रोल्पा–रुकुममा सुरक्षा चुनौति ह्वात्तै बढ्यो : के होला निर्वाचन ?

उदय जीएम

दाङ । पहिलो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम–रोल्पामा माओवादी केन्द्रका उम्मेदवारहरुमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेका छन् । पछिल्लो ३ दिनमा माओवादी केन्द्रका उम्मेदवार तथा प्रभावशाली नेताहरु जनार्दन शर्मा “प्रभाकर” र वर्षमान पुन “अनन्त”माथि प्रत्येक दिन आक्रमण हुँदा सुरक्षा चुनौति ह्वात्तै बढेको छ । यस्तो स्थितिमा संविधान कार्यान्वयनको अभियानको रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको के हुने होला ? यो प्रश्न गम्भीर बनेर तेर्सिएको छ ।

पछिल्लोपटक आइतवार रोल्पाको दुईखोली– ३ केवरी खोलामा माओवादी केन्द्रका नेता तथा रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार वर्षमान पुन “अनन्त” र उनको प्रचार टोलीमाथि गोली प्रहार भएको छ । दुईखोली गाउँपालिका– ६ बागमारामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा करीव डेढ किलोमिटर अगाडि केवरी खोला जंगलबाट पुनमाथि गोली प्रहार भएको थियो । स्थानीयवासीहरुले करीव ९ राउण्ड गोली चलेको बताएका छन् ।

आक्रमणकारीहरुले भीरबाट ढुंगा लडाएर पनि नेता पुनको टिमलाई रोकेका थिए । नेता पुनको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले पनि ५ राउण्ड जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । फुयाँलका अनुसार कुनै पनि क्षति भएको छैन । नेता पुनको सम्पूर्ण टिम सकुशल रहेको र चुनावी सभा सम्पन्न भएको प्रहरी नायव उपरीक्षक फुँयालले बताए ।

कार्तिक २४ गते माओवादी केन्द्रका नेता तथा बिना विभागीय मन्त्री तथा प्रतिनिधिसभाका लागि पश्चिम रुकुममा वाम गठवन्धनका तर्फबाट उम्मेदवार जनार्दन शर्मा “प्रभाकर” लगायतका उम्मेदवारहरुमाथि बम प्रहार भएको थियो । भोलिपल्ट २५ गते शनिवार रोल्पामा नेता पुनसहित वाम गठवन्धनका उम्मेदवारहरुको टोलीलाई लक्ष्यित गरी माइन विष्फोट गराइएको थियो । लगत्तै आइतवार पनि नेता पुनको टोलीमाथि गोली प्रहार गरिएको छ । आइतवार पुनको टोलीमाथि गोली प्रहार गरिएको केवरी नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द “विप्लव”को जन्म ठाउँ हो । यद्यपि, यी कुनै पनि आक्रमणका घटनाको जिम्मेवारी औपचारिकरुपमा नेकपाले लिएको छैन ।

चुनावको मुखैमा माओवादी केन्द्रका नेता तथा वाम गठवन्धनका उम्मेदवारहरुलाई लक्ष्यित गरी भएका श्रृंखलावद्ध आक्रमणका घटनाले सुरक्षा चुनौति ह्वात्तै बढेको छ । भोलि २७ गते सोमवार माओवादीको उद्गम थलो तथा विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र ठानिएको थवाङमा नेता पुनको चुनावीसभा छ । थवाङ गाउँपालिकाको कार्यपालिका बैठकको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” थवाङ जाने कार्यक्रम भएपछि गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती नै विप्लवका कार्यकर्ताहरुको अपहरणमा परेका थिए । थवाङमै चुनावी सभालाई सम्बोधन गर्न नेता वर्षमान पुन “अनन्त” पुग्दा विप्लवको नेकपाले झनै हर्कत देखाउने अनुमान पनि गरिएको छ ।

वाम गठनबन्धनका उम्मेदवारहरुमाथि श्रृंखलावद्ध आक्रमण भए तापनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन आफूहरु प्रतिवद्ध र तयारी अवस्थामा रहेको रोल्पाका प्रहरी प्रमुख फुँयालले बताए । “उम्मेदवार र मतदाताहरुको सुरक्षा र निर्वाचन सफल बनाउनका लागि आवश्यक सुरक्षा योजना बनाएका छौं । सफलतापूर्वक निर्वाचन गराउन सकिन्छ”, प्रहरी प्रमुख फुँयालले भने । नेता पुन र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई बारम्बार टेलिफोन गर्दा पनि सम्पर्क हुन सकेन ।

यता, माओवादी केन्द्रका महासचिव, उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका लागि दाङ– २ का उम्मेदवार कृष्णबहादुर महराले रोल्पा र रुकुममा आफ्नो पार्टीका नेता तथा उम्मेदवारहरुमाथि श्रृंखलावद्ध बम विष्फोट, माइन विष्फोट, गोली प्रहार, ढुंगामुढा लगायतका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । पूर्वगृहमन्त्री, पूर्व सूचना तथा सञ्चारमन्त्री, पूर्वअर्थमन्त्री र निवर्तमान परराष्ट्रमन्त्री समेत रहेका महराले भने, “निर्वाचन सफल बनाउन थप गम्भीर हुँदै सबै उम्मेदवार र मतदाताको पूर्ण शान्तिसुरक्षाको प्रवन्ध मिलाउन गृहप्रशासनको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले यी घटनाबाट आतंकित नहुन तथा संयमता र धैर्यतासाथ संविधान कार्यान्वयनको अभियानमा सक्रिय सहभागिता जनाउन आम जनसमुदायमा अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०७४ समय : २१:२३:१६ 174 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi