बाढी प्रभावित बस्तीमा गृहमन्त्री शर्मा

पहिलोपेज

काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी प्रभावित जिल्लाहरुमा पुगेका छन् । आइतबार मन्त्री शर्माले दुई दिनदेखि परेको अविरल बर्षाका कारण ठूलो क्षति भएको बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी तथा सप्तरी लगायतका जिल्लाहरुको अवस्था निरीक्षण गर्दै राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

बाँकेबाट बाढी प्रभावित बस्तीको निरीक्षण शुरु गर्दै मन्त्री शर्माले स्थानीय प्रशासन र सरोकारवाला निकायहरुलाई २४ सै घण्टा स्ट्याण्डबाई रहेर जनताको सेवामा लाग्न निर्देशन दिएका थिए । ‘हामीलाई एकाएक प्राकृतिक विपद आइलाग्यो’, नेपालगञ्जमा स्थानीय प्रशासकहरुलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘एकाएक आएको विपत्ति सामना गर्न नागरिक समेतलाई साथमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

राज्यसँग न्युन मात्रामा स्रोतसाधन भएको र ठूलो बिपत्ति आइलागेको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘हामीले पहिलो चरणमा उद्धारमा ध्यान दिनुपर्छ, प्रभावितहरुलाई सुरक्षित स्थानमा ल्याएर कोही पनि भोको नरहने गरी आवश्यक ब्यवस्था मिलाउनुस् ।’

पशुपंक्षी विकास मन्त्री सन्तबहादुर थारु, गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई साथमा लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका मन्त्री शर्माले काम गर्दा आइपरेको सबै जिम्मेवारी लिने उल्लेख गर्दै राहत र उद्धारमा आर्थिक लगायतका कुनै संकट आउन नदिने बताए ।

सरकार तपाईको हो, संकटको मिलेर सामना गरौं
गृहमन्त्री शर्माले बाँकेको राप्तीसुनारी गाउँपालिका–७ स्थित फत्तेपुरमा प्रभावित स्थानीयहरुसँग भेटघाट गर्दै प्राकृत्तिक विपत्तिले देशलाई ठूलो संकट पैदा गरेको उल्लेख गर्दैै सरकार प्रभावितको साथमा रहेको बताए ।
‘सरकार तपाईहरुको हो, राज्यमा भएको आर्थिक स्रोत तपाईहरुकै हो । त्यसैले सरकारसँग भएको स्रोत तपाईहरुका लागि प्रयोग गरिने छ’ उनले भने, ‘बाढीको विपत्तिमा हामी तपाईको साथमा छौं । यो राष्ट्रिय संकटलाई मिलेर सामना गरौं ।’

फत्तेपुरकी स्थानीय सुवर्णकुमारी बर्माले मन्त्री शर्मासँग तत्काल बासको ब्यवस्था मिलाई दिन आग्रह गरिन् । बाँकेकी सावित्री बर्माले शक्तिशालीले मात्र राहत लिएको गुनासो गरेपछि मन्त्री शर्माले टोल–टोलमा समिति बनाएर राहत बाँड्ने व्यवस्था मिलाउन स्थानीय अगुवाहरुलाई आग्रह गरेका छन् ।

‘तपाईहरुले आफ्नो टोलमा समिति बनाएर आएको राहत सबैले पाउनेगरी बाँड्नुपर्छ । कसैले राहत पाउने कसैले नपाउने हुँदा भोकै रहने अवस्था आउँछ’, मन्त्री शर्माले भने, ‘तत्काल खाना र अस्थायी बसोबासको ब्यवस्था सरकारको पहिलो प्राथमिकता हो ।’

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावी बनाउने कार्यका लागि समन्वय गर्न जिल्लामा एउटा टिम र केन्द्रमा अर्को टिम रहेको जानकारी दिँदै मन्त्री शर्माले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न खरिद गरेर वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : आइतवार, साउन २९, २०७४ समय : २३:०६:०८ 321 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi