समाजको आवश्यकतालाई बोध गरेर रेडियो सञ्चालन हुनुपर्ने : डियर कल्याण

पहिलोपेज

तुलसीपुर, २७ जेठ । नेपालमा एफएम रेडियोको स्थापनाकालदेखि नै रेडियोमा क्रियाशील कल्याणराज गौतम अर्थात डियर कल्याणले रेडियोको यो उर्वर समय देख्दा आफूलाई निकै खुशी लाग्ने गरेको बताएका छन् । अहिले रेडियो धेरै भएकाले त्यही अनुपातमा रेडियोले पनि समाजका लागि योगदान दिन सक्नुपर्ने उनको धारणा थियो ।

रोटरी क्लब अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा अतिथि वक्ताको रुपमा सहभागी गौतमले रेडियो र पत्रकारिताको आधारभूत ज्ञान लिएर मात्र अबको पुस्ता यो क्षेत्रमा लाग्नुपर्ने आवश्यकता औंल्याए । रहरका भरमा भन्दा पनि समाजको आवश्यकतालाई बोध गरेर रेडियो कार्यक्रम उत्पादन हुनुपर्ने उनको कथन थियो । रेडियोहरुले कुनै विषयगत विधालाई लिदै सामाजिक उत्तरदायित्वलाई बलियो ढंगले उठाई अलग पहिचानका साथमा सञ्चालन हुने प्रयास गरे भने पक्कै पनि यसले समाजका लागि योगदान दिन सक्ने उनको धारणा थियो ।

गौतमलाई क्लबका पूर्व अध्यक्ष बिजय केसीले खादा ओढाएर सम्मान एवम् स्वागत गरेका थिए । पूर्व अध्यक्ष कुशल तर्तालले क्लबले स्थापनाकालदेखि अहिलेसम्म गरेका बिभिन्न सामाजिक गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रोटरियन राजीव वलीले अतिथि वक्ता गौतमको परिचय गराएका थिए ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले हाल अमेरिकामा स्थायी बसोबास गर्दै आएका अतिथि वक्ता गौतमलाई मायाको चिनो प्रदान गर्दै विगत २२ वर्षदेखि सञ्चालन गर्दै आएको कार्यक्रम मेरो कथालाई अमेरिकाबाट पनि निरन्तरता दिन सुझाव दिएका थिए ।

क्लबका प्रस्तावित अध्यक्ष देवबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष सचिन पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । महासचिव सन्दिपन रिजालले सहजीकरण गरेको कार्यक्रममा ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका विध्यार्थीहरुको पनि सहभागिता रहेको थियो । सोही अबसरमा रोटरी क्लब अफ हिमालय पाटनबाट आएकी सर्विस प्रोजेक्ट चेयर रोटरियन सोनु शाक्य ब्रजाचार्यलाई पनि क्लबमा स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा क्लबले मे महिनामा गरेका बिभिन्न गतिविधिहरु समेटिएको मासिक बुलेटिनको पनि बिमोचन गरिएको थियो ।

प्रकाशित मिति : आइतवार, जेठ २७, २०७५ समय : १३:५६:५९ 125 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi