स्मार्ट गाउँ र नगर कसरी बनाउने ?

हुम सुनारीमगर  

स्थानीय तहको चुनाव अगाडी स्मार्ट गाउँ र नगर बनाउँने बिषयले अग्रस्थान पाएको थियो। विभिन्न राजनीतिक दलबाट अध्यक्ष तथा मेयरका लागि उम्मेदवारहरूका चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा स्मार्ट गाउँ तथा नगर बनाई दिने कुराले प्रमुखता पाएको थियो। तर, यो स्मार्ट गाउँ र नगर भनेको के हो र कस्तो हुन्छ ? यो कसरी बनाउँन सकिन्छ ? यसको योजना के हो भन्ने सायदै उम्मेदवारहरूले जनतालाई प्रष्ट्याएका थिए। यो प्रचार एउटा चुनाव जित्ने रणनीति बाहेक अरू केहि थिएन भन्दा अन्यथा नहोला।  कुरा स्मार्ट गाउँ र नगरको गर्ने तर त्यसको कार्यन्वयनका लागि कुनै योजना नै नबनाउँने भयो भने ‘मुखमा रामराम बगलीमा छुरा’ भन्या जस्तै हो।

८० प्रतिशत भन्दा बढी नेपालीहरू स्थानीय तह अथवा ग्रामिण क्षेत्र मै बसोबास गर्दछन्। त्यसैले, स्थानीय तहमा विकास नभईकन सिङ्गो देश सम्पन्न र समृद्ध हुन्छ भन्ने ठान्नु मुर्खता सावित हुनेछ। पछिल्लो समयमा ग्रामिण क्षेत्रको अवस्था अति नाजुक छ। अव्यबस्थित बसाईसराई, सबैका शहरमुखी सोच र परिश्रम नगरी विलासी जीवनको अपेक्षा आदि कारणहरूले गर्दा ग्रामिण क्षेत्रका खेतबारी सबै बाँझो भएका छन्। यो अवस्थाले निरन्तरता र प्रार्थमिकता पाईरहे कसरि स्मार्ट गाउँ र नगर बनाउँने ?

लेखक हुम सुनारीमगर

प्रसस्त खाद्यान्न उत्पादन गर्न सकिने प्रयाप्त जमिन हुँदाहुँदै खाद्यान्न उत्पादनमा ह्रास, विदेशबाट खाद्यान्न आयातमा वृद्धि र प्राय: सबै उपभोग्य बस्तुहरू विदेशबाट नै निर्भर हुनुपर्ने वाध्यताले देशको अर्थतन्त्रमा ठूलो असर परेको छ। आयात मात्रै बढ्दै जाने निर्यातमा सून्य अवस्था भयो भने कुन आर्थिक श्रोतले जीवन निर्वाह गर्ने ? गम्भीर प्रश्न यहाँनिर उब्जेको छ। त्यसैले, हिजो स्थानीय तहको निर्वाचन अगाडी अध्यक्ष तथा मेयर पदका उम्मेदवारहरूले जसरि स्मार्ट गाउँ र नगर बनाईदिने आश्वासन जनतालाई बाँडेका थिए, त्यसरी नै त्यसलाई वास्तविकतामा बदल्न अथवा कार्यन्वयन गर्न तपशिलका योजनाहरूलाई प्रतिपादन गर्न सके साच्ची कै स्मार्ट गाउँ र नगर बनाउँन नसकिएला भन्न चाँही सकिन्न।

१) सबैभन्दा पहिला पुरानो शिक्षा नीति सुधार्नु तथा आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ। बिपन्न र सम्पन्न परिवारका विद्यार्थीहरूले अध्ययन गर्ने पाठ्यपुस्तक एउटै हुनुपर्छ। अंग्रेजी प्रमुख, नेपाली र स्थानीयले बोल्ने एक-एक बिषय अनिबार्य गर्नुपर्छ। सबै नेपालीहरूका बालबच्चाहरू कम्तिमा स्नातक तहसम्म अथवा सो सरहको प्राविधिक शिक्षा अनिबार्य हाँसिल गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्छ । यो योजना गाउँ र नगर परिषद सभाले पारित गर्नुपर्छ।

२) नेपाल कृषिप्रधान देश, कृषिलाई प्रमुख प्रार्थमिकता दिनेगरी कृषिक्रान्ति गर्नुपर्छ। आधुनिक प्रविधिद्वारा खेती गर्ने औजार र उपकरणहरू भित्र्याएर कृषकलाई सहुलियत मूल्यमा अथवा भाडामा उपलब्ध गराउँनु पर्छ। सिजनल तथा अनसिजनल खाद्यान्न आफ्नै खेतबारीमा उत्पादन गरेर सबै नेपालीहरू आत्मनिर्भर बन्नु पर्छ । नगदेबालीलाई बढी प्रार्थमिकता दिनु पर्छ, जसले गर्दा आयात घटाउँनेछ र निर्यात बढाउँनेछ। जति निर्यात बढाउँन सकिन्छ त्यति धेरै विदेशी मुद्रा स्वदेश भित्र्याउँन सकिनेछ।

३) टोल, गाउँ र नगरमा भएको बिकृतिहरू (विशेष गरि जुवातास खेल्ने र मादक पदार्थ सेवन गर्ने) लाई पूर्णरूपले निरूत्साहित गर्नुपर्छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन र तासजुवा खेल्न बन्देज गर्नुपर्छ। त्यस्तो भेटिएमा हदैसम्मको सजाय अथवा जरिमाना लगाउँने कानूनको व्यवस्था गर्नुपर्छ।

४) वैदेशिक रोजगारलाई पनि निरूत्साहित पार्नुपर्छ। यो पेशाले देशै सम्पन्न भएको उदाहरण काँही छैन। यसलाई क्षेणिक अथवा वैकल्पिक पेशाको रूपमा मात्र लिनुपर्छ। देशको जनशक्ति आफ्नै देशको विकासमा लगाउँनु पर्छ। सबै यूवाहरूलाई शिक्षित, दक्ष र निपूर्ण बनाएर स्वदेश मै भौतिक पूर्वाधार विकास परियोजनाहरू तथा स्वरोजगारमा लगाउँनु पर्छ। त्यसैले, अब वैदेशिक रोजगारलाई प्रवर्द्धन होइन – बिस्तारै निरूत्साहित पार्नुपर्छ।

५) गाउँ / नगरदेखि माथिल्लो तहसम्ममा देखिएको चरम भ्रष्टाचारलाई पूर्णरूपले समाप्त गर्न तलदेखि माथिसम्म संयन्त्र बन्नुपर्छ। नेपाल विश्व कै अति कम विकसित अथवा सबैभन्दा गरिब राष्ट्रको सूचीमा दर्ज हुनुमा देशको चरम भ्रष्टाचार एउटा प्रमुख कारक हो।

६) लघुजलविधुतदेखि मेगाजलविधुत परियोजनालाई प्रमुख प्रार्थमिकतामा राखेर अबको ५ बर्ष भित्रमै कम्तिमा १० हजार मेगावाट विधुत उत्पादन गर्नुपर्छ। जसले गर्दा साना ठूला उद्योग कलकारखानाहरू लगायत सबै व्यवसायहरू फस्टाउँने छन्। दैनिक उपभोग्य बस्तुहरूको उत्पादन बढ्नेछन्, विदेशबाट आयात घट्नेछ र निर्यात बढ्नेछ। त्यसैले, गाउँपालिका र नगरपालिकाहरूमा गएको बजेट र त्यसले लगाउँने करबाट पनि लघुजलविधुत जस्ता योजनाहरूका लागि बजेट छुट्याउँनु पर्छ।

७) पर्यटनलाई प्रार्थमिकतामा राख्नु पर्छ। नेपालको एक प्रमुख आयश्रोत पर्यटन नै हो। स्थानीय क्षेत्रको होम्स्टेलाई प्रोत्साहन गर्नुपर्छ। राष्ट्रियस्तरका पर्यटन उद्योगलाई व्यवस्थापन, प्रवर्द्धन र विकास गर्नुपर्छ । धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीलाई बिशेष प्रार्थमिकतामा राखेर विश्व भरिका करोडौं बुद्धिष्टहरू नेपाल भित्र्याउने योजना बनाउँनु पर्छ। त्यसको लागि त्यस क्षेत्रका स्थानीय तहबाट नै पहल हुनु जरूरी छ।

सबै नेपाली नागरिक दिनमा कम्तिमा ८ घण्टा आफ्नै लागि खट्न सके केहि बर्षभित्र मै देशको विकासमा कायापलट हुनेछ। यसरि बन्ने छ स्मार्ट गाउँ र नगर। सबै स्थानीय तह अथवा ग्रामिण क्षेत्र स्मार्ट गाउँ र नगरमा परिणत भए सिङ्गो देश समृद्ध र सम्पन्न हुनेमा दुईमत छैन। सबै नेपाली नागरिक परिश्रमी, मेहनती,इमान्दारी र उद्येमी बन्न सके स्वयम् आफै सम्पन्न बन्न सकिन्छ। सबै सम्पन्न बन्नसके सिङ्गो देशै सम्पन्न र समृद्ध बन्नेछ।

 

 

प्रकाशित मिति : बुधवार, साउन ०४, २०७४ समय : १३:४१:३९ 185 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi