देशभरबाट ८ जना पत्रकार पक्राउ : रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभरबाट ८ जना पत्रकारहरुलाई पक्राउ गरिएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालले एक विज्ञप्ति जारी गरी समाचार संकलनका क्रममा बिनाकारण पत्रकारहरुलाई पक्राउ गरिनुले मौलिक अधिकारलाई राज्यले ठाडै उल्लंघन गर्दै संविधानलाई कागजी खोस्टामा परिणत गरेको आरोप लगाएको छ ।

केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जारी गरेको विज्ञप्तिमा समाचारबाट त्रसित भई थुनामा राख्ने सरकारको यस प्रवृत्तिविरुद्ध नेपाल पत्रकार महासंघसहित सम्पूर्ण संघसंस्था, पत्रकार र सञ्चारमाध्यमलाई आवाज उठाउन आग्रह गरिएको छ । विज्ञप्तिमा विना कारण गिरफ्तार गरी जेलमा राखिएका पत्रकारको रिहाई तथा उनीहरुको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगसहितका मानवअधिकारवादी संघसंस्थालाई आग्रह पनि गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ :
रुपन्देहीबाट प्रकाशित हुने गर्जन पोष्ट साप्ताहिक पत्रिकाका सम्पादक पत्रकार प्रकाश डुम्रेलाई आज दिउसो रुपन्देहीबाट गिरफ्तार गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनबाटै पत्रकार डुम्रेलाई पक्राउ गरिएको हो । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समिति सदस्य तथा लुम्बिनी अञ्चल संयोजक र नेपाल पत्रकार महासंघ रुपन्देही जिल्ला शाखाका कार्यसमिति सदस्य रहनुभएका पत्रकार डुम्रेको गिरफ्तारी प्रेसमाथि सरकारले गरिरहेको श्रृङ्खलाबद्ध हस्तक्षेपको पछिल्लो कडी हो ।

त्यसैगरी हिजो सोमबार मात्र कालिकोटबाट प्रकाशित हुने हुने जनप्रभात साप्ताहिक पत्रिकाका समाचार प्रमुख जगदिशनाथ योगीलाई सदरमुकाम मान्ममा रहेको पत्रिकाको कार्यालयबाटै पक्राउ गरिएको छ । सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई पनि केही दिन अघि कार्तिक २९ गते सदरमुकाम मान्मबाटै गिरफ्तार गरिएको थियो ।

त्यस्तै मंसिर ३ गते आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनका बारेमा रिपोर्टिङका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका मध्यान्ह दैनिकका पत्रकार दिपेश शाहीलाई अस्पताल परिसरबाटै पक्राउ गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट प्रकाशित हुने हाम्रो जलजला मासिकका सम्पादक खेम थपलियालाई बागबजारमा रहेकोे प्रगतिशील लेखक संघको कार्यालयमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ गरिएको छ । काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका निहिगु ज्वजोलोप्पा पत्रिकाका सम्पादक जितेन्द्र महर्जनलाई किर्तिपुरस्थित घरबाटै पक्राउ गरिएको छ । त्यस्तै ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।

साथै अन्य थुप्रै पत्रकारहरुलाई गिरफ्तार गर्ने प्रयत्न गरिएको सूचना हामीलाई प्राप्त भएको छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने पत्रकारहरुको सूची बनाएर ती पत्रकारका घर, कार्यालय तथा अन्य स्थानमा पनि खोजि गर्ने, पत्रकारका घरपरिवारका अन्य सदस्यलाई सोधपुछ गरेर मानसिक यातना दिने कार्य पनि तीब्र पारेको छ । हामी सरकार र नेपाल प्रहरीका विभिन्न निकायबाट भइरहेको यसखालका निरङ्कुश र अमानवीय कार्यको घोर भत्र्सना एवं निन्दा गर्दछौं र पक्राउ गरिएका ८ जना पत्रकारहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं । नेपालको मौजुदा संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ । त्यसैगरी कुनै पनि राजनैतिक आस्था विचार अंगाल्न पाउने स्वतन्त्रतालाई पनि मौलिक अधिकारका रुपमा व्यवस्था गरिएको छ । तर, वर्तमान सरकार संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारको ठाडै उल्लंघन गर्दै संविधानलाई कागजी खोस्टामा सीमित गरिरहेको यसबाट प्रष्ट हुन्छ । पत्रकारले लेख्ने समाचारबाट त्रसित भई थुनामा राख्ने सरकारको यस प्रवृतिप्रति हामी सम्पूर्ण नेपाल पत्रकार महासंघसहित सम्पूर्ण संघसंस्था, पत्रकार र सञ्चारमाध्यमलाई आवाज उठाउन आग्रह गर्दछु । साथै विना कारण गिरफ्तार गरी जेलमा राखिएका पत्रकारको रिहाई तथा उनीहरुको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगसहितका मानवअधिकारवादी संघ संस्थालाई आग्रह गर्दछौं ।

प्रकाशित मिति : बुधवार, मंसिर ०६, २०७४ समय : १३:१३:५९ 67 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi