संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्छ : उपकुलपति

पहिलोपेज

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले विश्वभर नै संस्कृत शिक्षाको आवश्यकता रहेको औंल्याउँदै यसलाई सबैले जोगाएर राख्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले आयुर्वेद, वैदिक कृषि, ज्योतिष वास्तुशास्त्र, प्राकृतिक चिकित्सा जस्ता कुरालाई विश्वविद्यालयले योजनामा राखेको जानकारी दिए ।

स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गर्नका लागि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विश्वविद्यालय आफैले योजना बनाएर अगाडि बढ्नुपर्ने बताउँदै विश्वविद्यालयको विकासका लागि उपमहानगरपालिका सहयोग गर्न तत्पर रहेको पनि बताएका थिए । प्राज्ञिक थलोमा विभिन्न समयमा हुने गरेका आन्दोलनले विश्वविद्यालयको छवि बिगारेको बताउँदै उनले विश्वविद्यालयको गरिमा जोगाउनमा सबैले ध्यान दिनुपर्ने बताए ।

विश्वविद्यालयलाई योगको केन्द्रका रुपमा विकास गर्न सकिए विश्वविद्यालयको शाख बढेर जाने समेत उनले बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले विश्वविद्यालयको जग्गाको समस्या समाधानका लागि आफूले विशेष चासो दिने कुरा बताएका थिए । विश्वविद्यालयको विकासका लागि स्रोतलाई उचित व्यवस्थापना गर्ने कुरामा ध्यान दिनुपर्ने समेत उनले बताएका थिए ।

शिक्षाध्यक्ष रमेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, उपमेयर माया आचार्य, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठ, प्रहरी प्रमुख भुवनेश्वर तिवारी, वडाध्यक्षहरु श्याम डाँगी, माधव वली, रामबहादुर योगी लगायतलाई सम्मान गरिएको कार्यक्रममा सह प्रशासक हिमलाल पन्थीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जनता विद्यापीठका प्राचार्य माधव अधिकारीले विश्वविद्यालयका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रशासक प्रदीप गौतमले गरेका थिए ।

प्रकाशित मिति : शुक्रवार, साउन १३, २०७४ समय : १२:५८:५८ 203 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi