संविधान पूर्ण कार्यान्वयनमा, नेपाल शान्ति र स्थिरतातर्फ : प्रधानमन्त्री ओली

पहिलोपेज

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरतातर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरतातर्फ बढेको बताए ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आयोजना गरेको “सिक्दै गरेको पुस्ता र सिकाईको तरिका” सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति, समानता, समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराए । “शिक्षाका अतिरिक्त स्वास्थ्य, हेरचाह, व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ”, प्रधानमन्त्री ओलीले भने ।

नेपाल बिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाल बालअधिकार महासन्धिको पक्ष राष्ट्र पनि हो”, प्रधानमन्त्री ओलीले भने, “त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।”

प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुणस्तर वृद्धिका लागि सूचना र प्रविधिको प्रयोग गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, “सूचना र प्रविधिलाई विद्यार्थीदेखि विद्यालयसम्म विस्तार गर्ने सरकारको योजना छ ।” प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन पनि आग्रह गरे ।

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको पनि सहभागिता थियो ।

प्रकाशित मिति : सोमवार, बैशाख २४, २०७५ समय : १६:०२:२९ 76 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi