नेकपाका थप चार जना कार्यकर्ता पक्राउ (नाम सहित)

नारायण भण्डारी

तुलसीपुर

दाङ प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका थप चारजना कार्यकर्तालाई पक्राउ गरेका जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले मंगलबार अपरान्ह ५ बजेतिर तुलसीपुर ३ दमारगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको प्रहरीले पहिचान खुलाएको छैन ।

‘चारजनालाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान भइरहेको छ, उनीहरुको पहिचान नखुलाउनु भन्ने माथिको आदेश छ,’ इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत एकजना प्रहरी अधिकारीले भनेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी निकट श्रोतले भने आफ्ना चारजना कार्यकर्तालाई प्रहरीले विना कारण पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा नेकपाका कार्यकर्ताहरु रिम विक, आकाश विक, चेत बहादुर विक र थर खुल्न नसकेका डण्डबीर रहेका छन् ।

उनीहरु चारैजना तुलसीपुर ३ दमारगाउँका स्थानियवासी भएको पनि नेकपा निकट श्रोतले जनाएको छ । कुनै कार्यक्रम वा गतिविधी नगरी गाउँको चोकमा जम्मा भएको समयमा प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाका एकजना नेताले बिरोध जनाएका छन् । उनले पक्राउ परेकाहरुको बिनाशर्त रिहाइ गर्न पनि माग गरेका छन् ।

यसअघि दाङ प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका बबई गाउँ कमिटीका सेक्रेटरी निमबहादुर डाँगीलाई सोमबार राती गरेको थियो । बबई गाउँपालिका वडा नं. ५ का ३२ वर्षिय निमबहादुर डाँगीलाई प्रहरीले गयराति उनकै घरबाट पक्राउ गरेको हो ।

डाँगीलाई पक्राउ गरेकोमा नेकपाको बिरोध


यसैबीच नेपाल कम्युनिष्ट पार्टी दाङले बबई गाउँ कमिटीका सेक्रेटरी डाँगीलाई प्रहरीले विना कारण पक्राउ गरेको भन्दै निःशर्त रिहाइएको माग गरेको छ ।

जिल्ला सेक्रेटरी सविनले मंगलबार एक बक्तब्य जारी गरी आफ्नै घरमा सुतिरहेका डाँगीलाई मध्यरातमा अपहरणको शैलीमा नियन्त्रणमा लिएर देउवा सरकारले आफ्नो असली रुप प्रर्दशन गरेको बताएका छन् ।

विज्ञप्तीमा डाँगीलाई तत्काल रिहा गर्न प्रहरी प्रशासन समक्ष माग गरिएको छ भने नागरिकको अधिकारका पक्षमा आवाज उठाउन मानव अधिकार कर्मीहरुलाई आग्रह गरिएको छ ।
पत्रकारको गिरफ्तारीको बिरोध
प्यूठाबाट दुई पत्रकारलाई प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठनले आपत्ति जनाएको छ । ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदम प्रसाद पोख्रेललाई अनाहकमा गिरफ्तार गरेको भन्दै संगठनले गैरकानुनी तथा स्वेच्छाचारपूर्ण गिरफ्तारीको बिरोध गरेको हो ।

संगठनका अध्यक्ष प्रभात चलाउने जारी गरेको बिज्ञप्तीमा राज्यको जिम्मेवार निकायमा रहेका व्यक्तिहरुले लेख्न र बोल्न पाउने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुका साथै मानवअधिकारको समेत गम्भीर उल्लंघन गर्नु निन्दनीय घटना भएको उल्लेख छ ।।

 

प्रकाशित मिति : मङ्गलवार, कार्तिक २८, २०७४ समय : १९:११:११ 149 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi