प्रथम उपमेयर क्रिकेट प्रतियोगिता : त्रिभुवन र जनज्योति फाइनलमा

कोहलपुर, २ असार । कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन नमूना मा.वि. र जनज्योति भिड्ने भएका छन् । शनिबार सम्पन्न सेमिफाइनल समीकरणबाट त्रिभुवन र जनज्योति फाईनलका लागि छनोट भएका हुन् ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साइनिङ स्टारलाई ८ विकेटले पराजित गर्दै जनज्योतिले फाइनलमा आप्mनो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङका लागि उत्रिएको साइनिङ स्टारले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १ सय १३ रन जोडेको थियो । जसका लागि जमुना रानाले २१, स्मृति धामीले १९, मोनिका रानाले १२, सुरक्षा परियार र बिपना वलीले ८/८ रन जोडेका थिए । साइनिङ स्टारलाई रोक्ने क्रममा जनज्योतिका बलर निर्मला बस्नेतले २ विकेट लिएकी थिइन भने मोनिका आलेले १ विकेट लिएकी थिइन् ।

१ सय १४ रनको लक्ष्य पछ्याएको जनज्योतिले मात्र २ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो । मात्र १३ दशमलव २ ओभरमा जीत दर्ज गर्ने क्रममा जनज्योतिका खेलाडीहरु समीक्षा विकले २७, सुमिना चन्दले १४, जुनु बमले १२ र निर्मला बस्नेतले १० रनको योगदान गरेका थिए । प्रतियोगिताको प्लेयर अफ द म्याच १० रन जोड्दै २ विकेट लिन सफल जनज्योतिकी खेलाडी निर्मला बस्नेत घोषित भइन् ।

यसैबीच दोस्रो सेमिफाइनल खेलमा सगरमाथा बिरुद्ध सहज जीत निकाल्दै त्रिभुवन मा.वि. फाइनल चरणमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले पूरै १५ ओभर खेलिसक्दा जम्मा ६५ रन मात्र जोडेको थियो । निकै संघर्षका बावजुद सगरमाथा अतिरिक्त २६ रनसँगै ६५ रनमा समेटिएको थियो । त्रिभुवन. मा.वि. का बलरहरुले सगरमाथाको ब्याटिङलाइन धराशायी बनाएका थिए । त्रिभुवनका बलर सिर्जना पुनले २ विकेट लिएकी थिइन् भने लक्ष्मी रानाभाट र रोशनी शाहले समान १/१ विकेट लिएका थिए ।

६६ रनको झिनो लक्ष्य पछ्याएको त्रिमाविले ९ दशमलव १ ओभरमै लक्ष्य पूरा गरेको थियो । त्रिमाविका लागि अलिसा सुनारले २४ रन जोडेकी थिइन भने सिर्जना पुन मगरले २१ रनको योगदान गरेकी थिइन् । उक्त खेलको प्लेयर अफ द म्याच त्रिभुवनकी सिर्जना पुन मगर घोषित भइन् ।

जेठ २६ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि (आइतबार) दिनको २ः३० बजे सञ्चालन हुने भएको छ । पहिलोपटक सञ्चालित यस प्रतियोगिताबाट क्रिकेटका महिला खेलाडीहरु उत्पादनमा मद्दत पुग्ने विश्वास लिइएको छ । नगरभित्रका १२ विद्यालय सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले २१ हजार र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले १० हजार ५ सय र ट्रफी प्राप्त गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । साथै प्रतियोगिताको आइतबार हुने समापन समारोहमा उपस्थितिका लागि आयोजक कोहलपुर नगरपालिकाले सम्पूर्ण नगरवासी तथा पत्रकारहरुलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ ०२, २०७५ समय : १९:१७:५७ 95 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi