२०४८ मा संजमोबाट जितेका यी दुई नेता फेरि प्रतिनिधिसभामा

उदय जीएम

दाड । दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट भारी मतान्तरसहित कृष्णबहादुर महरा विजयी भएका छन् । उता हुम्लाबाट प्रतिनिधिसभामै झिनो मतान्तरसहित छक्कबहादुर लामा विजयी भएका छन् । २०४८ सालको आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट विजयी यी दुई व्यक्तित्व फेरि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

आमनिर्वाचन २०४८ मा रोल्पाबाट कृष्णबहादुर महरा र बर्मन बुढा, हुम्लाबाट छक्कबहादुर लामा, त्यस्तै, लीलामणि पोख्रेल, रुकुमबाट खडगबहादुर बुढा, रामेछापबाट कमानसिंह लामा, काभ्रेबाट कमल चौलागाई लगायत ९ जनताले तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचन जितेर सांसद बनेका थिए । त्यतिबेला जितेका सांसदमध्ये बर्मन बुढा बृद्धावस्थाका कारण प्रत्यक्षरुपमा जनयुद्धमा नहोमिए पनि महरामात्र एक सांसद थिए, जो भूमिगत भएरै जनयुद्धको मोर्चा सम्हाल्न पुगे ।

हुम्लाबाट प्रतिनिधिसभामा विजयी छक्कबहादुर लामा २३ कार्तिक २०७४ सम्म माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य थिए । हुम्लाबाट बागी उम्मेदवारी दिएपछि गत कार्तिक २३ गते लामालाई कारवाही गरिएको थियो । बागी उम्मेदवारी दिएका छक्कबहादुर लामामाथि पार्टीले कारवाही गरे तापनि नेपाली कांग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतको झिनो अन्तरले पराजित गर्न सफल भए । लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् भने शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका आधिकारिक उम्मेदवार छिमी दोर्ची लामाले भने जम्मा २ हजार ८ सय ५६ मतमात्र प्राप्त गरेका छन् ।

यता, दाङ– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा ४० हजार ४२ मत प्राप्त गरी १४१४५ को भारी मतान्तरसहित विजयी भएका छन् । जनयुद्धमा होमिएपछि १० वर्षसम्म भूमिगत भएर जनयुद्धको मोर्चा हाँकेका महरा शान्तिवार्ताका लागि माओवादीतर्फको संयोजक रहेर पनि आफ्नो कुशलता प्रदर्शन गरेका थिए । २०६२÷०६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पनि महरा तत्कालीन दाङ– ३ बाट अत्यधिक बहुमतसहित दोस्रोपटक निर्वाचित भएका थिए । त्यस्तै, दोस्रोपटक भएको संविधानसभा निर्वाचनमा २०७० मा पनि उनी रोल्पाबाट तेस्रोपटक अत्यधिक बहुमतका साथ विजयी भएका थिए । संविधान निर्माण र मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै विकास र समृद्धिको दिशामा लैजाने अठोटसाथ महरा चौथोपटक दाङ– २ बाट भारी मतान्तरले विजयी भएका छन् । यो जीतले कृष्णबहादुर महरा अविराम विजेताका रुपमा दरिएका छन् ।

प्रकाशित मिति : शनिवार, मंसिर २३, २०७४ समय : २२:३८:१० 449 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi