अभिभावक नभेटिएकी असहाय बालिकाले पाइन् सहारा

पाण्डव शर्मा

दाङ । अभिभावकबाट टाढिएर सडकमा बास बनाएकी एक बालिकाले सहारा पाएकी छन् । दाङ शान्तिनगर गाउँपालिका १ खिलतपुरमा बेवारिसे अबस्थामा बालिका फेला परेपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । ती बालिकाले आफ्नो एकीन नाम थर बताउन सक्दैनन् । प्रहरीले लामो समय बालिकाको अभिभावको खोजी गरेपनि कोही आफन्त नभेटिएपछि समस्या परेको थियो ।

आज प्रहरीले असहाय बालकालिका सम्बन्धी काम गर्ने संस्था बिजौरीस्थित श्री असहाय बालविकास नेपाल दाङलाई बुझाएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका नायव प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले असहाय बालविकास नेपालका प्रमुख विष्णु चौधरीलाई बालिका जिम्मा लगाएका हुन् । बालिकाको अभिभाव सम्पर्कमा नआउँदासम्म संस्थाले ती बालिकाको पालनपोषण गर्ने छ । संस्थामा हाल अभिभावकविहीन १४ जना बालबालिका छन् । अब त्यस्ता बालकालिकाको संख्या १५ पुगेको छ ।

असहाय बालबालिकाको सहायताका लागि संस्था खोलिएको प्रमुख चौधरीले बताए । उनले यस्ता बालबालिकाको व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । “बालबालिकाको नाममा करोडौं बजेट विनियोजन हुँदै आएको छ तर, त्यो बजेट हुने खाने वर्गका बालबालिकाले प्रयोग गर्दै आएका छन्”, चौधरीले भने ।

सरकारले यस्ता असहाय बालबालिकाको संरक्षणका लागि आफै पहल गर्नुपर्ने अथवा यस सम्बन्धी काम गर्ने संस्थालाई बजेट सहयोग गर्नुपर्ने उनको भनाई छ । असहाय बालबालिकाको पालनपोषणका लागि सहयोग गर्न चाहने दाताहरुलाई समेत संस्थामा सम्पर्क गर्न चौधरीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : सोमवार, कार्तिक ०६, २०७४ समय : २१:०१:५२ 172 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi