जिल्ला कै ठूलो राशीको पुरुष भलिवल प्रतियोगिता सुरु

बिहिबारको खेलमा शिव पशुपति र जनदेउराली विजयी

नारायण भण्डारी

तुलसीपुर ।
दाङको तुलसीपुरमा खुला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । अरनिको मैदानमा सुरु भएको प्रतियोगिताको बिहिबार एक कार्यक्रम बीच उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कोमल वलीले सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

प्रतियोगिताको आयोजक संस्था तुलसीपुर नगर युवा सञ्जालका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल उद्घाटन समारोहमा बोल्दै प्रमुख वलीले देशलाई चिनाउने एक मात्र माध्यम खेलको विकासका लागि आफू प्रतिबद्ध रहेको बताइन् । उनले खेलले स्वाथ्य आर्जन गर्ने भएकाले घर घरमा खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिइन् ।

भविलवकी पूर्व खेलाडी समेत रहेकी वलीले राष्ट्रिय पहिचान बनाउने गरी दाङमा खेलाडी उत्पादनमा लाग्न युवाहरुलाई आग्रह गरिन् । कार्यक्रममा युवा परिषद दाङका अध्यक्ष शुरेस रावतले युवाको नेतृत्व र क्षमता विकासका लागि खेल महत्वपूर्ण भएको बताए । उनले युवालाई कुलतमा फस्नबाट जोगाउन पनि खेल अनिवार्य भएकोमा जोड दिए ।

दुजमान भण्डारी बर्षातको सञ्चालनबाट सुरु भएको कार्यक्रममा नगर युवा सञ्जालका सदस्य रविन वलीले स्वागत मन्तब्य राखेका थिए । दाङ सहित छिमेकी जिल्लाहरुबाट गरी १० वटा समूह सभागी प्रतियोगिता नकआउट वेस्ट थ्रीमा खेलाइएको छ । नगर युवा सञ्जाल आयोजक, तुलसीपुर उपमहानगरपालिका प्रायोजक र विभिन्न संघसंस्थाहरुको सहयोगमा सञ्चालित प्रतियोगिता तीन दिन सञ्चालन हुने छ ।
बिहिबारको खेलमा शिव पशुपति र जनदेउराली विजयी


यसैबीच बिहिबार भएको प्रतियोगितामा शिव पशुपति टोल विकास संस्था तुलसीपुर ८ बेलुवाले राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरलाई हराएको छ । शिव पशुपतिले राप्ती बबईलाई २५–१६ र २५–१८ को सोझो सेटमा हराएको हो ।

यस्तै बिहिबार नै भएको दोश्रो खेलमा जनदेउराली युवा क्लव संक्रमले स्वर्गद्धारी युवा क्लव प्युठानलाई हराएको छ । प्रतियोगिताको पहिलो खेलमा जनदेउरालीले २५–२२ मा स्वर्गद्धारीलाई हराएको थियो भने दोश्रो खेलमा स्वर्गद्धारीले जनदेउरालीलाई २५–२२ मा हराएको थियो । अन्तिम खेलमा स्वर्गद्धारीलाई २५–२१ ले हराउँदै जनदेउराली बिजयी भएको हो ।

शुक्रबार विहान ८ बजे देखि ज्ञानोदय मावि लमही र नोभेक्स कलेज तुलसीपुर बीच प्रतिस्पर्धा हुने खेल संयोजक कमल भण्डारीले जानकारी दिए । प्रतियोगितामा यमन सलामी मगरले मुख्य रेफ्रि र टेकेन्द्र बुढाथोलीले सहायक रेप्रिको भुमिका निर्वाह गरेका छन् । प्रतियोगितामा पहिलो हुनेलाई ६० हजार, दोश्रो हुनेलाई ३५ हजार र तेश्रो हुने समूहलाई २५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यती ठूलो राशीको भलिवल प्रतियोगिता जिल्लामै पहिलो भएको आयोजकको दावी छ ।

प्रकाशित मिति : बिहिवार, माघ २५, २०७४ समय : १८:०८:०२ 59 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi