महराले जित्नुपर्ने र दाङवासीले जिताउनुपर्ने ७ अकाट्य कारण

उदय जीएम

मंसिर महिनाको यो चिसो मौसममा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको राप र ताप चढेको छ यतिबेला । मेचीदेखि महाकालीसम्म उत्सवमय यो निर्वाचनले प्रत्यक्ष र परोक्षरुपमा प्रत्येक नेपालीलाई लछप्पै भिजाइसकेको छ । प्रत्येक घरमात्रै होइन व्यक्ति–व्यक्तिलाई यसले छोइसकेको छ ।

संविधानसभाबाट बनेको नेपालको पहिलो संविधान कार्यान्वयनको दोस्रो खुड्किलो ठानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आफैमा ऐतिहासिक महत्व बोकेको छ । यो निर्वाचनमा सबै पार्टीका शीर्ष नेतादेखि जिल्लास्तरका नेताहरुसम्म चुनावी मैदानमा उत्रिएका छन् र जनता उनीहरुको परीक्षा लिइरहेका छन् । १० वर्षे माओवादी जनयुद्ध र फेरि १० वर्षको संक्रमणकाल अर्थात संविधान निर्माणको चरण पार गरेपछि अब आर्थिक विकास तथा समृद्धिको युगमा मुलुक प्रवेश गर्दैछ । त्यसैले “एक भोट त हो नि” भनेर खेलाँची नगरी पार्टी, तिनका नेता र उनीहरुले अगाडि सारेका मुद्दाहरुमा गम्भीरतापूर्वक अध्ययन र धेरै सोचविचार गरेर मात्र मतदान गर्नुपर्ने अवस्था छ ।

दाङको चुनावी मैदान पनि यतिबेला अत्यन्त रोचक बनेको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ गरी ९ जना भाग्यमानीहरुले योपटक आफ्नो भाग्य अजमाइरहेका छन् । मैदानमा मुख्यतः वाम गठबन्धनका ९ जना र नेपाली कांग्रेसका ९ जना उम्मेदवारहरुबीच प्रतिष्पर्धा हुनेछ । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा दाङ– २ बाट उम्मेदवार बनेका छन्, माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा । दाङ र अझ विशेषतः दाङ– २ का जनताले महरालाई आफ्नो उम्मेदवारको रुपमा पाउनु दाङको विकास र समृद्धिका लागि सौभाग्य नै हो भन्दा अत्युक्ति नहोला ।

१. अन्तर्राष्ट्रिय सम्बन्ध
चुनावको मुखमा यो गर्छु र त्यो गर्छु नभन्ने त उम्मेदवार नै पाउन मुश्किल हुन्छ । गर्छु भन्नु र गर्नुमा के फरक हुन्छ ? भनिराख्नु नपर्ला । भित्रैदेखि काम गर्ने चाहना हुँदाहुँदै पनि व्यक्तित्व र पहुँचका कारण मान्छे खुम्चिनुपर्ने वाध्यता आइलाग्छ । इच्छा र चाहना हुँदाहुँदै पनि निरीह बन्नुको विकल्प रहन्न । दाङ– २ ले कृष्णबहादुर महरालाई यस्तो उम्मेदवारको रुपमा पाएको छ कि उनको व्यक्तित्व र सम्बन्ध राष्ट्रियमात्रै होइन अन्तर्राष्ट्रिय जगतमा समेत उत्तिकै फैलिएको छ ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित हुने ९ जना सांसदमध्येका एक हुन् कृष्णबहादुर महरा । संसदीय राजनीतिको अनुभव र त्यसपछिको १० वर्षे जनयुद्धकालमा पार्टी प्रवक्ता र दुईपटकसम्म माओवादीको वार्ता टोलीका संयोजकको रुपमा काम गरे महराले । त्यही कारणले पनि कृष्णबहादुर महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”पछि अन्तर्राष्ट्रिय रुपमा चिनिने, पहुँच तथा सम्बन्ध भएका नेता हुन् । विभिन्न समयमा सरकारको सूचना तथा सञ्चारमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीको रुपमा समेत काम गरिसकेको र हाल सरकारका उपप्रधानमन्त्री समेत रहेकाले महराको व्यक्तित्वको अन्तर्राष्ट्रिय आयाम झनै फराकिलो बनेको छ । महरा परराष्ट्रमन्त्री हुँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो राम्रो छवि प्रस्तुत गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्धमा समेत अब्बल मानिएका महराको त्यो व्यक्तित्व र कुशलता दाङले प्राप्त गर्नु दाङवासीका लागि सुनौलो अवसर हो र उनको जीतसँगै दाङ र दङाली जनता उनको सिङ्गो व्यक्तित्वको हकदार वा मालिक बन्नेछ ।

२. राष्ट्रिय राजनीतिको लगाम
सदनमा बसेर आफ्ना नेताहरुको भाषणमा ताली त जसले पनि बजाउन सक्छ । सडकमा नारा त जोसुकैले पनि लगाउन सक्छ । पार्टीका शीर्ष नेतृत्वलाई प्रभावित गर्नसक्ने, सिङ्गो पार्टीको नीति निर्माण र राष्ट्रिय राजनीतिमा लगाम लगाउन सक्ने तथा सिङ्गो पार्टी पंक्तिलाई दिशानिर्देश गर्ने कुरा जोसुकैको बुताले भ्याउन सक्दैन । यी कुरा गर्नसक्ने एक क्षमतावान र दाङको चौतर्फी विकास तथा समृद्धिका लागि भिजन भएका नेता कृष्णबहादुर महरालाई दाङले प्राप्त गर्नु र महराको सिङ्गो व्यक्तित्व र प्रभावको उत्तराधिकारी दाङ बन्न पाउनु अर्को गौरवको कुरा हो ।

३. माग्ने होइन भाग लगाउने नेता महरा
दाङले लामो समयदेखि सधैंभरि अरुसँग विकास र समृद्धि माग्यो । दाङको चौतर्फी विकासका लागि कांग्रेस नेता खुमबहादुर खड्काले केही गरेको देख्न र सुन्न पाउँछौं । उनले केही गर्नुका पछाडि उनको त्यही राष्ट्रिय व्यक्तित्व तथा राष्ट्रिय राजनीतिमा लगाम र प्रभावले काम गरेको थियो । उस्तै परे आफ्नै पार्टीका शीर्ष नेताले नचिन्ने खालका प्रतिनिधि छान्यौं भने उसले हामीलाई विकास र समृद्धि कसरी दिन सक्छ ? कुवाको भ्यागुतो जति उफ्रे पनि आखिर कुवालाई नै संसार ठानेर बस्ने हो । त्यसकारण अब दाङले अरुसँग विकास र समृद्धिका लागि बजेट माग्ने होइन आफै भाग लगाउनुपर्छ । माग्ने हैन दाड बाँड्ने ठाउँमा पुग्नुपर्छ । त्यसका लागि उपयुक्त पात्र भनेकै कृष्णबहादुर महरा हुन् । महराको जीतसँगै त्यो सुनौलो अवसर दाङले प्राप्त गर्ने दिन अब धेरै छैन ।

४. दाङ र रोल्पाको अविभाज्य सम्बन्ध
चुनावका बेला दाङ र रोल्पाको विषय उठान गरेर विभाजित गर्ने कुत्सित मनशाय नभेटिएका होइनन् । दाङ र रोल्पालाई जतिसुकै विभाजित गर्न खोजिए पनि यी व्यवहारतः अविभाज्य छ । यी दुईको अन्योन्याश्रित सम्बन्धलाई कसैले नजरअन्दाज गर्न सक्दैन । आर्थिक, सामाजिक, राजनीतिक, व्यापारिक, भौगोलिक सबै दृष्टिले दाङ र रोल्पालाई अलग गर्न खोज्नु मुर्खताबाहेक अरु केही हुन सक्दैन ।

जन्मथलो रोल्पा भएकै आधारमा कृष्णबहादुर महरालाई एकाध व्यक्तिहरुले “टुरिष्ट उम्मेदवार” पनि भनेको सुनियो । को कहाँ जन्मिएको हो भनेर तथ्यांक संकलन गर्न थाल्ने हो भने त दाङको तथ्यांक नै फरक आउनसक्छ । दाङका आदिवासी भूमिपुत्रहरु त थारु समुदायमात्रै हो । त्यसपछि आउने हामी सबै टुरिष्ट नै हौं । प्रकृतिको नियमै यस्तै छ कि हामी सबै केही वर्षका लागि आएका टुरिष्ट हौं । जीवनको एउटा निश्चित कालखण्डपछि हामी सबै दाङ छोडेर जाने नै छौं । महरालाई टुरिष्ट भन्नेहरु चाहिँ अजम्मरी हुन् कि ?

५. विभाजक होइन संयोजक महरा
कृष्णबहादुर महरा पहिलेदेखि नै विभाजक होइन संयोजकका रुपमा परिचित छन् । मुलुकको राजनीति अत्यन्त संकटग्रस्त, सम्वेदनशील र नाजुक अवस्थामा पुगेको बेलामा दलहरुबीच एकता र सहकार्यको आवश्यकता खड्किएको समयमा सधैंभरि खोजिइने र सम्झिइने नेता हुन् कृष्णबहादुर महरा । दलहरुबीचको द्वन्द्वले मुलुक दिशाहीन, गतिहीन र निकासविहीन भएको अवस्थामा रोजिने नेता हुन् कृष्णबहादुर महरा । दाङको समग्र विकासका लागि सबै पक्षलाई जोडेर दाङलाई राष्ट्रको वैभवशाली जिल्लाको रुपमा माथि उठाउन उनको व्यक्तित्व दाङवासीका लागि गर्वको विषय हो । प्रतिष्पर्धी अथवा विपक्षी पार्टी र व्यक्तिका गुनासो, माग र विकासका एजेण्डाहरुलाई समेत सहज ढंगले सुन्ने र तिनलाई सम्बोधन गर्ने उदार छाति भएका महरा विपक्षीहरुमै पनि उत्तिकै लोकप्रिय हुनु उनको सबल र उज्यालो पाटो हो ।

६. कृष्णबहादुर महरा र शंकर पोख्रेलको तालमेल
एमालेका स्थायी समिति सदस्य र सिङ्गो एमाले र राष्ट्रको नीति निर्माणमा हस्तक्षेप र प्रभाव पार्नसक्ने नेता हुन् शंकर पोख्रेल । ७ वटा प्रदेशमध्ये हाम्रो ५ नम्बर प्रदेशमात्र यस्तो प्रदेश हो, जहाँ वाम गठबन्धनकै तर्फबाट मुख्यमन्त्रीका रुपमा प्रस्तावित भएका छन् शंकर पोख्रेल । महरा र पोख्रेल दुबैसँग दाङलाई समृद्ध बनाउने खाका र भिजन छ । दुबैजनाको दाङलाई प्रदेशको राजधानी बनाउने र समृद्धि दिलाउने साझा संकल्प छ । अधिकांश स्थानीय सरकार वाम गठबन्धनकै हुनु, दाङका राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्नसक्ने प्रभावशाली नेता शंकर पोख्रेल नै मुख्यमन्त्रीको रुपमा निर्विवादित रुपमा प्रस्तावित हुनु र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निभाउन सक्ने सक्षम नेता कृष्णबहादुर महरा दाङ २ मा आउनु यो अनौठो संयोग हो । तलदेखि माथिसम्म मिलेको यो संयोग दाङवासीका लागि बरदान सावित हुनसक्छ । यस्तो संयोग, तालमेल, सुखद अवसर र योगलाई हामीले दाङवासीको बरदान वा अवसरका रुपमा बदल्न सक्छौं कि सक्दैनौं ? त्यो तपाई हाम्रै हातमा छ । निर्णय गर्ने स्थानमा आज हामी नै छौं । भोलि यी दुई नेताले आआफ्ना पार्टी तथा जनताका सल्लाह र सुझावलाई समेत शिरोपर गर्दै दाङको विकास र समृद्धिका लागि पक्कै अगाडि बढ्ने छन् । साथमा छन्, तत्कालीन त्रिभुवननगर नगरपालिकाका मेयर अमरबहादुर डाँगी । उनको पाको र अनुभवी व्यक्तित्वले अझै सुनमा सुगन्ध थपेको छ । महरा र पोख्रेलको राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व, छवि र उचाईको हकदार तथा मालिक बन्ने हैसियत हामी दाङवासीले राख्नैपर्छ । यसपालिको जस्तो केन्द्र र प्रदेशमा जुन स्तरको नेतृत्व दाङले पाएको छ, त्यो न इतिहासमा भएको थियो न भविष्यमा हुनेवाला छ ।

७. दाङको चौतर्फी विकासमा अग्रसर
भाषण र आश्वासन बाँड्ने नेताहरु त हामीले धेरै देख्यौं, भोग्यौं । तर, कृष्णबहादुर महरा २०७० सालमा रोल्पाबाट विजयी भए तापनि उनले दाङका लागि गरेका ठूला ठूला कामहरुकै लिष्ट बनाउन असम्भव जस्तै छ । झोलामा रहेको नेपाल पत्रकार महासंघ दाङ शाखालाई जग्गा दिलाउनेदेखि भवन निर्माणसम्म महरा सूचना तथा सञ्चारमन्त्री भएकै बेलामा उनकै प्रत्यक्ष पहलमा भएको थियो । महरा हालसम्मकै इतिहासमा दाङमा सबैभन्दा बढी बजेट विनियोजन गर्ने नेता हुन् भन्ने कुरालाई कसैले अस्वीकार गर्न सक्दैन । उनी अर्थमन्त्री हुँदा दाङलाई पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए । वार्षिक करिब १५ करोड बजेट विनियोजन हुने जिल्लामा ५ अर्बको आँकडामा पुग्नु दाङका लागि एउटा ठूलै फड्को हो ।

दाङको विकासमा महराले गरेका केही महत्वपूर्ण कामका बुँदाहरु
१. तत्कालीन महेन्द्र अस्पताल दाङलाई राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति तथा हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना ।

२. दाङ जिल्ला उद्योग वाणिज्य संघले निर्माण गर्न थालेको घोराहीस्थित सिटी हलका लागि बजेट विनियोजन– २६ करोड ७७ लाख ।

३. राप्ती उपक्षेत्रीय अस्पताल भवन निर्माणका लागि बजेट विनियोजन २४ करोड २८ लाख ।

४. घोराही–मुर्कुटी–प्यूठान सडक स्तरोन्नति तथा कालोपत्रेका लागि बजेट विनियोजन– २८ करोड ।

५. घोराही–मसिना–स्यूजा–स्वर्गद्वारी सडक निर्माणका लागि बजेट विनियोजन– १ करोड ४ लाख ।

६. घोराही–क्याम्पसरोड पूर्व–मानवकल्याण टोल–रानीजरुवा–कटुवाखोला सडक कालोपत्रे– ५४ लाख २० हजार ।

७. श्रीगाउँ–जखेरा ताल सडक कालोपत्रे – १ करोड ४ लाख ।

८. झिंगौरा–रतनपुरचोक–तुलसीपुर–घोराही राजमार्ग हुँदै रातामाटा बाँसबोट–होलेरी सडक कालोपत्रे ५४ लाख २० हजार ।

९. गैरागाउँ–क्वाडी हुँदै पचुर्खा सडक कालोपत्रे– ५४ लाख २० हजार ।

१०. लमही–घोराही–तुलसीपुर सडक बिस्तार ।

११. बेलझुण्डी–मानपुर जमुनी हुँदै टरिगाउँ एयरपोर्ट जोड्ने सडक कालोपत्रे– ५८ लाख ।

१२. खैरा–कोठरी–मलवार–गरगरिया गाउँ सडक निर्माण– ५८ लाख ।

१३. बिजौरी–दोघरे–बाँसगढी–ढोडनी सडक– ५८ लाख ।

१४. घोराही बजार शहरी सडक कालोपत्रे– ५ करोड ८ लाख ।

१५. तुलसीपुर शहरी सडक कालोपत्रे– ३ करोड ४ लाख ।

१६. नारायणपुर प्रहरी चौकी–चरबगिया–पतेनी–बिजौरी–होलेरी सडक निर्माण– १ करोड ८ लाख ।

१७. घोराही–चैते सडक (वीपी मार्ग)– १ करोड ४ लाख ।

१८. घोराही–हापुर–रक्षाचौर आँखा अस्पताल खण्डको बटोलपुर–साहीपुर–सुनडबरी सडकखण्डको स्तरोन्नति – १ करोड ४ लाख ।

१९. गोबरडिहा–जंगलकुटी सडक कालोपत्रे – ५४ लाख २० हजार ।

२०. देउखुरी साविक सिसहनिया–३ देखि पश्चिम सोनपुर सडक कालोपत्रे– ५४ लाख २० हजार ।

२१. साविक घोराही–११ रानीजरुवा कटुवाखोला सडक कालोपत्रे– ५४ लाख २० हजार ।

२२. पुरन्धारा बगारपुर–गङ्गटे सडक कालोपत्रे– ५४ लाख २० हजार ।

२३. घोराही बसपार्क–बिजौरी–हलवार सडक– ५४ लाख २० हजार ।

२४. बैबाङ–पोटली हुँदै मखनटाकुरी सडक– ५८ लाख ।

२५. सिसहनिया–करंगे–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक– ५८ लाख ।

२६. गोग्ली–लक्ष्मीपुर सडक– ५४ लाख २० हजार ।

२७. बेलभार–भैंसाही–बर्गद्धी–ओखरा–ढिकपुर सडक कालोपत्रे– ५ करोड ।

२८. अद्वैत संस्था पश्चिम–गोर्खा अस्पताल पूर्व शान्तिनगर टोल सडक कालोपत्रे– ४ करोड ।

२९. घोराही–मसिना–सैघा हुँदै प्यूठान जोड्ने सडक– १ करोड ।

३०. दाङ दुईखोली–रोल्पा मसिना–धौलाबाङ–लिबाङ सडक – १ करोड ।

३१. तुलसीपुर बाहिनीचोक–एयरपोर्ट सडक कालोपत्रे– ५४ लाख २० हजार ।

३२. शिवमन्दिर चोक–घोराही हुँदै बालापुर सडक – ३ करोड ४२ लाख ।

३३. घोराही–हरिद्वार–बर्गद्धी सडक– ५४ लाख २० हजार ।

३४. सतबरिया–बनघुस्री–राप्ती नदी सडक– ५४ लाख २० हजार ।

३५. गोग्ली–लक्ष्मीपुर सडक– ५४ लाख २० हजार ।

३६. अम्बापुर–घोरदौरा सडक – ५४ लाख २० हजार

३७. तुलसीपुर रानीघाट–बनहरी सडक– ५४ लाख २० हजार ।

३८. चौघेरा–डबरी सडक– १ करोड ४ लाख ।

३९. घोराही–धारपानी सडक कालोपत्रे– १ करोड ८ लाख ।

४०. घोराही–फुर्सेखाली–हात्तीखर्क सडक– १ करोड ८ लाख ।

४१. मौरीघाट पुरानो रिङरोड देउखुरी सडक– १ करोड ४ लाख ।

माथिका तथ्य र कामहरुले आफै बोल्छन्– महरा भाषण गर्ने र आश्वासन बाँड्ने हैन कामै गर्ने नेता हुन् । राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने सक्षम नेतालाई प्रतिनिधिसभामा र भावी मुख्यमन्त्रीको रुपमा राष्ट्रिय राजनीति र पार्टीभित्रै पनि उत्तिकै प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने हैसियत भएका शंकर पोख्रेललाई प्रदेशसभामा पठाउन पाउनु र यी दुई शक्तिशाली नेताहरुको एकमात्र अभिभावक, हकदार र भाग्यको फैसला गर्न पाउने दाङवासी साँच्चिकै भाग्यशाली छौं । शंकर पोख्रेल हाम्रो प्रदेशको अति महत्वपूर्ण नेतृत्वमा पुगेपछि उनका हरेक निर्णय र नीतिहरु दाङलाई केन्द्रभागमा राखिएका हुनेछन् भन्ने कुरामा पनि कुनै शंका छैन ।

प्रकाशित मिति : सोमवार, मंसिर १८, २०७४ समय : २१:३६:३४ 219 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi