उपप्रधान तथा रक्षामन्त्री पोख्रेल आज राति लेबनान र पोल्याण्ड जाँदै

  पहिलोपेज

 228 पटक हेरिएको

काठमाडौं, १५ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण/अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रवार राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । लेबनानमा रहँदा उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले शान्ति मिसन अन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनेछन् । त्यसक्रममा समकक्षी याकुब रियाद एल सर्राफसहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघले शान्ति मिसनमा सहभागी गराउँदै आएकोमा लेवनानस्थित युनिफिल मिसन नेपाली सेनाको सबैभन्दा पुरानो मिसन हो । सन् १९५८ देखि नेपाली शान्ति सैनिक यस मिसनमा खटिँदै आएका छन् । हाल यूनिफिल मिसनमा नेपाली सेनाको श्री बरख गण र मिलिटरी अब्जर्भर तथा स्टाफ अधिकृत गरी ८ सय ७२ शान्ति सैनिक तैनाथ छन् । उनले लेवनान भ्रमणका क्रममा नेपाली मिसनलाई राष्ट्रसंघले तोकेको जिम्मेवारीमा रहेर लेवनानको राजनीतिक संकट अन्त्य गर्न निर्वाह गरेको भूमिकाबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी मन्त्री पोख्रेल लेवनानको दुईदिने भ्रमण पूरा गरी १९ गते पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्स्पो’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् । समकक्षी एन्टोनी मसिओएजको निमन्त्रणामा पोल्याड जान लागेका उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले ‘एक्स्पो’ सहभागी मुलुकका सेनाले प्रयोग गर्ने सैन्य सामग्री लगायतको जानकारी समेत लिनेछन् । उनले समकक्षी एन्टोनी मसिओएजसँग आपसी हित र सहायता आदानप्रदानबारे शिष्टाचार छलफल गर्नेछन् । उपप्रधानमन्त्री पोखरेल दुबै मुलुकको भ्रमण पूरा गरी भदौं २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार