तीन युवाको लगानीमा सिरुटारमा फुटसल सञ्चालनमा

रमेश गिरी

भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटारका तीन युवाले रु. ६० लाख रुपैयाँको लागतमा निर्माण गरेको फुटसल आजबाट सञ्चालनमा आएको छ । कन्ट्रिसाइड रिक्रियशन सेन्टर फुटसलको आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बस्नेतले अहिलेका युवा वर्गलाई बिदेश पलायन, बिकृति, बिसंगतिमा लाग्नबाट रोक्नु पर्ने बताउँदै विदेश जाने युवाले आफ्नै गाउँमा सुरु गर्ने यस्ता व्यवसायले युवालाई बिकृति, बिसंगतिमा लाग्न समेत रोक्ने बताए । युवावर्ग अगाडि बढे आफ्नो ठाउँको विकास गर्न पाँचवर्ष पनि नलाग्ने बताउँदै बस्नेतले युवाले गर्ने प्रत्येक विकासका काममा आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभाका सदस्य शशीजंग थापाले उपत्यकामा रंगशालाको अभाव खडकिरहेको अबस्थामा फुटसलले केही हदसम्म त्यसको आवश्यकतालाई पूरा गरेको बताए । उनले दधिकोटमा रंगशाला बनाउने प्रस्ताव सकारात्मक रुपमा अगाडि बढेको र यसको प्रक्रियालाई सरकारसमक्ष लगिएकाले यसलाई पूरा गर्न सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा ललितपुरको चाँगाथली युवा क्लबका अध्यक्ष बाबुराजा महर्जनले खेलकुदप्रति युवाको आकर्षण बढ्दै गइरहेको अबस्थामा प्रत्येक प्रदेशमा एउटा रंगशाला आवश्यकता भएकाले यसतर्फ ध्यान दिनुपर्ने भनाई राखेका थिए । फुटसल सञ्चालक समितिका अध्यक्ष धनन्जय श्रेष्ठ युवा वर्गको फुटसलप्रति आकर्षण बढ्दै गएको र युवा वर्गलाई मनोरञ्जन दिन युवाहरुको लगानीमा फुटसल सञ्चालनमा ल्याएको बताए । संचालकद्धय सुदीप राउत र रुपक थापाले युवावर्गको शारीरिक, मानसिक स्वास्थ्यको विकास गर्ने र फुटसल खेलको विकास गर्ने उद्देश्यले फुटसल सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : सोमवार, पौष १०, २०७४ समय : १९:०२:२० 183 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi