलाकारसम्म पुग्न सहज बनाइदिएपछि विदेशमा कार्यरत गीतकारका गीतहरू रेकर्ड हुन थाले । गीतकारले लगानी गर्ने र एल्बम बनाउने चलन झन्झन् बढ्न थाल्यो । आफ्नो सामाजिक परिचयका लागि विदेशी भूमिमा कार्यरत विभिन्न व्यक्ति, लाहुरे, नेपाली राजनीतिक व्यक्ति, उद्योगी, कर्मचारी, व्यापारी सबै सबैमा गीत लेख्ने, सङ्गीत भर्ने र रेकर्ड गर्ने होडबाजी चल्न थाल्यो । यो यति व्यापक भयो कि यसले एउटा फेशनकै रूप लिएर अगाडि बढ्यो ।

 

गायकगायिकामा मात्र सिमित आम्दानी

एकातिर गीतसङ्गीतको व्यापार घटेर निकै तल झर्न थाल्यो अर्कोतिर गीतकारहरूले यस क्षेत्रमा लगानी गर्दा गायकगायिका, सङ्गीतकार, सङ्गीत संयोजक, वाद्यवादक धेरैको कमाइ गर्ने सजिलो पेशा बन्यो । कतिले त विदेशमा भन्दा राम्रो कमाइ गरे । देशका विभिन्न ठाउँ र विदेशमा समेत गायकगायिका या प्रस्तोताहरूको कन्सर्ट गर्ने क्रम ह्वात्तै बढ्यो । कैयौँ गायकगायिकाले अर्काकै लगानी या गीतका ट्र्याक बोकेर गीत गाई आफ्नो आर्थिक स्तर उकासे । यस बीचमा विशेषतः पारिश्रमिक लिने र विदेशमा गीत गाउन जाने कलाकारहरूको आर्थिक उन्नति निकै माथि पुग्यो भने लगानीकर्ता अर्थात् गीतकारहरू चुलुम्मै भए । स्पष्ट भन्दा एउटा सीडी बिक्री हुँदैन, एक दुईवटा अपवादबाहेक अहिले गीत रेकर्डमा लगानी गर्नु भनेको पूरै घाटाको जोखिम मोल्नु हो । लगानी गर्नेले आर्थिक आशा नराखी यो क्षेत्रलाई दिएँ भनेर चित्त बुझाउने अवस्था छ । यसैले प्राय अहिले यो क्षेत्रमा एकपटक लगानी गरेका गीतकारले पुनः लगानी गरेको कमै मात्रामा देखिन्छ । सम्बन्धित राम्रा गायकगायिका र सङ्गीतकारहरूले अर्काको लगानीमा निर्भर रहनुपरेको छ । सङ्गीतकार र गायकगायिकाहरूको क्षमताअनुसार राम्रा गीत बन्न नसक्नुको कारण मूल कारण यही हो ।

 

प्रतिभाशाली स्रष्टाहरू पलायन

गीतसङ्गीत साधनाबाट आउँछ भन्ने कुरा भुलेर राम्राभन्दा पनि दौडिने र आधुनिक सञ्जाललाई प्रयोग गर्नेहरूका गीतहरू अगाडि आउन थालेपछि राम्रा कलाकार र गीतकारहरू पछाडि पर्न थाले । यही कारण नेपाली गीतसङ्गीतको स्तर खस्किने क्रम जारी रह्यो । यसलाई न सरकारी स्तरबाट निगरानी र मापन गर्ने काम भयो न त सम्बन्धित कलाकारहरूले नै चासो देखाए । यही कमजोरीका कारण नेपाली गीतसङ्गीत युटुबमा राखेर आफैँ विज्ञापन गर्नुपर्ने, कसैलाई एल्बम दिएर निशुल्क सुन्न लगाउने या हेर्न लगाउने भासमा छ । युटुबमा पनि लाखौँ भिओर बढाएर आफ्नो गीत चलेको नाटक गर्नका लागि उल्टै कम्पनीहरूलाई पैसा तिर्नुपर्ने विडम्बना थपिएको छ । यस्ता क्रियाकलापले नेपाली सङ्गीतको स्तरमा समेत प्रश्न उठेको छ ।

नेपाली भाषी बेलायती गीतिस्रष्टा

लाहुरे समुदायमा नेपाली गीतसङ्गीतलाई खोज्दा धेरै लामो इतिहास भेटिन्छ । इतिहासका ती कति कुरा दस्तावेजका रूपमा आएका छन् भने कति आएका छैनन् । यहाँ मैले विषयलाई सिमित गर्न खोजेको २०४६ सालपछिको बेलायती भूमिका नेपाली भाषी गीतसङ्गीतका सर्जक नै हुन् । बेलायती लाहुरेहरूले आफ्नो कर्मभूमिमा धेरै गीत नेपालीमा गुनगुनाए, नेपाली नै गुनगुनाए । कतिले गीत रेकर्ड पनि गरे । ती कतिपय गीत दुर्लभ भइसकेका छन् । यसो भन्नुको कारण लाहुरेका कैयौँ गीत रेडियो नेपालमा रेकर्ड भए अनि कहिलेकाहीँ बजे र कार्टेजबाटै हराए ।

असीको दशकमा नोर्देन तेन्जिङ भुटियाजस्ता बेलायती लाहुरेले पप शैलीका गीतहरू गाएर आफ्नो छुट्टै पहिचान बनाए । भुटियाले हिमालयन्स व्यान्ड खोले र आफ्नै स्वरमा ‘मुसुमुसु हाँसिदिऊ न लै लै’, र ‘फर्की हेरेँ मेरो जीवन’जस्ता गीत पस्के अनि यी गीतहरू निक्कै लोकप्रिय भए । त्यही दशकको हाराहारीमा देव गुरुङ, जीवन गुरुङ आदि लाहुरे कलाकारहरूले लोक शैलीका गीतहरू गाएर आफूलाई स्थापित गराउने प्रयास गरे । त्यतिबेला उनीहरूको ‘निष्ठुरी भन्छौ किन’जस्ता गीतले स्रोताहरूको मन जितेको देखिन्छ भने बीएफबीएस रेडियोले लाहुरे गायकहरूका सिर्जनाहरूलाई राम्रो स्थान दिएर स्रोताहरूसामु पु¥याएको देखिन्छ । नब्बेको दशकमा बेलायती लाहुरेहरूबाट नेपाली गीतसङ्गीतमा धन गुरुङ, गणेश पुन, सुवोध लिम्बू अािद देखा परे । उनीहरूले फुटकर गीत मात्र गाएनन्, बीएफबीएस रेडियोमा गीतहरू गाएर स्रोताहरूलाई मात्र तानेनन्, डिजिटल प्रविधिलाई प्रयोग गरेर सीडीएल्बमहरू बजारमा ल्याउने कार्य पनि गरे । सन् २००१ मा डिजिटल प्रविधिको प्रयोग गरेर सीडीएल्बम बजारमा ल्याउने गायक गणेश पुन हुन् भने उनको एल्बमको नाम ‘परिचय’ हो । त्यही एल्बममा समेटिएको ‘नौ डाँडापारि’ बोलको गीत बीएफबीएस रेडियोले धेरै बजाउँदा अरू स्रष्टाहरूलाई पनि एल्बम प्रकाशन गर्ने चाहनालाई अरू जगाइदिएको हो भन्ने मेरो बुझाइ छ । त्यतिबेला बेलायतमा द भेटरान्स व्यान्ड पनि खुलेको थियो भने विभिन्न साङ्गीतिक ग्रुपहरू पनि खुलेका थिए । त्यसपछि धन गुरुङको ‘भावना’ एल्बम बजारमा आएको देखिन्छ ।

जब बेलायत सरकारले बेलायती लाहुरेहरूलाई सन् २००५ देखि बेलायतमै स्थायी रूपले बस्न दियो, तब नेपाली गीतसङ्गीतले यहाँ बढी फैलिने वातावरण पायो । सेवानिवृत्त लाहुरे अनि सेवारत लाहुरेहरू बेलायतमा बसोबास गर्न थालेपछि नेपाल छाडेको पीडा अनि आफ्नो संस्कृति र संस्कारतिर तानिन थाले र गीतहरू लेख्न थाले । केही समय संक्रमणजस्तो देखिएको सिर्जनाको फाँटमा धेरै गीतकारहरू एल्बम निकाल्नतिर लागे । त्यतिबेला सामाजिक सञ्जाल इमेल र फेसबुक सर्वसाधारणको पहुँचमा आउँदै थियो । विशेषतः लाहुरेहरूले फेसबुकलाई सिर्जना प्रस्तुत गर्ने एउटा सजिलो माध्यम बनाए । जसले गर्दा गीतकारलाई सङ्गीतकार, गायकगायिका, स्टुडियो, बजार व्यवस्थापक आदि भेट्न सजिलो भयो । यही कारण बेलायतमा रहेका धेरै लाहुरे, लाहुरेनी र सर्वसाधारणहरूमा गीत लेख्ने, सङ्गीत भर्ने, रेकर्ड गर्ने लहर चल्यो । गीतका किताबहरू पनि प्रकाशन हुन थाले । प्रकाशित किताब र एल्बमहरूको संख्या हेर्दा बेलायतमा लाहुरे, लाहुरेनीहरूकोे बाहुल्यता छ ।

सन् २००५ पछि बेलायतमा गीत लेखेर, गीतका पुस्तक प्रकाशन गरेर, गीतमा सङ्गीत भरेर अनि गाएर र एल्बम निकालेर नेपाली गीत सङ्गीतको बजारमा अब्बल भूमिका खेल्ने नेपालभित्रका कलाकारपछि बेलायतका नेपाली भाषीहरू नै दोस्रो स्थानमा छन् । यिनीहरूका सिर्जनाका कारण नेपाली गीतसङ्गीतमा सङ्लग्न धेरैको व्यवसाय चलेको छ भने रोजीरोटीको व्यवस्था पनि भएको छ । यति मात्र होइन, हप्ताहप्तामा बेलायतका विभिन्न कार्यक्रमहरूमा आउने गायकगायिका या प्रस्तोताहरूको आर्थिक पाटोबाट जीवनशैली नै परिवर्तन हुँदै आएको छ । तर बेलायतमा बसोबास गर्ने गीतकार, सङ्गीतकार र गायकगायिकाहरूको लगानीले केकस्तो प्रतिफल दिलाएको छ भन्ने कुरा धेरै महत्वपूर्ण छ जस्तो लाग्छ ।

 

गीतसङ्ग्रह प्रकाशन गर्ने गीतकारहरू

जानुका राई– धर्तीको जन्म र आमा । निलम आम्बुहाङ राई– अन्तरमनका तरङ्गहरू । सुमाया राई– छाम सुनाखरी । सुरेन्द्र इङ्नाम– चोट दिएपछि । ईश्वर चाम्लिङ– स्पन्दित प्रवास । मुकेश राई– अनुभूतिका रङहरू । विश्वकाजी राई– उजागर । नरेश नाती– बाटो खोज्दाखोज्दै । कृष्णबहादुर छेत्री– नेपाली मन । निर्मला राई ‘परिवेश’– परिवेशका पाइलाहरू, आदि ।

 

एलबम प्रकाशन गर्ने गीतकारहरू

घनबहादुर थापामगर– बस्ती, बयान र मायाको संसार । जानुका राई– समर्पण, समय र सन्दर्भ । दूत पुन चिमखोले काइँला– बेष्ट अफ चिमखोले काइँला, लन्डनको कोसेली र युकेतिर जाउली । निलम आङ्बुहाङ– जुनीजुनी, जुनीजुनी २ र निलम । ईश्वर चामलिङ– स्पन्दन र वीरताका गीतहरू । इखमान पुन– परदेशीको दिन । निरा पिजी– निराशा । कल्पना आङ्बुहाङ– आमा र आमा २ । सङ्गीता वायुङ राई– फूलजस्तै लाग्थ्यो माया । सीता शेरचन– परदेशी मन । करिष्मा घम– मुटु र स्पन्दन । विश्वासदीप तिगेला– गोप्य कुरा । नवीन थेवे– आयाम । धनवीर पुन– प्रश्नहरू । रन्जना राई– रोज । भगवान् चामलिङ राई– परिवर्तनका स्वरहरू । निर्मला राई ‘परिवेश’– रोशनी र रोनासा । मुकेश राई– मनोकाङ्क्षा । बिल पुर्जा पुनमगर– खिवाङ गाउँको चिनारी र मलम । जानु काम्बाङ– अनुभव र जानु । लिला पुन– दियो । चोक गुरुङ– प्रकट । हेमकुमार राई– उधारो । डिल्लीराम राई– उपमा । शान्तकुमार आङ्देम्बे– रङहरू । दुवसु क्षेत्री– मजस्तै तिमी पनि । मिलन तमु÷आर के गुरुङ– रोदीघरको आँगन २ । सुमाया राई– तातो हावा । भूमिराज राई– मोशन । लक्षुमन गुरुङ– अतीत । सुनील शिला– सम्झनाका पलहरू । सञ्जीव पादर्शी– डायमन्ड लाहुरे । चन्द्रावती राई– आभास । दुर्गा घले, एकेन्द्र गुरुङ, टङ्क शेरचन, शुक्र हितान, दीपा राई, सुमाया राई, मिजास तेम्बे, जगत् नवोदित, कोमल मल्ल, डिल्लीराम राई, सुस्मा राई, टीमाया राई आदिले पनि एल्बमहरू प्रकाशन गरेको पाइन्छ ।

 

एल्बम प्रकाशन गर्ने गायकगायिका र सङ्गीतकारहरू

गणेश पुन– परिचय । धन गुरुङ– भावना, फेरि आज, अतीत र यात्रा । करिष्मा घम– मुटु र स्पन्दन । भगवान् चामलिङ राई– परिवर्तनका स्वरहरू । अनिला राई– स्वराङ्कन । गङ्गा थापा– नाम्लो । बीसी राई– अर्को पाइला । भूमिराज राई– मोशन । शर्मिला बर्देवा– स्पर्श । सीतु खरेल– स्मारिका र मजस्तै तिमी पनि । हरिमान गुरुङ– लाएको माया । गङ्गाराज राई– स्पन्दन र आभास । थिर थापा– बिहानी । प्रदीपराज कार्की, मनसुदन थापा, सपन रार्ई, टंक शेरचन, कल्पना पुन, कल्याण गुरुङ, सुस्मा राई आदिले पनि एल्बम निकालेको जानकारीमा आएको छ ।

 

फुटकर गीत लेख्ने गीतकारहरू

शशी थापा सुब्बा, हरिसिंह थापा, लाल राना, हिकमतसिंह रोका, विजय हितान, भावना परिष्कृत सुनुवार, भरत लोहोरुङ राई, युवराज गुरुङ, तुल थापा, नानु राना, अनिता राना, जमुना पुन ‘किनारा’, अमृता मादेन, अमृत गर्बुजा, सुस्मा रुपाबुङ, जानु पुन, सर्वधन राई, औतारी साइँला, अनिला राई, किरण चाम्लिङ, डा. रुपक श्रेष्ठ, निला गुरुङ, नवराज राई, कृष्ण मयाङ्बो, भूपदेव राई, नृपेश उप्रेती, निला विश्वकर्मा, विजय सेन, तेन्जी पाख्रिन, सनमकुमार बैराग, किशोर पुन, सेमन्त राई, मोहन सावा लिम्बू, सारादेवी राई आदिले फुटकर गीतहरू प्रकाशन/रेकर्ड गर्दै आएका छन् ।

 

निचोड

गीतसङ्गीत भनेको केबल मनोरञ्जनको साधन मात्र होइन, यसले संस्कृतिको जगेर्ना गर्छ । मानवचेतना विकासमा महत्वपूर्ण भूमिका खेल्छ र परिवर्तनका पाटाहरूलाई अगाडि बढाउँछ । गीतले मानवसंवेदना, संस्कृति र विकासमा टेवा पु¥याउने काम पनि गर्छ । एकातिर कविगीतकार र कलाकार देशका गहना हुन् भनिन्छ अर्कोतिर इमान्दार र प्रतिभावान् स्रष्टाहरूले राम्रा सिर्जनामा लगाएको लगानी रहमा ढुङ्गा फालेसरह भएको छ । यस कुरालाई न देशका सम्बन्धित निकाय न त देशविदेशका गीतसङ्गीतप्रेमीहरूले नै बुझ्ने जमर्को गरेका छन् । गीतसङ्गीत यस्तै अवस्थाबाट ओरालो लाग्दै रहेमा रेकर्ड गर्ने कार्य खुम्चिँदै जाने छ र केही वर्षभित्र गीतकार या लगानीकर्ताहरूले यस क्षेत्रैलाई त्यागेर विकल्पको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । यस कुरालाई बेलायतमा बसोबास गर्ने नेपाली भाषी स्रष्टाहरूले पनि अनुभूत गरेर सर्जकहरूका सिर्जनालाई माया गर्ने वातावरण बनाउने समय आइसकेको छ । यस्तो भन्नुको अर्थ सर्जक र सिर्जना सबैको प्रिय बन्न सकून् र सिर्जनाको मूल्याङ्कन हुनुपर्छ भन्ने हो ।

 

स्रोत

१. कृष्णहरि बरालः गीतः सिद्धान्त र इतिहास ।

२. भावेश भुमरीः भीडभित्र छु बिरानो म (त्रिवि, नेपाली, स्नातकोत्तर सिर्जनापत्रको शोध पृष्टमूमि) ।

३. पाल्पाली भञ्ज्याङ मुखपत्र (लेखः नेपाली गीतसङ्गीतको अवस्थाः भावेश भुमरी) ।

४. विभन्नि गीतकार, सङ्गीतकार र गायकगायिकाहरूका गीतसङ्ग्रह र गीतिएल्बम ।

५. सम्बन्धित विभिन्न स्रष्टा र जानकार व्यक्तिहरूसँगको कुराकानी ।

६. स्रष्टाका फेसबुक, गुगल र युटुब ।

 

(१२ अगस्त २०१८ मा विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित दोस्रो विश्व साहित्य सम्मेलन, क्यान्टवरी, बेलायतमा प्रस्तुत)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार