अक्टोबर क्रान्ति र नेपालको कम्युनिष्ट आन्दोलन

प्रमोद धिताल

भूमिका

विश्वमा भएका उथलपुथलकारी राजनीतिक क्रान्तिहरुको इतिहासमा चारवटा घटनारुले दूरगामी महत्व राख्दछन् । ती हुन् पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनीया क्रान्ति तथा महान सर्वहारा साँस्कृतिक क्रान्ति । ती मध्य सन् १९१७ अक्टोबर २५ (नयाँ क्यालेण्डर अनुसार नोभेम्वर ७) को रुसमा भएको अक्टुबर क्रान्ति बीसौं सताब्दीका घटनाहरुमध्यको एउटा यस्तो घटना हो, जसले दुनियाको ध्यान अभूतपूर्व रुपमा आफूतिर तान्न सफल भयो । सन् १७७६ को अमेरिकी क्रान्ति र १७८९ को फ्रान्सिसी क्रान्तिपश्चात एउटा यस्तो क्रान्तिकारी घटना थियो, जसले आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक र वैचारिक धरातलमा वैश्विक स्तरमा बदलावको एक नयाँ प्रक्रिया सुरु ग¥यो । यस आलेखको उदेश्य अक्टुबर क्रान्तिका समग्र ऐतिहासिक पाटा पक्षहरु केलाउने नभै उक्त क्रान्तिले रसियन भूमि देखि विश्व कम्युनिष्ट आन्दोलनको लागि दिएको योगदान र नेपाल लगायत अन्य मुलुकका कम्युनिष्ट आन्दोलनहरुको निम्ति समेत अक्टुबर क्रान्तिको महत्व किन छ भन्नेमा केन्द्रित छ । मजदूर, किसान तथा सर्वहारा वर्गको आफ्नै  सहभागितामा सो वर्गले आफूलाई शासन सत्ताको मालिकको रुपमा स्थापित गरेको अक्टुबर क्रान्तिलाई हेर्ने सवालमा दुई अतिवादी दृष्टिकोणहरु देखिन्छन् । एउटा प्रवृत्ति जो समाजवादविरोधी शक्तिहरुदेखि लिएर समकालीन विचारक, नववामपन्थी तथा नवमाक्र्सवादी चिन्तक तथा उत्तरआधुनिकतावादीहरुसम्म सधैंको लागि बन्द भैैसकेको अध्यायको रुपमा लिने गर्छन् । आजको सन्दर्भमा सो क्रान्ति र त्यसले दुनियामा छोडेको प्रभावको कुनै औचित्य नभएको जिकिर गर्छन् । कम्युनिष्ट आन्दोलनिभित्रै पनि यस्ता प्रवृत्तिहरु विद्यमान छन् । जसले सोभियत समाजवादको आलोचनात्मक विवेचनाको आवश्यकतालाई महत्व दिदैनन् । ती मध्य एकथरि सोभियत समाजवादमा भएको त्रुटिहरुलाई आकस्मिक घटनाको रुपमा लिन्छन्, गलतीहरु यसकारणले भए कि समाजवादी प्रयोगका उदाहरणहरु उनको सामु थिएनन । पार्टीभित्र विद्यमान राजनीतिक विचारधारात्मक त्रुटीहरुको तर्फ कुनै ध्यान दिदैनन् जसको विरुद्ध लेनिनले संघर्ष चलाएका थिए र स्टालिनले पनि संघर्षलाई जारी राखेका थिए । अर्कोतिर कम्युनिष्ट आन्दोलनभित्र यस्ता पात्र र प्रवृत्तिहरु पनि छन् जो बोल्शेविक पार्टीको आलोचनाको जिम्मेवारी त लिन्छन् तर सर्वहारा कम्युनिष्ट दृष्टिकोणको हिसाबले जुन कुराको प्रशंसा गरिनुपथ्र्यो त्यही कुराको आलोचना गर्छन् । भयानक प्रतिकूलताहरुको बाबजुद आन्तरिक संकट र बाह्य दबाबहरुसँग संघर्ष गरेर बोल्सेविक पार्टीले विजय हाँसिल गर्न सफल भएको थियो । कोही लेनिनको समयमा नै पार्टी एक नोकरशाह बुर्जुवा पार्टीमा परिणत भएको दाबी गर्छन् भने कोही स्टालिनकालमा । अतः दोस्रो प्रवृत्तिभित्र धेरै खाले विविध मतहरु देखिन्छन् । फेरि पनि यी दुवै चिन्तन प्रवृत्तिहरुमा एउटा साझा प्रवृत्ति भेटिन्छ, त्यो भनेको सोभियत संघमा समाजवादी प्रयोगको प्रश्न एउटा हल भैसकेको प्रश्न हो । एकथरि यसलाई पूर्ण रुपमा आत्मसात गर्दै हल भैसकेको ठान्छन् भने अर्कोथरि यसलाइ खारेज गर्दै हल भैसकेको ठान्छन् ।

अक्टोबर क्रान्तिको ऐतिहासिक महत्वमार्क फेरो, इ.एच.कार लगायतका इतिहासकारहरुले रुसी क्रान्तिमाथि लेखेका आफ्ना पुस्तकहरुमा तथ्यहरुसहित विश्व युद्धको सुरुवातभन्दा पहिले नै रसियन क्रान्तिको लागि पृष्ठभूमि तयार भैसकेको बताएका छन् । किसान, श्रमिक वर्ग र शहरका गरीबहरु क्रमशः जमीन, उचित पारिश्रमिक, मजदूरीको समयसीमा र रोटीको माग गर्दै थिए । जनवरी ९, १९०५ मा पिटर्सवर्गमा आफ्ना मागहरु लिएर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका मजदूरहरुमाथि जारको निर्देशनमा जार फौज व्यापक दमनमा उत्रियो । यस घटनापश्चात जनतामा विरोध एवं प्रतिशोधको भावना जागृत भयो र त्यसले विद्रोहमा ऊर्जा थप्ने काम ग¥यो । यो घटनाबाट लेनिनले क्रान्तिको पूर्व अनुमान लगाइसकेका थिए । र साथै सामाजिक जनवादी मजदूर पार्टीमाथि ठूलो जिम्मेवारी आएको थियो । अप्रिल १९०५ मा सामाजिक जनवादी पार्टीको तेस्रो काँग्रेस सम्पन्न भयो । यो पहिलो बोल्सेभिक काँग्रेस थियो, किनकि मेन्शेविकहरुलाई आमन्त्रित गरेर पनि उनीहरुले यसमा भाग लिन इन्कार गरेका थिए । मेन्शेभिकहरुको जेनेभामा आफ्नो अलग सम्मेलन भयो । लेनिन काँग्रेसको अध्यक्ष चुनिइसकेपछि क्रान्तिका सबै आधारभूत प्रश्नहरुमाथि सोंच विचार गरी प्रस्तावहरुको मस्यौदा तयार पार्ने काम गरे । लेनिनले तयार गरेको बोल्शेभिक पार्टीको कार्यनीति क्रान्तिको विजयतर्फ लक्षित थियो । क्रान्तिकाल अगाडि बढ्दै जाने क्रममा लेनिनको मेन्शेभिकहरुसँग मतभेद चर्किन थाल्यो । मेन्शेभिकहरु किसान मजदूर गठबन्धनका विरोधी थिए । उनीहरुलाई किसानहरुको क्रान्तिकारी शक्तिमाथि भरोसा थिएन ।  लेनिन र उनका बोल्शेभिक कमरेडहरुले जनताद्वारा लगाइएका ‘रोटी, शान्ति र जमीन’ का नाराहरुको नीहितार्थलाई राम्रोसँग आत्मसात गर्दै त्यही अनुरुप आफ्ना नीति तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तन पनि गरे ।

क्रान्ति अगाडि रुस एउटा अत्यन्त पिछडीएको अवस्थामा थियो । वेरोजगारी, भोकमारी, किसान–मजदुरहरुमाथिको उत्पीडन, लैङिग्क उत्पीडन व्यापक मात्रामा थियो । तर क्रान्ति पश्चात रसियन समाजवादी व्यवस्थाले अन्य पूँजीवादी मुलुकहरुले सयौं वर्ष लगाएर गरेको प्रगति २०–२५ वर्षभित्रै गरेर देखायो । साहित्यिक तथा साँस्कृतिक जागरण, स्वास्थ्य, शिक्षा, लैंगिक शोषणका विविध रुपहरुको अन्त्य सहित महिला स्वतन्त्रताको पक्षमा अक्टुबर क्रान्तिले खेलेको भूमिका अभूतपूर्व  छ । यहाँसम्म कि पूँजीवादी मुलूकहरुले समेत सोभियत संघका नीतिहरु अवलम्बन गर्नुपर्ने अवस्थाको सृजना भयो ।

अक्टोबर क्रान्तिपश्चातको समाजवादी राज्यव्यवस्थाले रुसमा विद्यामान एउटा वर्गको हजारौं वर्षदेखिको साधन र स्रोतहरुमाथिको विशेषाधिकारको अन्त्य मात्र गरेन उद्योगहरुमाथि श्रमजीवी वर्गको स्वामित्व स्थापित ग¥यो । खेतीको सामुहिकिकरण ग¥यो । पश्चिमा मुलुकहरुको सहयोग बिना नै तमाम प्रकारका भोकमारी र आभावहरुलाई झेल्दै समाजवादी अर्थव्यवस्थाको निर्माण ग¥यो । केहि वर्षहरुमै उत्पादनका साधनहरुमाथि निजी स्वामित्वको अन्त्य गरी सामाजिक स्वामित्व कायम ग¥यो । अक्टुबर क्रान्तिपश्चात विश्व दुई धु्रवमा विभाजित भयो–समाजवादी धु्रव र पूँजीवादी धु्रव । विश्व समाजवादी प्रणालीलाई अगाडि बढाउनको लागि सोभियत संघले अन्य मुलूकहरुका क्रान्तिकारी पहलकदमीहरुमा एक्यवद्धता जनाउने र सहयोगी भूमिका खेल्ने काम ग¥यो । हंगेरी, जर्मनी, मंगोलिया, चिन, स्पेन, भियतनाम, कोरिया तथा क्यूवा लगायतका मुलुकहरुमा क्रान्तिका सृंखलाहरु अगाडि बढे । यसरी अक्टुबर क्रान्तिले विश्व समाजवादी आन्दोलनको अध्यायको सूत्रपातको काम ग¥यो । प्रतिक्रान्तिसन् १९५३ मा स्टालिनको मृत्युपश्चात ख्रुस्चेवको नेतृत्वमा एक किसिमको नयाँ पूँजीवादको बहाल हुनपुग्यो । समाजवादी नकाब धारी राजकीय पूँजीवादको उदय भयो । सन् १९९० मा गोर्भाचेवको पेरेस्त्रोयका (पुननिर्माण) र ग्लास्तनोस्त (खुलापन) को नीतिसँगै यो नकाब  पनि उत्रियो र समाजवादी मुलूकमा फेरि खुला पंूजीवाद बहाल हुन पुग्यो ।

प्रतिक्रान्तिका घटनाहरुलाई आधार बनाएर कम्युनिष्ट आन्दोलनदेखि भयभीत प्रतिक्रियावादीहरुले समाजवाद-साम्यवादको अन्त्य भएको घोषणा गरे । जब कि वास्तविकता त्यो थिएन । रुस तथा चीनमा भएका ऐतिहासिक क्रान्तिका घटनाहरु दुनियाको इतिसमा नयाँ प्रारम्भको सुरुवात थिए । अक्टोबर क्रान्तिले दिएको सबैभन्दा ठूलो सन्देश भनेको उत्पीडित सर्वहारा, किसान तथा श्रमजीवि वर्गले आफ्नै बलबुतामा आफ्नो राज्यसत्ता स्थापना गर्नसक्छ । शासन भनेको राजा, महाराजा र कुल घरानाहरुको पैत्रिक सम्पत्ति होइन भन्ने कुरा दुनियाभरिका उपनिवेशवादविरोधी देश र जनताहरुको वीचमा प्रमाणित गरिसकेको थियो । प्रतिक्रान्तिको कारण
विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सदेखि क्रान्तिका पछिल्ला घटनाक्रम हुँदै प्रतिक्रान्तिसम्मका शिक्षाहरुले दिएको संदेश के हो भने समाजवाद भनेको पूर्ण रुपमा वर्गविहीन, शोषणविहीण, समाज हुँदैन बरु यसको सुरुवाती अवस्था हुन्छ । त्यो पूँजीवाद र कम्युनिज्मको बीचको–वर्ग समाज र वर्गवीहिन समाजको बीचको काल हुन्छ । कुनै एउटा देशमा पनि समाजवादी क्रान्ति हुनसक्छ तर एकपटक क्रान्ति भैसकेपछि त्यो निर्वाध रुपमा अगाडि बढिरहन्छ र फेरि प्रतिक्रान्ति हुनसक्दैन भन्ने होइन । किनकि समाजवादी समाज पनि एउटा संक्रमणकालीन समाज हो जहाँ वर्गसंघर्ष जारी रहन्छ । वर्गसंघर्ष जारी रहने भएकै कारणले सर्वहारा वर्गको अधिनायकत्वको आवश्यकता भएको हो । जहाँ वर्गसंघर्ष जारी रहन्छ त्यहाँ जीत र हार दुवै कुराको संभावना हुन्छ । अर्थात्–प्रतिक्रान्तिको खतरा विद्यमान रहन्छ । यस सम्वन्धमा लेनिन देखि माओसम्मले प्रष्ट दृष्टिकोणहरु अगाडि सार्नुभएको हो । अतः पुँजिवादी पुर्नस्थापनाका घटनाहरु कम्युनष्टहरुका लागि नयाँ विषयहरु होइनन् । संक्रमणकालीन समाजमा वर्गहरुको अन्त्य नभैसकेको हुनाले पुँजीवादका सम्पूर्ण आधारहरुको अन्त्य भैसकेको हुँदैन । जुुन देशहरु समाजवादमा प्रवेश गर्छन् उनीहरुमाथि अन्तराष्ट्रिय पुँजीवादको घेराबन्दी कायम नै रहन्छ । क्रान्तिद्वारा विस्थापित भएको प्रतिक्रियावादी पूँजीवादी वर्ग ज्यान फालेर गुमेको लुटको स्वर्ग फिर्ता गर्नको लागि प्रयत्नशील रहन्छ । समाजवादी समाजमा पनि बुर्जुवा विचारधारा, संस्कृति, रीतिरिवाज, आनिबानी र मूल्य मान्यताहरुले प्रभाव पारिरहन्छन् । सोभियत सत्तामा पनि उपरोक्त बस्तुगत अवस्थाहरु विद्यमान थिए । साथै समाजवादी समाजको पतनका आत्मगत कारणहरुमा एउटा कारण वैचारिक–साँस्कृतिक स्तरको न्यूनतालाई लिन सकिन्छ । समाजवाद केवल एउटा सत्ताको ठाउँ अर्को सत्ताले लिने मात्र होइन बरु उन्नत वैज्ञानिक तथा साम्यवादी दृष्टिकोण, विचार र संस्कृतिद्वारा निर्देशित व्यवस्था पनि हो । जब यो कम्जोर हुन्छ साम्यवाद उन्मुख समाजवादी व्यवस्था निर्माणको यात्रा पनि स्वतः कम्जोर हुन्छ  । समाजवादी व्यवस्था अन्तर्गत सत्ता र पार्टी दुवैभित्र वैचारिक साँस्कृतिक आन्दोलन निरन्तर चलाइराख्न जरुरी हुन्छ । त्यसमा अपेक्षिेत जोड दिनमा कम्जोरी भयो र वैचारिक साँस्कृतिक स्तर उन्नत हुन सकेन र संशोधनवादले आफ्ना हाँगबिँगाहरु फिजाउने मौका प्राप्त गरे । यसले अन्ततः प्रतिक्रान्तिलाई मलजल पु¥यायो । त्यसरी नै समाजवादी सत्ता ढल्नुमा सर्वहारा वर्गको अधिनायकत्व लागू गर्ने प्रक्रियामा देखिएका कमी कम्जोरीहरु जिम्मेवार देखिन्छन् । कमरेड माओको भनाईलाई आधार मान्ने हो भने सर्वहारा वर्गको अधिनायकत्वलाई मजबुत बनाउन सिद्धान्तनिष्ठ सर्वहारा वर्गको पार्टी र सिर्जनशील एवं आलोचनात्मक आम श्रमजीवी समूहको महत्वपूर्ण भूमिका रहन्छ । पार्टीभित्र देखा पर्ने शैद्धान्तिक विचलन या संसोधनवादीहरुको पकड नै यस्तो कारक बन्न जान्छ जसले समाजवादी व्यवस्थालई पतनको दिशातिर लैजान्छ । अतः त्यसलाई रोक्नको लागि संसोधनवाद जन्मने आधारलाई कम्जोर पार्नको लागि वर्गसंघर्षलाई केन्द्रमा राखेर विजातीय प्रवृत्तिहरको विरुद्ध सम्झौताविहिन संघर्ष गर्नु आवश्यक हुन्छ । साथै समाजवादलाई जीवित बनाईराख्नको लागि सर्वहारा जनवादलाई वास्तविक जीवन व्यहारमा लागू गर्नुपर्दछ । त्यसको अर्थ जनसमुदायहरुको लागि राज्यव्यवस्था शासक बनिदिने होइन बरु शासन र नीति निर्माणको तहमा प्रत्यक्ष जनताको सहभागित हुनुपर्दछ । यसैलाई लेनिनले ‘सोभियत सत्ता’ को अवधारणाको रुपमा अगाडि सार्नुभएको थियो भने क.माओले थप समृद्ध बनाउदै महान सर्वहारा साँस्कृतिक क्रान्तिको नारा दिनुभयो । जुन विचारधारात्मक वर्गसंघर्षको रुपमा अगाडि बढ्यो ।

समाजवादी व्यवस्था अन्तर्गत देखा पर्नसक्ने सीमा समस्याहरु र चुनौतिहरुको विरुद्ध निरन्तर संघर्ष चलाउन सकिएन भने समाजवादको स्थापना पछि पनि जनताको व्यवस्थाको नाउँमा पार्टी, सत्ता र नेतृत्व फेरि उत्पीडित वर्गको मालिकमा फेरिने खतरा रहिरहन्छ भन्ने सन्देश हामीले अक्टोबर क्रान्ति र  चिनको नयाँ जनवादी क्रान्तिका शिक्षाहरुबाट लिन सक्छौं ।

विश्वकम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थायतिखेर विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ तर लामो नैराश्यताबाट पुनः तङिग्रन थालेको आभाश हुँदैछ । क्रान्तिकारी आशावाद सहित फेरि आन्दोलन शक्ति सञ्चय गर्दै अगाडि बढ्ने अभियान जारी छ । दुनियामा क्रान्ति सम्भव छ भन्ने कुराको पुष्टि बिसौं शताब्दीमा भएका क्रान्तिहरुले गरिसकेका छन् । अब बहस क्रान्ति आवश्यक छ या छैन भन्नेमा होइन, बरु क्रान्ति कसरी र समाजवादी सत्ताहरुलाई निरन्तर कसरी टिकाउने भन्नेमा हुन जरुरी छ । अब बहस क्रान्ति सम्भव छ या छैन भन्नेमा होइन बरु निरन्तर क्रान्तिमार्फत श्रमजीवि वर्गका सत्ताहरुलाई निरन्तर कसरी अगाडि बढाउन सकिन्छ भन्नेतिर केन्द्रत हुन जरुरी छ । समाजवादी अभ्यास भेरहेको भनिएका कतिपय ल्याटिन अमेरिकन मलुकूकहरु देखि लिएर वर्तमान चिनीया राज्यव्यवस्थाको बारेमा ती देशहरु र बाहिर पनि आ–आफ्नै खाले बुझाई, विश्लेषण र निश्कर्षहरु छन् । त्यसबारेमा हामीले समाजवादी दर्शन, राजनीति र त्यहाँको आर्थिक, राजनीतिक व्यवस्थाको धरातलीय कसीमा आफ्नो मौलिक बुझाईको निर्माण गर्न जरुरी छ ।

माक्र्सवाद या विद्रोह र क्रान्तिकारी दर्शनको सच्चाई दुनियाभरिका प्रतिक्रियावादीहरुले ढोल पिटेझैं पुरानो भएको, असान्दर्भिक भएको वा औचित्यहीन भएको होइन बरु दिन प्रतिदिन त्यसको औचित्य पुष्टी हुँदै गएको छ । दुनियाभरिका क्रान्तिकारी माक्र्सवादीहरुको काँधमा आजसम्मका क्रान्तिकारी आन्दोलनहरु, समाजवादी सत्ता र तिनको अभ्यासको क्रममा भएका सकारात्मक तथा नकारात्मक पक्षहरुको बारेमा गम्भिर रुपले समीक्षा गरि अगाडिको मोर्चा सम्हाल्नुपर्ने दायित्व थपिएको छ । अबका कम्युनिष्ट आन्दोलनहरुले प्रतिक्रान्तिका शिक्षाहरुबाट सिक्ने हिम्मत नगरी समाजवादी व्यवस्था निर्माण र समृद्धिको नारा दिनु नक्कली कुरा मात्र ठहर्छ । समाजवाद निर्माणको मार्गमा देखिदै आएका या सम्भावित अवरोधहरुप्रति सुरुदेखि नै गम्भिरतापूर्वक निरिक्षण गर्न र तिनको विरुद्ध सम्झौताहीन रुपमा बहुआयामिक संघर्षहरुलाई अगाडि बढाउन अपरिहार्य छ । विगतदेखि वर्तमानसम्मका कम्युनिष्ट आन्दोलनका अनुभवहरुको अध्ययन गर्दा के देखिने गरेको छ भने प्रतिक्रान्ति सत्तामा पुगेपछि मात्र हुँदोरहेनछ । सत्तामार्फत हुने प्रतिक्रान्ति त्यसको उत्कर्ष मात्र हो । बरु प्रतिक्रान्ति आन्दोलनभित्र पनि भैरहेको हुन्छ । यदि आन्दोलन, संगठन, सत्ता र समाजभित्र पनि निरन्तर विचारधारात्मक तथा साँस्कृतिक वर्गसंघर्षलाई सञ्चालन नगर्ने हो भने प्रतिक्रान्ति जतिखेर पनि हुनसक्छ भन्ने आनुभविक सच्चाइलार्ई गम्भिरतावपूर्वक आत्मसात गर्नु अबको समाजवादी आन्दोलनको  महत्वपूर्ण कार्यभार हो ।

नेपालमा समाजवादी आन्दोलनको अवस्था२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना पश्चात नेपालको कम्युनिष्ट आन्दोलनले ६८ वर्षहरु पार गरिसकेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको सकारात्मक पक्ष भनेको यसले निरन्तर क्रान्तिको वकालत गर्दै आएको छ । अनेकौं प्रकारका सफल असफल क्रान्तिकारी कारबाहीहरुको अभ्यास पनि गरेको छ । राष्ट्रियता, जनअधिकार र जनजिवीकाको पक्षमा निरन्तर आवाज उठाउने र संघर्ष गर्ने कामहरु पनि गर्दै आएको छ । तर यो सँंग जोडिएको नकारात्मक विरासत भनेको औचित्यहीन साँगठनिक विभाजन र एकताका सृंखलाहरु हुन् भने वैचारिक, साँस्कृतिक हिसाबले मूल्यांकन गर्दा नेतृत्व तहमा देखा पर्दै आएका विचलन र रुपान्तरणको समस्या मुख्य रहेका छन् । त्यसैगरि विचारधारात्मक समस्या, आन्दोलनलाई आधारभूत वर्ग (मजदूर, किसान तथा क्रान्तिको सहयोगी वर्ग) सम्म पु¥याउने समस्या र सर्वहाराकर वा साँस्कृतिक रुपान्तरणका समस्याहरु महत्वपूर्ण चुनौतिको रुपमा रहेका छन् । यी सबै चुनौतिहरुको केन्द्रविन्दुमा आन्दोलन र नेतृत्वको आत्मगत अवस्था नै जिम्मेवार देखिन्छ अर्थात् त्यो भनेको रुपान्तरणसँग जोडिएको समस्या हो ।
यो सन्दर्भमा लेनिनको अगुवाईमा निर्मित बोल्सेविक पार्टी र अक्टोबर क्रान्तिको गरिमालाई सम्झनु एवं आत्मसात गर्नु नेपाली कम्युनिष्ट आन्दोलनका लागि आज पनि उत्तिकै महत्वपूर्ण दायित्व हुनजान्छ । कम्युनिष्ट पार्टीको स्थापना, तत्कालीन ने.क.पा.(माले) को नेतृत्वमा भएको २०२८ सालको झापा विद्रोह, पूर्वी तराईमा तथा पश्चिम नेपालका  विभिन्न ठाउँमा भएका शोषक सामन्त विरोधी किसान विद्रोहहरु, २०५२ सालमा तत्कालीन ने.क.पा.(माओवादी) ले सुरु भएको शशस्त्र आन्दोलन हुँदै २०६२÷०६२ साल सम्मको सामन्तवादविरोधी आन्दोलनहरु अक्टोबर क्रान्तिका विरासतहरुलाई सम्झना गराउने महत्वपूर्ण घटनाहरु हुन् । जसले प्रतिक्रियावादी राज्यसत्तालाई चुनौति दिने र सामन्तवादी राज्यव्यवस्थाको अन्त्यको लागि महत्वपूर्ण भूमिका खेले । फेरि पनि नेपालको सन्दर्भमा अक्टुबर क्रान्तिका महत्वपूर्ण मूल्य र विरासतहरुलाई सिरोपर गर्नुपर्ने यस अर्थमा अनिवार्य छ कि समाजवाद निर्माणको सपना हामीले पुरा गर्न सकेका छैनौं । लेनिन, उनले नेतृत्व गरेको बोल्सेभिक पार्टी, अक्टुबर क्रान्ति र सोभियत समाजवादबाट सिक्नुपर्ने कुराहरु अहिले पनि धेरै छन् ।

निश्कर्षआज प्रतिक्रियावादी शक्तिहरु, तिनका थिंक ट्यांकहरु देखि लिएर कम्युनिष्ट आवरणभित्रका तमाम छद्म कम्युनिष्टहरु सम्म माक्र्सवाद पुरानो भएको, रुस तथा चिनका क्रान्तिका विरासतहरुको औचित्य समाप्त भएको ढोल पिटिरहेकै छन् । विशेष गरि प्रतिक्रान्तिका घटनाहरुपश्चात उनीहरुको हल्ली खल्लीले निराशा पैदा गर्न सफल भए पनि यो चरण अव समाप्त भएको छ । उत्पीडित वर्ग र त्यसका प्रतिनिधिहरु फेरि एकपटक समाजवादको अपरिहार्यता प्रति सचेत हुन थालेका छन् । हजारौं वर्ष पुरानो सामन्तवाद र   शोषण, विध्वंश र मानवता भक्षक जन्तुमा परिणत भैसकेको सयौं वर्ष पुरानो पूँजीवादलाई अबको दुनियाको विकल्पको रुपमा पेश गर्नु तर  डेढ सय वर्ष मात्र पार गरेको  कम्युनिष्ट आन्दोलनलाई पुरानो र औचित्यहीन भयो भन्नु बौद्धिक दिवालियापन र हतास मानसिकताको उपज वाहेक अरु केहि होइन । सामन्तवादविरुद्धको संघर्षमा पूँजीवदाले लगभग ४०० वर्षको लडाई पश्चात विजय हाँसिल गरेको थियो । पूँजीवादविरुद्धको लडाईमा कम्युनिष्ट आन्दालनले केबल डेढ शताब्दी मात्र खर्चिएको छ । यो त लडाईको प्रारम्भिक दौरान हो । खास चरणमा प्रवेश गर्न बाँकि नै छ । अतः समाजवादी शक्तिहरु बाह्य तथा आन्तरिक कम्युनिज्मविरोधी हाउगुजीबाट अत्तालिनुपर्ने कुनै तार्किक तथा तथ्यगत आधारहरु छैनन् ।
कम्युनिष्ट आन्दोलन प्रारम्भ देखि नै दक्षिणपन्थी र वामपन्थी अवसरवादका विरुद्ध संघर्ष गर्दै अगाडि बढेको छ । जसको महत्व आज पनि यथावत छ । संघर्षको शान्तिपूर्ण र संसदीय रुपलाई नै निरपेक्ष सत्य ठान्ने दक्षिणपन्थी अवसरवाद होस् या संसदीय एवं वैधानिक संघर्षका रुपहरुलाई निरपेक्ष रुपमा खारेज गर्ने प्रवृतिको विरुद्ध संघर्ष गरेर मात्र क्रान्तिकारी समाजवादी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । आज विश्व कम्युनिष्ट आन्दोलन हुँदै नेपालकै कम्युनिष्ट आन्दोलनको पनि सिंहावलोकन गर्ने हो भने वामपन्थी अवसरवादभन्दा कैयौं गुणा बेसी दक्षिणपन्थी संसोधनवादी अवसरवाद नै समाजवादी आन्दोलन या क्रान्तिको बाटोमा खतरनाक बनेर देखा परेको छ । समाजवादी आन्दोलनभित्रै माक्र्सदेखि लेनिन हुँदै माओकालीन समाजभन्दा  आजको समाज धेरै अगाडि बढिसकेको, सूचना–सञ्चार एवं भूमण्डलीकरणको प्रक्रिया तीव्र रुपमा अगाडि बढेको हवाला दिंदै माक्र्सवादलाई नयाँ सन्दर्भमा समृृद्ध बनाएर मात्र क्रान्तिका कार्यभारहरु पूरा गर्नसकिने तर्कसँगै माक्र्सवादको आत्ममाथि नै प्रहार गर्ने कामहरु पनि भइरहेका छन् । जुन अत्यन्त खतरनाक छ । वर्गसंघर्षका रुप, चरित्र र तौरतरिकाहरु फेरिनसक्छन् तर वर्गसंघर्ष कायम छ । पूँजीवाद र त्यसका अनुयायीहरुले समाजवाद मरिसकेको र पूँजीवाद मानवजाति र दुनियाकै अनन्त विकल्पको रुपमा जतिसुकै पेश गरेपनि त्यसको अन्त्य अवश्यम्भावी छ । किनकि पँुजीवाद  जिवित छ भने त्यो दुनियाका बहुसंख्यक मजदूर किसानहरुको खुन र पसीनामा जिवित छ । कम्जोर राष्ट्रहरुमाथिको थिचोमिचो, प्राकृतिक सम्पदाहरुको दोहन, फौजी, राजनीतिक र साँस्कृतिक आक्रमणहरुमा जिवित छ । अर्थात आजको पूँजीवाद नाफाको आदर्श र लुटको स्वर्गमा जिवित छ । जसले यो दुनियाका बहुसंख्यक मानिसहरुको स्वार्थको कुनै रक्षा गर्द सक्दैन । वर्गसंघर्षको अस्तित्वलाई स्वीकार्ने हो भने वर्गीय पक्षधरता, बल प्रयोगको सिद्धान्त र सर्वहारा वर्गीय अधिनायकत्वलाई पनि स्वतः स्वीकार गर्नै पर्ने हुन्छ । अतः आज पनि अक्टोबर क्रान्तिको महत्वलाई स्वीकार्नुको अर्थ त्यसको मर्मलाई स्वीकार्नु हो । त्यसको मर्मलाई स्वीकार्नु भनेको सर्वहारा वर्गीय विरासतहरुलाई आत्मसात गर्दै त्यसलाई आफ्नो देश र दुनियाकै सन्दर्भमा थप समृद्ध बनाउँदै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नु होे ।

समाजवाद न त निर्यात गर्न सकिन्छ न त त्यो कुनै अदृश्य स्थानबाट नै प्रादूर्भाव हुन्छ । नेपालको धरातलमा टेकेर समाजवादप्रति आस्थावान हरेक व्यक्तिले दार्शनिक, सामाजिक, साँस्कृति, आर्थिक तथा राजनीतिक आयामहरुबाट कस्तो र कसरी समाजवादको निर्माण गर्ने भन्ने विषयमा बहस छेड्न जरुरी छ । त्यसको लागि माथि उल्लेख गरेझैं आन्दोलनलाई दुई अतिवादी सोंचहरुबाट मुक्त हुँदै निम्न कार्यभारहरुलाई आत्मसात गर्न जरुरी देखिन्छ–
१. पहिलो सर्त हो, राष्ट्रिय स्तरमा लेनिनको मार्गदर्शनमा निर्देशित बोल्शेविक पार्टीजस्तै संगठित क्रान्तिकारी पार्टी । जो विचाराधारात्मक तथा भौतिक संघर्षहरुका भट्टीमा खारिएको होस् र प्रतिक्रियावादी सत्तालाई चुनौति दिन सक्षम होस् । मजदूर सर्वहारा वर्ग, किसान तथा मध्यम वर्गको बीचमा पनि यसको मजबूत सम्बन्ध होस् । साथै देशको धरातलीय परिस्थितिको ठोस बुझाईको आधारमा क्रान्ति तथा आन्दोलनका कार्यक्रमहरु तय गर्न सक्षम होस् ।

२. यदि हामीले अक्टोबर क्रान्तिभन्दा अगाडि दुई दशकसम्मको पार्टी निर्माणको प्रक्रियालाई हे¥यौं भने कठिन विचारधारात्मक संघर्ष, वैचारिक दृढता बिना कम्युनिष्ट पार्टी बन्न सम्भव छैन भन्ने कुरा सहजै बुझ्न सक्छौं । लेनिन तथा उनका समकक्षी नेताहरुले विचारधारात्मक प्रश्नमा कुनै सम्झौता गरेको देखिन्न । लेनिन फलामे अनुशासनमा बाँधिएको पार्टीको पक्षमा दृढ देखिन्छन् । कार्यनितिक रुपमा पनि लेनिनको नेतृत्वको पार्टीले पूँजीवादी चुनाव र संसद, ट्रेड युनियनहरुको माध्यमबाट आर्थिक संघर्षहरुमा पनि सहभागि बने । जनतालाई राजीनितक चेतना प्रदान गर्नको लागि विभिन्न प्रकारका राजनीतिक सुधारामुखी कामहरु पनि गरे । फेरि पनि पार्टीे यो कुरामा कहिल्यै भ्रमित भएन कि बिना बल प्रयोग खालि चुनावको माध्यमबाट शोषणकारी सत्ताको अन्त्य गर्न सकिन्छ । बोल्सेभिक पार्टीले पूँजीवादी सत्ताको अन्त्यको लागि क्रान्तिकारी तयारी पनि निरन्तर गरि नै राख्यो । अक्टुबर क्रान्तिले हामीलाई यो कुराको सन्देश दिएको छ कि शोषक बर्गले कहिल्यै पनि ज्ञानी भएर या चुनावी अल्ममत बहुमतको आधारमा खाइ पाई आएको सत्ता सर्वहारा वर्गलाई सुम्पिन सक्दैनन् । हामीले नेपालको सन्दर्भमा अक्टुबर क्रान्तिका शिक्षाहरुलाई आत्मसात गर्नुको अर्थ यो पनि हो कि सुधारवादी, अर्थवादी, संसदवादी भ्रमहरुबाट मुक्त भएर अनि व्यापक उत्पीडित जनसमुदायलाई साथमा लिएर वैचारिक, राजनीतिक तथा सांगठनिक मजबुतीका आधारमा मात्र समाजवादी क्रान्तिका कार्यभारहरुलाई पुरा गर्न सकिन्छ ।

३. अक्टुबर क्रान्तिको अधारमा लेनिनले अनेकौ पटक विचारधारात्क दृढतालाई स्पष्ट पारेका छन् । उनले वर्ग संघर्ष एवं सर्वहारा वर्गको अधिनायकत्वलाई भूल्नुको अर्थ पूँजीवादी जनवाद र शान्तिपूर्ण संघर्षको गोलचक्करमा फस्नु हो भन्ने कुरातर्फ खबरदारी गरेका छन् । परिस्थितिहरमा चाहे जुनसुकै परिवर्तन आओस् यदि राज्यसत्ताको चरित्र पूँजीवाद छ भने त्यो अरु केही नभएर पूँजीवाद नै हो र त्यसलाई बलपूर्वक सत्ताच्यूत गर्नु क्रान्तिकारीहरुको दायित्व हुनेछ ।

४. अक्टोबर क्रान्तिका उपरोक्त महत्पपूर्ण शिक्षाहरुलाई क. माओत्सेतुङले महान सर्वहारा साँस्कृतिक क्रान्ति अन्तर्गत थप समृद्ध पार्ने काम गरेर यो कुराको खबरदारी गर्नुभयो कि सर्वहारा वर्ग राज्यसत्तामाथि हावी भैसकेपछि निरन्तर सबै पूँजीवादी तत्वहरुको विरुद्ध साँस्कृतिक क्रान्ति चलाइएन भने पूँँजीवादको पुनस्र्थापना अवश्यमभावी हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनको कुरा गर्दा अहिले पनि महान सर्वहारा साँस्कृतिक क्रान्तिको महत्व थप बढेर गएको देखिन्छ । विगत र वर्तमानका अनुभवहरुले के कुराको पुष्टि गरेका छन् भने कम्युनिष्ट पार्टीको स्थापना, आन्दोलनको निरन्तरता, क्रान्तिकाल हुँदै समाजवादी सत्ताहरुसम्म हरदम प्रतिक्रान्तिका आधारहरु सक्रिया रहन्छन् । यसको अर्थ जतिखेर पनि ती सबै तहमा प्रतिक्रान्तिले टाउको उठाइरहन्छन् । त्यसको निवारणका लागि साँस्कृतिक क्रान्तिरुपी हतियार चलाइरहन अनिवार्य छ । नेतृत्व र पार्टीपंक्तिभित्र साँस्कृतिक रुपान्तरणको आन्दोलनलाई अपरिहार्य प्रस्तावको रुपमा जीवन–व्यहारमा लागू गरेर जानुपर्छ । अन्यथा प्रतिक्रान्तिको लागि क्रान्ति नै कुर्नुपर्दोरहेनछ भन्ने कुाराका दृष्टान्तहरु नेपालको कम्युनिष्ट आन्दोलनले पटक–पटक भोग्दै आएको छ ।

५. विगत र वर्तमानका आन्दोलन तथा समाजवादी सत्ताका अनुभहरुले सिकाएको पाठ के हो भने सत्तालाई साधनको रुपमा स्वीकार्दा स्वीकार्दै पनि साध्य बन्ने खतरा हुँदोरहेछ । सबै कुराहरुलाई सत्तामा केन्द्रित गर्ने सोंचले उत्पीडित वर्गलाई मात्र होइन कि अन्ततः आन्दोलन र पार्टीभित्रका कार्यकर्ताहरु  पनि क्रान्ति र सत्ता सञ्चालनको लागि एकाध वीर महापुरुष र मसिहाहरुको खोजी गर्ने ठाउँमा पुग्ने खतरा हँुदोरहेछ । जसले गर्दा आन्दोलनभित्रै प्रतिक्रान्तिले टाउको उठाउने देखि लिएर सत्ता प्राप्त भैहाले पनि उत्पीडित वर्ग आफ्नो निम्ति आफैले शासन चलाउने ठाउमा पुग्न असम्भव हुन्छ । कम्युनिष्टहरु जनताका नयाँ मालिकहरुमा परिणत हुँने खतरा विद्यामान हुन्छ । यो कोणबाट हेर्दा आजका समाजावादी आन्दोलनका अभियन्ताहरुले विगतदेखि नै कहाँ–कहाँ यस्ता कमी– कम्जोरीहरु रहन गए भन्ने सवालमा गम्भिरतापूर्वक समीक्षा गर्न जरुरी छ र आफूलाई त्यसबाट मुक्त गर्दै पनि जान आवश्यक छ ।

६. आजको पूँजीवादको थप विशेषता भनेको पहिलेको तुलनामा यो सघन रुपमा भुमण्डलिकृत भएको छ । जसले एकातिर पूँजीवादी आर्थिक नीतिहरु– नीजिकरण र उदारिकरणलाई थप व्यापक बनाइदिएको छ भने यसको साँस्कृतिक आदर्श उपभोक्तवादलाई पनि विश्वका कुना–कुनामा फैलाउन सफल भएको छ । यो अवस्थामा सम्भव साधन र स्रोतहरुको उपयोग गरी समाजवादी आन्दोलनलाई पनि भूमण्डलिकरण गर्नुपर्ने आवश्यकता छ । हरेक देशमा विद्यमान क्रान्तिकारी संगठन तथा आन्दोलनहरको बीच संवाद, सहकार्य र एक्यवद्धालाई बढाएर लैजानुपनेै आवश्यकता छ भने विश्वस्तरमा र महादेशीय स्तरमा पनि साम्राज्यवाद–विस्तारवादविरोधी शक्तिहरबीचको मोर्चा निर्माण गरी आन्दोलनलाई सघन बनाउनु पर्ने आवश्यकता छ । जसले गर्दा वैश्विक स्तरमै समाजवादी व्यवस्था निर्माणको आधार मजबूत होस् । उपरोक्त कुराहरुलाई आत्मसात गर्दै यस्तो क्रान्तिकारी पार्टी र आन्दोलनको निर्माण गर्नु पर्नेछ जसले अक्टोबर क्रान्तिको विरासतलाई नयाँ उँँचाईँमा पु¥याउन सक्षम होस् ।

प्रकाशित मिति : बुधवार, कार्तिक १५, २०७४ समय : २१:५३:१३ 169 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi