प्रदेश ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु

पहिलोपेज


सुर्खेत । प्रदेश ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य सुरु भएको छ । यो प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट कालीकोटका प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही यसअघि नै संसदीय दलको नेतामा चयन भएका थिए ।

नेता शाहीको नेतृत्वमा यो प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने प्रावधानअनुसार सांसद शाही आन्तरिक गृहकार्यमा जुटेको माओवादी केन्द्र जाजरकोटका सांसद कृष्णा शाहले जानकारी दिए । संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसद्मा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।

त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिए । प्रदेश ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका तर्फबाट २० र माओवादी केन्द्रका तर्फबाट १३ जना सदस्य छन् भने एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो ।

एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ । जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा आठ सदस्यीय मन्त्रिमण्डल हुन्छ । प्रदेश ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : १५:१२:०० 104 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi