प्रहरी हिरासतमा ‘गंगटे’ मृत्यु प्रकरण, दोषी प्रहरीलाई विभागीय कारवाही सिफारिस

नारायण भण्डारी

तुलसीपुर ।
वडा प्रहरी कार्यालय लमहीको हिरासतमा एक थुनुवाको मृत्यु भएको घटनालाई ढाकछोप गर्न खोज्ने प्रहरीलाई विभागीय कारवाही हुने भएको छ । अञ्चल प्रहरी प्रमुख दीप कुमार चौधरीको संयोजकत्वमा गठीत छानविन समितिले तयार पारेको प्रतिबेदनमा प्रहरीको नियन्त्रणमा रहेका गंगटे भनिने ब्यक्तिको मृत्युपछि बेवारिसे शव फेला परेको भनी सुचना जारी गर्ने देखि सो घटनालाई ढाकछोप गर्न खोज्ने र बङ्गाउने प्रहरी अधिकारीलाई कारवाही सिफारिस गरिएको हो ।

राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीुरमा मंगलबार भएको पत्रकार सम्मेलनमा छानविन समितिका संयोजक बरिष्ठ प्रहरी उपरिक्षक चौधरीले प्रहरी हिरासतमा लडेर अचेत भएका गंगटेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको खुल्न आएको बताए ।

‘हामीले सुरु देखि नै घटनालाई अध्ययन ग¥यौं, १३ गते घोराहीबाट पक्राउ परेका गंगटेलाई अनुसन्धानका लागि लमही लगिएको रहेछ, वडा प्रहरी कार्यालयले उनलाई लमही अस्पतालमा स्वाथ्य परिक्षण गराउँदा मापसे गरेको र उनी मानसिक बिरामी पनि भएकाले डाक्टरले मानसिक उपचार गर्न लेख्नु भएको रहेछ’, एस एस पी चौधरीले थपे ‘सो रात (१३ गते) गंगटेलाई प्रहरी थुनामा राखियो, रातभर उसले रक्सी र सुर्ति माग्दै उफ्रने, कराउने, टाउको ठोक्ने गरेछ, १४ गते विहान थुनुवा कक्षको ढोका नजिकै ढलेर बेहोस भएपछि उसलाई लमही अस्पताल लगिएछ, अचेत अवस्थामा रहेकाले उसको इसिजी गर्नु पर्ने र त्यहाँ सो सेवा नभएकाले फोलोरेन्स अस्पतालमा लगिएको र त्यहाँ पनि मेसिन बिग्रेका कारण एम्बुलेन्स खोजेर राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको रहेछ, त्यहाँ पु¥याउँदा डाक्टरहरुले मृत घोषणा गरेका रहेछन्,’ चौधरीले घटना बिवरण सुनाए ।

छानविन समितिका संयोजक चौधरीले गंगटेको अस्पतालमा मृत्यु पछि प्रहरीले उनको हुलिया कटाएको र १६ गते सम्म पनि आफन्त कोही सम्पर्कमा नआएपछि अन्तिम सस्कारकालागि घोराही उपमहानगरपालिकालाई शव जिम्मा लगाएको घटना बिवरण बताए ।

प्रहरी नियन्त्रणमा रहेका ब्यक्तिको मृत्युलाई किन व्यवारिसे शव फेला परेको भनेर सुचना जारे गरियो भन्ने पत्रकारको प्रश्नमा एसएसपी चौधरीले सुचना जारी गर्ने बिषयमा प्रहरीबाट कमजोरी भएको स्विकारर्दै सत्य तथ्य सुचना नदिने देखि वडा प्रहरी कार्यालय लमहीका प्रमुख र त्यहाँको थुनुवा कक्षको जिम्वेवारी सम्हालेकालाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको बताए ।

सो प्रतिबेदन मंगलबार नै प्रदेश प्रहरी प्रमुख लामालाई बुझाइएको छ । लामाले प्रतिबेदन र घटनाबारे थप अनुसन्धान गरी दोषी भेटिएका सबैलाई विभागीय कारवाही गरिने बताए । ‘प्रहरी हिरासतमा मान्छे मर्छ, त्यो सामान्य हो तर त्यसलाई किन लुकाउन सोजियो ? म यो केशलाई अध्ययन गर्दै छुँ’ लामाले पत्रकार सम्मेलनमा भने । उनले जिल्ला प्रहरीको आधिकारीक फेसबुक पेजमा गलत सुचना जारी हुनुको दायित्व जिल्ला प्रहरी प्रमुखले लिनु पर्ने भन्दै एसपी दुर्गा सिंह चन्द देखि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्का र त्यकाँको हिरासत इन्चार्जलाई विभागीय कारवाही हुने बताए ।

भदौ १४ गते घोराहीबाट प्रहरी नियन्त्रणमा परेका एक ब्यक्तिको मृत्यु भएपछि प्रहरीले घोराही–लमही सडक खण्डको चौपट्टामा बेवारिसे शव फेला परेको भनेको थियो । तर मृतक ब्यक्तिलाई प्रहरीले लमही अस्पतालमा स्वाथ्य जाँचका लागि लगेको तस्विर सहितको समाचार सार्बजनिक भएपछि प्रदेश प्रहरी प्रमुख लामाले बरिष्ठ प्रहरी उपरिक्षक चौधरीको संयोजकत्वमा समिति गठन गरेर घटनाबारे अनुसन्धान थाल्न निर्देशन दिएका थिए ।।

प्रकाशित मिति : मङ्गलवार, भाद्र २७, २०७४ समय : २०:०९:३४ 59 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi