सिंगो दाङको खेल क्षेत्रलाई निरुत्साहित गर्ने समाचार : फुटबल संघ

पहिलोपेज

दाङ । दाङ जिल्ला फुटबल संघले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी एउटा अनलाइनले प्रकाशित गरेको समाचारले सिंगो दाङको खेल क्षेत्रलाई निरुत्साहित गराएको बताएको छ । संघका अध्यक्ष भूपेन्द्रविक्रम थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो अनलाइन कहाँबाट कसले सञ्चालन गर्छ र जिल्लाबाट यो अनलाइनमा कसले समाचार पठाउँछ भन्ने पनि थाहा नहुँदा समाचारको खण्डन गर्न समस्या भएकाले सार्वजनिकरुपमै विज्ञप्ति प्रकाशित गरी समाचारको खण्डन गरिएको जनाइएको छ ।

विज्ञप्तिको पूर्णपाठ :

“आदरणीय पत्रकार मित्रहरु !दाङ जिल्ला फुटबल संघ फुटबल खेलाडीहरुको साझा संस्था हो । दाङको फुटबल विकास र विस्तारका साथै खेलाडीको हकहितका लागि यसले निरन्तर योगदान गर्दै आएको छ । निकट भविष्यमा दाङमा हुन गइरहेको साफ च्याम्पियनसीप छनौट फुटबल प्रतियोगिता (पुरुषतर्फ)को तयारीमा संघ जुटिरहेको छ । यो छनौटको अवसर दाङमा आउनु हाम्रा लागि गौरव बिषय हो ।

यसैक्रममा भरतपुर मैदानमा तयारीको काम भइरहेको छ । जसअन्तर्गत खेल क्षेत्रलाई माया गर्ने थुप्रै व्यक्तिहरुले स्वयंसेवा गरिरहनुभएको छ भने केहीले आर्थिक सहयोग पनि गरिरहनुभएको छ । अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ । खेल मैदान तयारी भइरहेको क्रममा विभिन्न राजनीतिक दलका नेताहरुले निरीक्षण र सहयोगको प्रतिबद्धता पनि जनाइनुभएको छ । मैदान निर्माण र दाङको फुटबलको विकासका लागि आउने सम्पूर्ण सहयोग हाम्रा लागि स्वागतयोग्य हुनेछ । यो सँगसँगै कतिपय क्षेत्रबाट आउने नकारात्मक टिप्पणीले हामीलाई दुःखित तुल्याएको छ । मैदान निर्माणका क्रममा आएका प्रतिबद्धतालाई गलत अर्थ लगाएर कतिपय अनलाइनले गरेको प्रचारवाजीप्रति दाङ जिल्ला फुटबल संघ खेद प्रकट गर्दछ ।

मैदान निर्माणका क्रममा पूर्व तथा वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताप्राप्त विभिन्न खेलका खेलाडीहरु दिनरात नभनी श्रमदानमा जुटिरहनुभएको छ । यसको खेल क्षेत्र र समाजले उचित मूल्यांकन गर्ने नै छ । पवित्र मनका साथ खेल क्षेत्रको विकास गर्नुपर्छ भनेर यति महत्वपूर्ण काममा जुटिरहेका पूर्वराष्ट्रिय खेलाडी नरेन्द्र पुन मगरमाथि रिपब्लिका दैनिक नामक एक अनलाइनले लगाएको आक्षेपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो अनलाइन कहाँबाट कसले सञ्चालन गर्छ र जिल्लाबाट यो अनलाइनमा कसले समाचार पठाउँछ भन्ने पनि थाहा नहुँदा हामीलाई समाचारको खण्डन गर्न समस्या भएकाले सार्वजनिकरुपमै यो समाचारको खण्डन गर्न चाहन्छौं ।

पत्रकार मित्रहरुलाइ यो जानकारी गराउन चाहन्छौं कि नरेन्द्र पुन मगर यस्तो खेलाडी हो, जसले दाङको प्रतिनिधित्व गरेर मध्यपश्चिममा पहिलो टीम बनाउँदै राष्ट्रिय खेलमा सहभागी भएर दाङको शान र गौरव कायम गर्नुभएको थियो । उहाँमाथि आक्षेप लगाउनुलाई हामीले खेल क्षेत्रमाथिकै आक्षेपको रुपमा लिएका छौं र आगामी दिनमा यस्ता आधारहीन, कपोलकल्पित र भ्रामक समाचार दिँदा खेल क्षेत्र र खेल क्षेत्रमा लाग्न चाहने प्रतिभालाई नै निरुत्साहित गर्ने खतरा रहेकाले यसप्रति सम्पूर्ण सञ्चार क्षेत्रको ध्यान जाओस् भन्ने विनम्र अनुरोध पनि गर्न चाहन्छौं । साथै यसरी सिंगो दाङको खेल क्षेत्रलाई निरुत्साहित गर्ने यो समाचारप्रति नेपाल पत्रकार महासंघलगायत सम्बद्ध सरोकारवाला संस्थाको ध्यानाकर्षण पनि गराउन चाहन्छौं ।

उक्त अनलाइनले आर्थिक बिषयमा उठाएको सवाल पनि हामी स्पष्ट गर्न चाहन्छौं । मैदान निर्माणका क्रममा विभिन्न व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ । यसका लागि जिल्ला फुटबल संघका सदस्य बुद्धिराम पुनलाई फुटबल मैदान ब्यवस्थापन समितिको संयोजक तोकिएको छ र उहाँले सम्पूर्ण आयव्यय सुरक्षित राखिरहनुभएको छ । फूटबल मैदान ब्यवस्थापनपछि सबै सहयोगी दाताको नाम र सहयोग रकम सार्वजनिक गरिने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं । हाम्रो यस स्वयंसेवी काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै थप सहयोगको अपेक्षा राख्दछौं ।

भूपेन्द्रविक्रम थापा
अध्यक्ष”
मितिः २०७४/०८/०२

प्रकाशित मिति : शनिवार, मंसिर ०२, २०७४ समय : १९:३५:४३ 153 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi