चित्रबहादुर केसी समानुपातिकमा, प्युठान र बागलुङमा पौडेल र थापा

पहिलोपेज

काठमाडौं । यसपटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार बन्ने भएका छन् । त्यसैगरी प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा दुर्गा पौडेल र बागलुङ निर्वाचन क्षेत्र नं. १ मा अमर थापालाई उम्मेदवार बनाउने राष्ट्रिय जनमोर्चाले ठेगान गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार अन्य स्थानका प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उमेदवारहरु पछि सार्वजनिक गरिने छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको असोज ७ र ८ गते केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको विषयमा उम्मेदवार चयन र त्यससम्बन्धी विभिन्न निर्णयहरु गरेको बताइएको छ ।

बैठकले “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, समृद्ध नेपालको निर्माण गरौं” भन्ने मूल नाराका साथ यस निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकले निर्वाचन र अन्य कतिपय विषयहरुमा पनि महत्वपूर्ण निर्णयहरु गरेको अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा संसदीय बोर्डको गठन गरेको छ । सदस्यहरुमा रश्मीराज नेपाली, दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट र कृष्ण खड्का रहेका छन् । चित्रबहादुर केसीकै संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन भएको छ । सदस्यहरुमा रश्मीराज नेपाली, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, लालबहादुर थापा र घनश्याम न्यौपाने रहेका छन् ।

त्यसैगरी कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको संयोजकत्वमा निर्वाचन प्रचार समिति गठन भएको छ । सदस्यहरुमा जनकराज शर्मा, बोमबहादुर खत्री, नन्दराज भट्ट, चिन्तामणि शर्मा, राजाराम चौधरी, रत्नविक्रम प्यासी, चन्द्रबहादुर के.सी. (पोखरा), हरिकान्त शर्मा, कर्ण थापा, तारा पौडेल र कमला जि.सी. रहेका छन् । सचिव हिमलाल पुरीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । सदस्यहरुमा घनश्याम न्यौपाने, लालबहादुर थापा, बद्रे आलम, चन्द्रबहादुर के.सी.(पोखरा), लोकेन्द्र लम्साल, मनोज भट्ट, आरवी फुँयाल र चिन्तामणि शर्मा रहेका छन् । मनोज भट्टको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको छ । सदस्यहरुमा हिमलाल पुरी र बासुदेव पोखरेल छन् ।

त्यस्तै प्रदेशस्तरमा पनि निर्वाचन परिचालन समितिहरु गठन भएका छन् । प्रदेश नं. १ मा हरिकान्त शर्मा, प्रदेश नं. २ मा चिन्तामणि शर्मा, प्रदेश नं. ३ मा लालबहादुर थापा, प्रदेश नं. ४ मा शंकर बराल, प्रदेश नं. ५ मा कृष्ण खड्का, प्रदेश नं. ६ मा रत्नविक्रम प्यासी र प्रदेश नं. ७ मा नन्दराज भट्टको संयोजकत्वमा प्रदेशस्तरीय निर्वाचन परिचालन समितिहरु गठन भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : सोमवार, आश्विन ०९, २०७४ समय : २२:२५:४७ 1123 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi