टेलिकमको ल्याण्डलाइनका सेवाहरुमा लाग्ने शुल्क हटाइयो

पहिलोपेज

काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा थप सेवाहरु लिँदा लाग्ने शुल्क हटाएको छ । साउन १ देखि लागू हुनेगरी ती सुविधाहरु निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।

टेलिफोनमा कसैले कल गरेमा नम्बर देखिने “कलर आइडी”, आइएसडी सेवा आफैले खोल्न र बन्द गर्न सकिने, पटकपटक डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी ती दुई अंकमात्र डायल गरेर फोन गर्न सकिने, कल डाइभर्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको कम्पनीको भनाइ छ ।

टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट गराउन मिल्ने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेको खण्डमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने, टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क गरिएको छ ।

टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत शुल्क नलाग्ने भएको छ । कलर आइडी सुविधा लिनका लागि टेलिकममा सम्पर्क गर्नुपर्ने तर अन्य सुविधा भने ग्राहकले आफै नै लिन सकिने जनाइएको छ । यसका लागि कम्पनीले विभिन्न कोडको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : मङ्गलवार, साउन ०३, २०७४ समय : १९:१७:४३ 416 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi