कांग्रेसको संस्थापन समूहबीच एकताको प्रयास सुरु

पहिलोपेज


काठमाडौं । नेतृत्वलाई लिएर १३ औं महाधिवेशन ताका फुटेको कांग्रेसको तत्कालीन संस्थापन समूहबीच एकताको प्रयास सुरु भएको छ ।

चुनावी समीक्षाका लागि आहृवान गरिएको केन्द्रीय कार्यसमिति बैठक अघि रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवाहरुलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको हो ।

१३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर तेस्रो धार बनाएपछि पौडेल र सिटौलाको सम्बन्ध राम्रो थिएन । एक नेता भन्छन्, ‘पछिल्लो समय पौडेल र सिटौलाबीच लगातार कुराकानी भइरहेको छ ।’

यसको पहल आम चुनावपछि देउवा समूह छाडेका नेता अर्जुन नरसिंह केसीले गरेका हुन् । उनी १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूह छाडेर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।

तर अहिले उनकै पहलमा देउवा समूह इतरका नेताहरु एकीकृत गर्ने प्रयास भइरहेको छ ।

स्रोतका अनुसार सुरुमा उनले रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसपछि तीन नेताको संयुक्त छलफल भयो । पछिल्लो पटक यसमा शेखर कोइराला, प्रकाशमान सिंह थपिएका छन् ।

विशेष महाधिवेशन र नेतृत्व हस्तान्तरणको माग राख्दै आएको गगन थापा, प्रदीप पौडेलहरुको समूहलाई पनि समावेश गर्ने प्रयास नेताहरुको छ ।

‘६ भाइ’का तीन सदस्य पहिलादेखि नै पौडेल समूहका हुन् । गगन र प्रदीप पौडेललाई सिटौला निकट मानिन्छ भने चन्द्र भण्डारी देउवा समूह छाडेका नेता हुन् ।

कांग्रेसभित्र शुद्धीकरण अभियान चलाएका नवीन्द्रराज जोशी लगायतलाई पनि एकै ठाउँमा ल्याउने पहल भइरहेको एक नेताले जामनकारी दिए ।

देउवा समूह इतरका नेताहरु पार्टी नेतृत्वमा देउवाको विकल्प खोज्नुपर्छ भन्नेमा सहमत छन् । तर एउटै गुट बनिहाल्ने अवस्था देखिएको छैन ।

‘पार्टीको नीति, नेतृत्व र संरचना परिर्वतन हुनुपर्छ । अहिलेको जस्तो हुकुमी शैलीले पार्टी चल्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो’ पौडेल समूहका एक नेता भन्छन्, ‘नयाँ नेतृत्व कसको भन्ने विवाद अहिले गर्दैनौं । जनमतले तय गर्छ ।’

कांग्रेसले आम चुनावमा व्यहोरेको हारको समिक्षा गर्न चैत ९ देखि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । यो बैठकले महासमिति बैठक पनि बोलाउनेछ ।

वैकल्पिक दस्तावेजको सम्भावना

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयासमा रहेका नेताहरुले छुट्टै दस्तावेज बनाएका छैनन् ।

पार्टी नेतृत्वले चुनावको समिक्षा र आगामी कार्ययोजनाबारे ल्याउने प्रस्तावका आधारमा अघि बढ्ने एक नेताले बताए । उनले भने, ‘पार्टी नेतृत्वले ल्याएको दस्तावेज चित्त बुझ्दो भएन भने वैकल्पिक दस्तावेज पनि आउँछ ।’

गगन थापा, प्रदीप पौडेलको समूहले पनि छुट्टै दस्तावेज ल्याउनेबारे छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : मङ्गलवार, चैत्र ०६, २०७४ समय : २०:०३:४६ 106 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi