को हुन् शंकर पोखरेल ? किन उनलाई मुख्यमन्त्रीकै रुपमा प्रस्ताव गरियो ?

पहिलोपेज

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शंकर पोख्रेल दाङ– २ को (क)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । एमालेका प्रभावशाली नेता पोख्रेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीकै रुपमा प्रस्ताव गरिएको छ र भावी मुख्यमन्त्रीकै रुपमा प्रचारको गतिलाई तीब्र पारिएको छ । वाम गठवन्धनले बहुमत प्राप्त गरेमा नेता पोख्रेल ५ नम्बर प्रदेशको मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीकै रुपमा प्रस्तावित शंकर पोख्रेल को हुन् ? किन उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरियो ? सरसर्ती हेर्दा शंकर पोख्रेल देशविदेशमा सुपरिचित नाम नै हो । उनलाई चिनाउन उनको नामै काफी छ । यद्यपि सबैलाई उनको सबै पक्षबारे जानकारी नहुन पनि सक्छ । यहाँ पढौं, ५ नम्बर प्रदेशका मुख्यमन्त्रीका रुपमा प्रस्तावि एमाले नेता शंकर पोख्रेलबारे–

“नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गर्नुभएको छ । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । विक्रम सम्वत २०१९ फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मनु भएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/४६ मा पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेल्नु भएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंको मोर्चाबाट आन्दोलनको नेतृत्व गर्नुभएको थियो । गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उहाँ प्रमुख वक्ता हुनुहुन्थ्यो । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नु भएको थियो । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उहाँको सक्रिय सहभागिता रहने गर्दथ्यो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको थियो । संविधान सभामार्फत राज्यको पुनर्संरचना आवश्यक रहेको निष्कर्षका साथ उहाँले पार्टीमा राज्य पुनर्संरचनासम्बन्धी लिखित दस्तावेज प्रस्तुत गर्नु भएको थियो । राज्यको पुनर्संरचना सम्वन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नु भएका पोखरेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रीकरण सम्बन्धमा उहाँले प्रस्तुत गर्नु भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशल वक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गर्नुभएका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ । आर्थिक, सामाजिक, विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक, सामाजिक, विकास र रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्ने उहाँ यतिबेला नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फबाट ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा प्रस्तावित हुनु भएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नुभएका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

हाल पार्टीमा पोखरेलले पार्टी स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय हुनुहुन्छ । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्नसक्ने नेताहरुमध्ये एक हुनुहुन्छ । विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नु भएका पोखरेलले सूचना तथा संचारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उहाँले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउनु भएको छ । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहहरुको सम्पादन पनि गर्नु भएको छ । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उहाँको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन गर्नु भएको थियो । पटकपटक जेल र दर्जनौपटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये हुनुहुन्छ । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुनुहुन्छ । उहाँहरुका दुई छोरी छन् ।

संक्षेपमा शंकर पोखरेलः

  • विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान  ।
  •  त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गर्नुभएका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
  • आर्थिक, सामाजिक, विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात ।
  • ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
  • हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य , पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा संचारमन्त्रीको जिम्मेवारी बहन ।
  • नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का तर्फबाट ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा प्रस्तावित ।
  • नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
  • जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
  • विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
  • अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
  • अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
  • २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५÷४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका ।
  • २०६२/६३ को जनआन्दोलनमा काठमाडौंको मोर्चाबाट आन्दोलनको नेतृत्व  र गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता  ।
  • माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व ।
  • माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
  • एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।ड्ड राज्यको पुनर्संरचना सम्वन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
  • आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रीकरण सम्वन्धमा प्रस्तुत गर्नु भएको पूरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार ।
  • केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन ।
  • साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ युग लहर, सिमाना पारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
  • नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका, पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।”
  • प्रस्तुतिः अजय शर्मा
प्रकाशित मिति : बिहिवार, कार्तिक २३, २०७४ समय : १७:११:३२ 264 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi