आयोगले आचासंहिता कार्यान्वयन गराउन सकेन : केसी

पहिलोपेज

तुलसीपुर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले निर्बाचन आयोगले आचासंहिता कार्यान्वयन गराउन नसकेको बताएका छन् । प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला शाखा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले सत्तारुढ दलहरुले आचासंहिता उलंघन गरिरहँदा पनि आयोग निरिह बनेको बताएका हुन् ।

‘आचारसंहिताको पालना गर्ने गराउने निकाय नै रमिते बनेको छ, सरकार र सरकारमा सामेल भएका दलहरुले नै आचारसंहिता उलंघन गर्दा निर्बाचन आयोग केही बोल्न सक्दैन’ केसीले भने । ‘बाढी पीडितलाई तत्काल दिनुपर्ने राहत आज सम्म रोकेर राखेको सरकारले चुनावको मुखमा साढे ४ अर्ब बाड्दै छ, यो जसरी पनि निर्बाचन जित्ने दाउँ हो’, केसीले भने ।

निर्वाचन आयोग जस्ता कानुन कार्यान्वयन गराउने निकाय स्वतन्त्र हुनुपर्ने भएपनि यो वा त्यो वहानामा सरकारले हस्तक्षप गरेको उनले बताए । कार्यक्रमका प्रमुख बक्ता रहेका केसीले संघीयताको ब्यवस्थापनका लागि १६ खर्ब चाहिने भएकाले संघीयता सबैका लागि घाँडो भएको दोहो¥याए । ‘हामीले त पहिले देखि यसको बिरोध गर्दै आइरहेका छौं, यसलाई बोकेर हिंडेका दलहरुलाई पनि गलपासो भएको छ’, केसीले भने ।

‘नेपाललाई संघीयताको भारी बोकाउनेहरुले संघीयताको व्यवस्थापनका लागि लगानी गरेपनि त्यसको फाइदा उठाउन उनीहरुले भनेको जस्तो गर्न चाहान्छन्, यसले राष्ट्रियतालाई कमजोर पार्ने छ,’ उनले भने । बर्षौ देखि मिलेर बसेको समाजलाई जातीय र क्षेत्रीयताका नाममा बिभाजन गर्न संघीयता भित्राइएको भन्दै केसीले प्रदेश र केन्द्र सरकारको खर्च धान्ने सामर्थ नभएको देशमा तीन तहको सरकारको कामै नभएको दावी गरे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नीति सिद्धान्त मिल्नेहरु एक ठाउँमा आउनु र चुनावी गठबन्धन गर्दा कसैले टाउको दुखाउन आवश्यक नभएको बताए । ‘नीति सिद्धान्त, बसउठ, खानपान सबै मिलेपछि अलग अलग बस्न आवश्यक छैन, एकैठाउँ बसे हुन्छ, यसमा काङ्ग्रेस तर्सनु पर्ने केही छैन’ उनले भने ।

आफ्नो पार्टील बिगत देखि नै संघीयताको बिरोध गरिरहेको भन्दै केसीले चुनाव जित्नका लागि जस्तोसुकै हत्कण्डा अपनाउने घृणित खेलका कारण निष्ठा र त्यागको राजनीति ओझेलमा परेको केसीले बताए । ‘चुनाव जित्नका लागि यहाँ जे पनि गरिन्छ, ठेकेदार, बैङ्क सञ्चालक, जग्गा दलाल देखि ब्यापारीले टिकट पाएका छन्, उनीहरुले आधारभूत बर्गका जनताको राजनीति कसरी गर्न सक्छन्,’ केसीले प्रश्न गरे ।

संसदीय व्यवस्थामा पैसा हुनेहरु सत्तामा पुग्ने भएका कारण यो जननताको पक्षमा नहुने भन्नै केसीले समाजवादमा पुग्नका लागि पनि बिचार मिल्ने बाम शक्तिबीच एकता अनिबार्य भएको बताए । ‘जहानीय राणशासन, राजतन्त्र जस्ता पारिवारीक शासन भन्दा यो ब्यवस्था केही प्रगतिशील भएपनि यसमा आफ्नो पार्टीको विमती रहेको केसीले बताए ।

प्रगतिशील पत्रकार संघ जिल्ला शाखा दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष नारायण भण्डारीले सहजिकरण र उपाध्यक्ष बलदेव विश्वकर्माले स्वागत गरेका थिए ।

प्रकाशित मिति : मङ्गलवार, कार्तिक २८, २०७४ समय : १०:५६:३० 59 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi