प्रधानमन्त्री असार ५ मा चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली असार ५ गते चीन जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको टोली असार १० गते स्वदेश फर्किने कार्यक्रम छ । भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी राधिका शाक्य लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्रीले चिनियाँ समकक्षी लीसहित वरिष्ठ चिनियाँ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ नेपाल चीन व्यापारिक मञ्चलाई सम्बोधन गर्नेछन् । सो अवसरमा दुई देशले केही सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले २०१६ मार्चमा भएको तत्कालीन प्रम ओलीको चीन भ्रमणका क्रममा जारी भएको संयुक्त बक्तव्यमा भएका विषयहरुको कार्यान्वयनलाई यसपटकको भ्रमणमा विशेष जोड दिइने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले एजेण्डा थप्दै जानुभन्दा पनि पुराना सम्झौता कार्यान्वयनलाई यसपटक प्राथमिकतामा राखिने रिमालले बताए ।

अब आउने अगष्टसम्ममा चिनियाँ रेल नेपालमा ल्याउने विषयमा पूर्व प्रारम्भिक सम्भाव्यता अध्ययन सकिने रिमालले बताए । यही सरकारले पाँच वर्षको कार्यकालमा चीन–रसुवागढी–काठमाडौं जोड्ने रेलको एउटा नतिजा हासिल गरेरै छाड्ने रिमालले दाबी गरे ।

नेपालमा लगानी गर्नका लागि उचित समय आएको भन्दै रिमालले चीनको लगानी नेपालमा बढाउने विषयमा पनि छलफल हुने बताए ।

प्रकाशित मिति : बिहिवार, जेठ ३१, २०७५ समय : १५:५२:१३ 111 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi