५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने अन्तिम तयारी : पूर्वअर्थमन्त्री वर्षमान पुन

दाङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा ५ नम्बर प्रदेशका इन्चार्ज एवं पूर्व अर्थमन्त्री वर्षमान पुन “अनन्त”ले ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने अन्तिम तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले सो कुरा बताएका हुन् ।

“अबको केही दिनमै सरकारले दाङलाई ५ नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको छ”, नेता पुनले भने, “सबै जिल्लाको समान विकास हुुनुपर्छ तर भौगोलिक, सामरिक, हावापानी लगायतका अनुकूलताले गर्दा दाङलाई प्रदेशको राजधानी बनाउनु न्यायिक हुन्छ ।” नेता पुनले सरकारले छिटै प्रदेश प्रमुखहरु तोक्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

प्रदेशको राजधानीको लागि अन्य विकल्प नरहेको चर्चा गर्दै उच्च अदालत, प्रादेशिक प्रहरीको मुख्यालय, नेपाल टेलिकमको प्रादेशिक कार्यालयहरुको स्थापना दाङमा भइसकेको बताए । उनले केही दिनमै नेपाली सेनाको प्रदेश मुख्यालय पनि स्थापना हुने जानकारी दिए । नेपाल आयल निगमको प्रदेशस्तरको डिपो पनि दाङमै स्थापना हुने नेता पुनले बताए ।

प्रकाशित मिति : आइतवार, भाद्र २५, २०७४ समय : ११:२१:३७ 289 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi