मनुजबाबुको निबन्धः मेरी नारीयम श्रीमती

८३ वर्षको उमेरमा हृदयघातका कारण मृत्युवरण गरेका नेपालका ख्यातिप्राप्त निबन्धकार एवं कलाकार मनुजबाबु मिश्र करिब २७ वर्ष एकान्तबासमा रहे । यो एकान्तबास नेपाली कला–साहित्यका लागि उर्बर बन्न पुग्यो । एकान्तबासमै रहँदा उनले हजारौं चित्र बनाए भने दर्जनौं पुस्तक पनि लेखे ।

नेपाली र अंग्रेजी दुबै भाषामा दर्जनौं पुस्तक लेखेका मनुजको ‘मेरी नारीयम श्रीमती’ शीर्षकको यो निबन्धले उनको एकान्तबासका धेरै कुरा प्रष्ट पारेको छः

‘विगत एक दशकदेखि म एकान्तमा थिएँ, एक्लै आफ्नो कार्यकक्षमा बसेर काम गरिरहन्थें । सिर्जनात्मक कार्य प्रायः एक्लै बसेर नै गर्ने गरिन्छ, किनकि समुहमा बसेर साधना हुन सक्दैन । तर, पनि मैले त्यस्तो उराठलाग्दो एक्लोपनको अनुभव गर्नु परेको थिएन । मेरी अर्धागिंनी नारी ‘श्रीमती’ आसपासतीरै हुन्थिन् । म बरोबर उनको आवाज सुन्ने गर्दथेँ–भोकप्यासको खबर लिइरहन्थिन् । मित्र वर्गको आगमनमा चियाचमेनाको व्यवस्था मिलाउने गर्दथिन् ।

उनको आवाज यत्रतत्रबाट सुनिरहन्थें । अनि फुर्सदको समयमा सँगै बसेर वार्तालाप–सुख दुःखका कुरा गर्ने गर्दथें । उनको उपस्थिति व्याप्त थियो मेरो तमाम मानसिकताभरि । मानौं उनको उपस्थितिको अनुभवबाटै मात्र पनि मेरो जीवन सञ्चालित र सिर्जनात्मक प्रेरणा प्राप्त भइरहेको थियो । मेरा प्रत्येक रेखा, रंग रचना एवं लेखनभरि कुनै न कुनै रुपमा उनको प्रेरणा रही रहन्थ्यो । उनी मेरो भावप्रवाहको झोल थिइन् र म आफ्नै विचार प्रवाहको चौटा ।

म पनि मेरी श्रीमतीलाई छाडेर अनेकौं पटक, पाँच–छ वर्षसम्मका लागि देशविदेश गएको थिएँ । मेरो अनुपस्थितिमा घरायसी कार्यको चपेटाले गर्दा उनलाई सायद नियास्रो मान्ने फुर्सदै भएन । अथवा उनलाई कति उकुसमुकुस र एक्लोपनाको अनुभव हुँदो हो, त्यसलाई मैले कहिल्यै बुझ्ने प्रयास गरिनँ ।

नारीलाई मीठो भाषामा ‘आमा’ भन्ने गरिएको भए तापनि तीतोभाषामा ‘सर्वश्रेष्ठ नोकर्नी’ भन्न नमिल्ला र ? हुन त विश्वका अधिकांश मानिस कसै न कसैको नोकरनोकर्नी नै हुन्छन् । तर आमा, जन्मदातृ–धरतीमाताले खेलेको त्यस्तो ‘सर्वश्रेष्ठ नोकर्नी’ को भूमिकाको कुनै मूल्य हुँदैन

सायद मेरो पुरुषमा एउटा नारीको लामो सुस्केरामा व्यक्त व्यथालाई बुझ्नसक्ने सामथ्र्य नै थिएन । शब्द, सँगीत अथवा चित्रमा उनको व्यथित भावनाको भक्कानो रसाएको भए त्यो करुणरसको कविता, चित्र अथवा हृदयश्पर्शी सँगीत बन्न सक्दथ्यो होला । तर के गर्नु उनी मूक भावना मात्र व्यक्त गर्नसक्ने, सृष्टि सिर्जनाकी खानी, लेखपढ गर्न नजान्ने प्रकृतीजस्तै अनपढ थिइन् । म भने उनी आफुसँग छुट्टिएर गएको दिनदेखि नै शारीरिक रुपमा शिथिल र मानसिकरुपमा बिरामी नै परेको छु । उनी गएकै दिन बेलुका मैले आफ्नो अनुहार ऐनामा हेरेर एउटा रेखाचित्र बनाएको थिएँ । हृदयभित्रका सम्पूर्ण पीडा आएर मेरो अनुहारभरि गुजुल्टिएछन् । त्यो मेरो अनुहार ‘गुर्यनिका’को साँढेका जस्तो हृदयविदारक भएको रहेछ ।

दुई चार दिनको फरकमा हाम्रो ‘आ–जा’ यन्त्रमा कुरा भइरहन्छ । उनी भित्री व्यथाको भक्कानोलाई थिचेर मसँग कुरा गर्दैछिन् भन्ने कुरा म बुझ्न सक्दथें । सायद मेरो आवाजमा लुकेको व्यथालाई उनी पनि बुझ्दछिन् होला ।

‘मिश्रजी, कस्तो छ हजुरलाई, हजुरको लेखपढ, चित्र, खानपिन, पाहुनापछा, सरसफाई सबै राम्रो छ कि छैन । के पार्वतीले काम राम्रै गरिरहेकी छ ? न्यास्रो कत्तिको लागेको छ ?’

हामी दुबै फटाहा बोल्थ्यौं । एक अर्कालाई जतिसुकै न्यास्रो लागे पनि हनहनी ज्वरो नै आएको भए तापनि ‘यता सबै राम्रो छ, म निकै फेरिएको छु, आफूचाँहि बरु यताको पटक्कै पीर नगर्नू’ भन्दै आ–आफ्ना अन्तरव्यथा र न्यास्रोपनलाई रुन्चे हाँसो हाँसेर सुनाउथे गदथ्यौं । आफूलाई त्यहाँ पटक्कै बस्न मन नलागेको कुरा उनी भन्न चाहन्नथिन् किनकि घरमा हुँदा कुनै कुरा चित्त बुझेन कि ‘पर्ख न तिमी गनगने बुढालाई छाडेर एक–दुई वर्ष छोरा बुहारीकहाँ बसेर नआई कहाँ छाड्छु र’ भन्ने गर्दथिन् उनी । अनि म पनि ‘जाउजाउ, छोराछोरी जसकहाँ गए पनि जाउ, फर्केरै नआउने गरेर गए पनि जाउ, शान्तिसँग आफ्नो काम त गर्न पाउँला’ भनिदिने गर्दथें ।

हाम्रो ठस्केका कुरा सुन्दा उता छोरो भने हर्षले गद्गद् हुन्थ्यो । बाबुको बन्धनबाट आमाले मुक्ति पाउन लागेको देख्दा भने छोरीका आँखाभरि पनि आमाको मायाको झोल डबडबाउन लाग्दथे । दुवैको हृदयभरी आमालाई आफ्नो डेरामा लैजान पाउने आशा भरिएर आउँदथ्यो । अनि आमाको तानातान हुन्थ्यो छोरा र छोरीको बीचमा, ‘म लान्छु, होइन म लान्छु’ भन्दै । उत्तम उत्तम शब्दालंकारद्वारा उनीहरुको बीचमा आमाको ‘माया–प्रदर्शनी’ को प्रतिश्पर्धा चल्दथ्यो । छोरीको सँधै हार हुने समाज–छोराले जित्यो र आमा लिएर हिंडयो । म आधा मात्र बाँकी भएँ, निस्सहाय किंकर्तव्यको मुढो बनेर म आफै आधा भएको दृश्य हेरिरहें । छोरा र छोरीका व्यवहारमा होइन, शब्दमा गुञ्जिएका ‘मातृप्रेम’का आवाजहरु कताकता मलाई आफ्नै बिगतका कर्म र कर्तव्यका कहालीलाग्दा क्रन्दनका परिणामजस्ता लागे । किनकि मेरा बर्तमानका यथार्थताहरु सबै मेरै बिगतको उपहास गर्दैथिए त्यतिबेला ।

वर्तमानमा मेरो श्रीमतीको भूमिका आमामय बन्न पुगेको छ । आमाको माया छोराछोरीप्रति कर्तव्यै कर्तव्यले भरिएको स्वार्थविहीन, नौनीजस्तै नरम हुन्छ । उनका छोरा, बुहारी, नाती, छोरी पनि छन् । सबै जागिरे छन् । सबै डेरामा बस्छन्. । सानो नाति पनि स्कुल जाने हुनाले उनीहरुलाई सँधै डेरामा ताल्चा मारेर हिँडनुपर्ने हुन्छ । महिनाको ठूलो रकम दिन्छु, पढाईदिन्छु, आफ्नै छोरा सरि खाना लाउन दिन्छु आदि फोस्रो आश्वासन दिएर कुनै केटालाई ल्याएर राख्यो, केही महिनापछि उसैले लट्टीपट्टी पारेर हिँडिदिने ।

यस्तै हुँदा हुँदै उनीहरु आजित भइसकेका थिए । पुरुषहरुको अविश्वासिलो बानी, उच्छृंखल स्वभाव, छलकपट देखेर होला उनीहरु सकभर जन्मजात सहनशिल, इमानदार, मेहनती मानिएकी नारी केटीको खोजीमा थिए । भन्नेबेलामा बहिनी, छोरी, सेविका जे भने पनि सकभर थोरै तलबमा घरमा लगाएको सारा काम इमानदारीपूर्वक गर्नैैपर्ने एउटी ‘नोकर्नी’ नै खोजेका थिए उनीहरुले । त्यस्ती केटी नपाउँदा उनीहरुको बेहाल भइरहेको थियो । त्यस्ता बेलामा जब उनीहरुले आफ्नी श्रीमतीलाई मैले ‘जाउजाउ छोराछोरी जसकहाँ गए पनि जाउ’ भनेको सुने, उनीहरु आफ्नी आमालाई आफूकहाँ लैजान रसभरीजस्ता कुरा खुवाएर हानथाप गर्न लागेका थिए ।

यथार्थमा साँच्चीकै रसभरी ल्याएर आफ्नी कहिल्यै खान नदिएको भए तापनि । मभित्र भने आफ्नो बर्तमान सकसकाउँदथ्यो र नाभिदेखिको बल निकालेर चिसो खोकी खोक्न लाग्दथें, बर्तमानबाट प्रदुषित विकार र विकृतिका तुसहरु निकाल्न । कर्तव्यहरु ओइलाइसकेका र अधिकार, स्वतन्त्रताका तापक्रम भने बढ्दै थिए दिनप्रतिदिन । सहनशील नारी, सरल र स्वच्छ नारी, मेरी श्रीमती, तातो र न्यानो चाहिने उमेरमा चिसो सिरेटो चल्दासमेत गौरव गर्दथिन् आफ्नो सन्ततिको जीवनको रबाफिलो राप तापेर ।

मेरो मेख मार्न छोरा बुहारीसँग त्यति टाढा पुगेकी मेरी श्रीमती गएको दुई महिना पनि नपुग्दै कसरी ‘म बोर भएँ फर्कन्छु त्यतै’ भनून् । अनि म पनि ‘फर्केरै नआउने गरी गए पनि जाउ’ भन्ने मान्छे यति चाँडै कसरी ‘बोर भएँ, फर्केर आउ’ भनूँ । त्यसैले हामी दुबै अरु नै मार्फत आफू न्यास्रिएको कुरा एकअर्काकहाँ पुर्‍याउने गर्दथ्यौं ।

म नारीकै कोखबाट जन्मिएँ, नारीकै पालनपोषणबाट नारीकै काखमा हुर्र्किएँ, नारीकै माया पाएर पुलकित भएँ, खिलखिलाएँ, नारीकै उर्जा पाएर प्रगतितर्फ प्रोत्साहित भएँ, रोमाञ्चित भएँ, प्रेमी भएँ, पति भएँ, पिता भएँ, पूर्ण भएँ । नारी शक्तिको यस्तो रहष्य र व्यापकतालाई अलिअलि बुझ्न पनि मलाई पूरा चौसटठी वर्ष लाग्यो । आज आफू अर्धांगी हुन आइपुगेपछि मात्र पो आफ्नो वैदिक कालले व्याख्या गरेको ‘प्रकृती–पुरुष’को अर्थ र नारीशक्तिको महत्वतिर ध्यान जान लागेको छ । प्रकृति आदिभौतिक र पुरुष भौतिक, नारी अथवा आदि भौतिक शक्तिबिना भौतिक पुरुष ‘शव’ बरोबरको हुन जाने । त्यसैले पनि आदिकालदेखि नै मानिसले नारीलाई ‘धरतीमाता, प्रकृती’को रुपमा ठूलो मान्यता दिंदै आएको रहेछ ।

साँच्चै नारी प्रकृति हुन् । प्रकृतिको रहस्यात्मक शक्ति हुन्, जीव जगत्की उर्जा हुन, आगो हुन् (बृहदारण्यकोपनिषद), वस्तुजगत्की आत्मा हुन् । उनकै उपभोग, सम्भोग एवं प्रेरणाबाट मात्र नै मानवसंस्कृति, सभ्यताको विकासर पुरुषको पुरुषत्व क्रियाशील हुन सकेको हो । अझ ‘आदिभौतिक’ शब्द स्वयम् नै नारीबाट आएको हुनुपर्दछ । ‘आदि’को अर्थ हुन्छ, सृष्टिको मूल अथवा सुरुको । अनि ‘भौतिक’को अर्थ हुन्छ, प्रतीत रुप । सायद बिस–बाइस हजार वर्षअगाडि प्रस्तर युगका मानिसले सर्वप्रथम नारी शक्तिको महत्वलाई बुझिसकेका थिए र नारीको प्रतित रुप अथवा आदि भौतिक रुपको निर्माण गर्न लागिसकेका थिए ।

त्यसैले होला सर्वप्राचीन मूर्तिहरु पूरुषको नभएर नारीको नै अधिकांश संख्यामा देखिदै आएका हुन् । आदिप्रस्तरकालका त्यस्ता नारीमुर्तिहरुमा अष्ट्रियाको उलेन्डोर्फ नामक स्थानमा प्राप्त मूर्ति भेनस, पाँच हजार वर्षअगाडिको मिस्र, मेसोपोटामिया, मोहोनजोदारो, आदि ऐतिहासिक क्षेत्रमा प्राप्त सबै मूर्तिलाई ‘धरतीमाता’ भनींदै आएको छ । उनीहरु नारीमूर्तिको रचना गर्ने मात्र होइन, नारीलाई शभक्ति पुजासमेत गर्ने गर्दथे । प्राचीन बेबिलोनियाकी शक्तिमाता ‘मिलिता’, प्राचीन मेक्सीकोकी नारीमाता ‘ईस’, मध्यअफ्रिकाकी देवी ‘सलम्बो’, उत्तर अफ्रिकाकी संरक्षिका बनदेवी ‘वास्ट’ आदि आदि प्राचीन कालका पूजादेवी थिए । हाम्रो यताको भौगोलिक भेगमा त झन् नारीशक्तिबिना कुनै देवताको पनि देवत्व रहँदैनथ्यो । ब्रहम्मायणी नभए ब्रम्हा र ब्रम्ह नै नरहने, रुद्रायणी नभए रुद्रको रौद्रता नै शिथिल हुने, वाराही नभए बराहमा बँदेलै मात्र बाँकी रहने, आदर्श सती र सीता पनि नारी, डरलाग्दी चामुन्डा र भैरवी पनि नारी, जीवनदायी अम्बिका पनि नारी, रक्तकाली, काली, कराली, कात्यायनी पनि नारी ।

सृष्टिपालन, संहारकर्ता सबै नारी । नारी नभए देउतासमेत आधा हुँदा रहेछन् भने मेरी नारी नहुँदा मलाई त जाबो न्यास्रोसम्म लागेको न हो । आफ्नी अर्धागिंनीको पचास घटेपछि मैले आफू केवल पचास प्रतिशत मात्रको अर्धांग बाँकी रहेको अनुभव गर्नसक्नुपर्दथ्यो । त्यस्तो अनुभव भने मैले गर्न सकेको छैन, जतिसुकै एक्लिए तापनि ।

मेरी श्रीमती पनि नारी नै हुन् । उनीसँग नारीको तमाम शक्ति छ । आधुनिक कलाको परिभाषाअनुसारकी कलाकार उनी होइनन् । शिक्षिता भन्नाले बुझिने खालकी पठित पनि उनी होइनन् । तर पनि उनी सिर्जनाशक्ति सम्पन्न नारी हुन् । उनी मजस्तो अनुकरणकर्ता कलाकार होइनन् । मजस्तो कलाकारको कलाकृति–रचनालाई प्राचीन यहुदी, प्रारम्भीक इसाई अनि इस्लामहरुले प्रतिबन्ध नै लगाइदिएका थिए । किनकी मजस्ता कलाकार त खाली वस्तुजगतको प्रकृतिको अनुकरण मात्र गर्न सक्दछन् । त्यस्ता कलामा न त मान्छे बोल्नसक्छ, न बादल पानी पार्न । उनीहरुका लागि त्यस्ता कलाले केवल इश्वरको अपमान मात्र गर्न सक्दथ्यो । तर मेरी नारीको कला त सबै सजिव हुन्छन् । ती बोल्छन् । हिँडछन् । प्रगति गर्छन् । संस्कृति र सभ्यताको निर्माण गर्छन् । विद्वान र वैज्ञानिक बन्न सक्छन् । त्यस्तो पो कला । उनी कहिल्यै पनि अरुले व्याख्या गरिदिनुपर्ने कलाको रचना गर्दिनन् । उनका सबै चित्र प्रकृतिका जस्तै विचित्रका आकर्षक हुन्छन् । त्यसैले हुनसक्छ दुई–तीन सय वर्षअगाडिसम्म नारीकलाकार–चित्रकार–मूर्तिकारको कला इतिहासमा कतै पनि उल्लेखयोग्य नामै नआएको । उनी सँधै प्रकृतिजस्तै प्रेरणाको स्रोत मात्र बनिरहेकी छिन् ।

पहिले त नारी पूजनीय कुमारी हुन्, अनि प्रेरणाकी स्रोत प्रेमिका अनि श्रीमती, अनि कसैकी आमा । बाल्यकालमा नै आफ्नै आमासँग विमुख हुनुपरेको हुँदा आमाको प्रेम, स्नेह कस्तो हुन्छ भन्ने कुरा मैले बिर्सिसकें । तर पनि मलाई थाहा छ, म मेरी आमाको शरीरभरी उफ्रन्थें, आमासँग खेल्थें, खेलाइन्थें । आमाको शरीरभरी, हृदयभरी, मायाभरि, मातृत्वभरि, भित्र आमा बाहिर आमा, म आमामय थिएँ । म बाहिर आमा व्याप्त हुनुहुन्थ्यो । मभित्र भने आमा कति हुनुहुन्थ्यो भन्ने कुरा म सम्झन सक्दिनँ । मेरी आमा परलोक गएपछिका धेरै वर्षसम्म ममा मायाको खडेरी परेको थियो । म पटपट फुटेको–फुटाइएको–ओइलाइसकेको थिएँ । जीवनका त्यस्ता निरस घडीमा मेरी मति प्रेमिका बन्नुअगाडि नै श्रीमती बनेर मेरो जीवनमा आइपुगिन् । म पुनः रसाउन लागेँ, हरिलोभरिलो हुँदै आएँ । उनका माया, प्रेम, प्रेरणा एवं सहयोगबाट मलाई बिर्सिसकेको आमाको न्यानो मायाको आभास मिल्न लाग्यो ।

क्रमशः मैले आफ्नी श्रीमतीबाट आमामाथिको आमाको अगाध प्रेम र स्नेह पाउन लागेँ । त्यस्तो ताजा मायाको अगाडि मेरी जन्मदातृ आमाको बासयी माया केवल औपचारिकतामा उत्रदै जान लाग्यो । बाल्यकालमा आमाकोजस्तै यौवनावस्थामा हामी परस्परका शरीरभरि, आत्माभरि, आँखाभरि, हरेक क्रियाकलापभरि, जीवनभरी व्याप्त हुँदै आयौं । कहिलेकाँही त मलाई आमा र श्रीमती दुवै नारीको संयुक्त बिम्ब बोध हुन लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार