रौतहटमा मसाल जुलुस, नेबिसंघले किन माग्यो प्रधानमन्त्ती ओलीको राजीनामा ?

रौतहट, २७ जेठ  । नेपाल विद्यार्थी संघ रौतहटले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । रौतहटमा मसाल जुलुस प्रदर्शन गर्दै पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यवृद्धि गरेको विरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नवराज देवकोटाको नेतृत्वमा भएको मसाल जुलुस प्रदर्शन भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवकोटाले अहिलेको कम्युनिष्ट सरकारले ललिपप बाँडेर लोकप्रिय हुन खोजे पनि गरिब र निमुखा जनताको जीवनस्तरलाई ख्याल नै नगरेको आरोप लगाए । उनले अनेकौं बहानामा पटकपटक खाद्यान्न र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताए । अन्तर्राष्ट्रिय बजारसङ्ग मूल्य समायोजनको नाममा वृद्धि गरिएको मूल्य तत्काल समायोजन गरियोस् भन्दै उनले आक्रोश पोखेका थिए ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन (जनज्योति)का सभापति संगम श्रेष्ठ, उपसभापति गोपाल हुमागाई, सदस्य भीमराज अधिकारी, करण देवकोटा, नेविसंघ नेता समीर नेपाल, प्रल्हाद मैनाली, सुबोध गिरी लगायत सयौं विद्यार्थीहरुको उपस्थिति थियो ।

सञ्चारमाध्यमसङ्ग कुरा गर्दै केन्द्रीय सदस्य नवराज देवकोटाले जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गराउन दबाबस्वरुप मसाल जुलुस र आन्दोलनको कार्यक्रम गरिएको बताए । उनले यो आन्दोलनबाट सरकार आफ्नो निर्णयबाट पछाडि नहटे हामी अनसन र आमहडतालको आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले रौतहट जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएको थियो ।

प्रकाशित मिति : आइतवार, जेठ २७, २०७५ समय : ११:३१:१३ 383 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi