सञ्चार जगतमा भ्रमपूर्ण अफवाह फैलाएर व्यापार गर्ने गिरोह फैलिएको छ : निर्मल महरा एटम

निर्मल महरा एटम (केन्द्रीय सदस्य, एमाओवादी केन्द्र)

माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा (एटम) विकासवादी र जनप्रिय नेताका रुपमा परिचित छन् । जनयुद्धमा जनमुक्ति सेनाको तल्लो तहदेखि कमाण्डर हुँदासम्म उनले तल्ला कार्यकर्ताको मनोभावना बुझदै, नेता र पार्टीको निर्देशन र स्प्रिटमा काम गर्ने उनको व्यवहार सबैको माझ चर्चामा थियो । यसैगरी जनयुद्धकै बेला पनि जनताको माझमा बस्न, उनीहरुसँग घुलमिल गरेर उनीहरुका समस्या बुझने र सक्दो समाधानको पहल गर्ने गर्दथे । सेना समायोजन पश्चात स्वैच्छिक अवकाश रोजेका महरा जिल्ला तह हुँदै केन्द्रीय सदस्य तथा दाङ जिल्लाको ३ नं. निर्वाचन क्षेत्रका सह–संयोजकका रुपमा क्रियाशील छन् । दाङ जिल्लामा क्रियाशील रहेदेखि उनले विभिन्न विकास निर्माणका काम र जनसेवाका काममा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । वर्तमान उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका जेठा छोरा निर्मल महराले सादा जीवन र उच्च विचार राख्ने युवा नेताको छवि बनाएका छन् । उनलाई केही समय अगाडि सुन तस्करीहरुलाई संरक्षण गरेको आरोप समेत लागेको थियो । यसै प्रसङ्ग लगायत समसामयिक राजनीतिक अवस्था, विकास निर्माणका विषयमा हामीले कुराकानी गरेका छाँै । प्रस्तुत छ, निर्मल महरा (एटम)सँगको कुराकानी :

१. आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
पार्टीको भावी जिल्ला सम्मेलनको तयारीका लागि पार्टी सदस्यता नवीकरण, सदस्यता आबद्धता फारम बिस्तार, जनभेटघाट, विकासे योजनाहरुको छनौटमा ब्यस्त छु । घरायसी काममा पनि त्यत्तिकै व्यस्त हुने गरेको छु ।

२. तपाईलाई केही समय पहिले सुन तस्करी गर्नेहरूको संरक्षण गरेको आरोप लाग्यो, के यो साँचो हो ?
एयरपोर्ट भन्सारमा कर्मचारी सरुवा गर्दा त्यहाँको प्रमुखलाई मैले पठाएको भनी एउटा विपक्षी निकट “दृष्टि” भन्ने पत्रिका र उक्त पत्रिका निकट सामाजिक संजालका साइटहरुमा यो समाचार प्रकाशित गरेको सुने । केही हेरें । मेरो बुवा (अर्थमन्त्री कृष्णबहादुर महरा) र मलाई जोडेर सुन तस्करीमा संलग्न भएको निराधार आरोप त्यहाँ लगाइएको छ । त्यो कपोलकल्पित भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु । दुःखको कुरो, राजनीतिमा देश र जनताप्रति इमान्दार बनेकै कारण तथा तस्कर र दलालहरुको सेटिङलाई साथ नदिएकै कारण यी अफवाहहरु हाम्रो विरुद्ध फैलाइएको छ । प्रतीक्षा गरौ, भन्सारमा मिलेमतो गर्ने कर्मचारीदेखि त्यसमा संलग्न राजनीतिज्ञ वा जोसुकै व्यक्ति भए पनि उसलाई प्रहरीले कानुनी दायरामा ल्याउनै पर्छ । अन्यथा प्रहरीको मिलेमतो या असफलता भन्ने आरोप लाग्ने छ । तत्काल सुन तस्करीमा संलग्नहरुको पहिचान, पक्राउ र कानूनी कारवाही होस् । अर्थमन्त्री स्वयम्ले आफ्नो मातहतको निकायमा यसका लागि निर्देशन दिनु भएको सुनेको छु ।

३. तपाईको पहलमा भर्खरै दाङमा सरकारले धेरै बजेट छुट्याएको छ । तपाई चुनावको तयारीमा हो ?
पार्टीले विकास समितिको मोर्चा हेर्ने जिम्मेवारी दिएकोले म त्यसमा सक्रियतापूर्वक लागेको छु । पार्टीको जिल्ला इन्चार्जको नेतृत्वमा विकास समिति बनेको छ भने ३ नं. निर्वाचन क्षेत्रको नेतृत्व मैले लिएको छु । जहाँसम्म दाङमा बजेट विनियोजनको पहलको कुरो छ, त्यो समग्र पार्टीले नै पहल गरिरहेको छ । त्यसमा मैले भूमिका निर्वाह गरिरहेको छु । स्थानीय लगायत प्रदेश र केन्द्रको चुनावी माहोलतिर देश गइरहेको छ । हाम्रो पार्टी पूरै चुनावको तयारीमा छ । भोलि ब्यक्ति को उठ्छ ? त्यो गौण कुरो हो तर पार्टी पूरै चुनावको तयारीमा छ ।

४. एउटा सर्वसाधारणले यस्तो पहुँच राख्न सक्दैन । बुवा (कृष्णबहादुर महरा) अर्थमन्त्री भएको फाइदा उठाउनु भयो हैन ?
फाइदा हैन । जनता र अर्थमन्त्रीबीचको पुलको काम गरिदिएको छु मैले । आफै बिचार गर्नोस् त । फाइदा जनतालाई हुन्छ कि मलाई ? जनता र पार्टीले यसलाई अबसरको रूपमा लिनु पर्छ । बुवा मन्त्री भएको बेला कुनै व्यक्तिगत स्वार्थ, लाभ लिएको भए फाइदा लिएको भन्न सक्नुहुन्थ्यो । यहाँ त तपाईहरुकै बीचमा रहेर जनताका विकासका सवालहरुलाइ सम्बोधन गर्ने प्रयास मात्र मैले गरेको छु ।

५. उसोभए तपाईले यस भन्दा अगाडि पनि विकास निर्माणका यस्ता काममा के पहल गर्नु भयो त ?
मैले जिम्मेवारी पाएसम्म, आफ्नो औकातले भ्याएसम्म जनताका विकासका कार्यमा निरन्तर लागेको छु । २ बर्ष पहिले एउटा सामाजिक संस्थामार्फत पनि शैक्षिक क्षेत्रको विकासमा रोल्पा, दाङ र सिन्धुपाल्चोकका स्कुलहरुमा योजना सञ्चालन गरेको थिएँ । दाङका विभिन्न ठाउँका बाटो, कल्भर्ट, सिंचाई कुलो सर्भे तथा रोल्पा, बाग्लुङ, दाङ लगायत देशका विभिन्न स्थानका १ सय १५ फिट भन्दा लामा झोलुङ्गे पुल र मोटरेबल पुलका सर्भे लागत स्टिमेट गराएको छु । त्यो बाहेक थारु समुदायको भूइँह्यार मन्दिर निर्माण, अन्य धार्मिक मन्दिर निर्माण र विद्युत सञ्जालमा जनताले खेप्दै आइरहेको ट्रान्सफर्मरको मागमा साथ दिएर संघर्ष गरेको अनुभव छन् मसँग ।

६. तपाई रोल्पामा जन्मिनु भयो । दाङका अलावा रोल्पामा पनि विकास निर्माणका यस्ता काममा केही पहल गर्नुभएको छ ?
माथि नै भने नि । मैले दाङ, रोल्पा मात्र हैन मेरो सम्पर्कमा आउने सबै ठाउँको सक्दो पहल गरेको छु । बरु अहिलेसम्मको मेरो अनुभव के हो भने विकासको कार्यमा नेपालको कर्मचारी प्रशासन अत्यन्त फितलो छ । कर्मचारीले गर्नुपर्ने काम हामी आफै झ्यालढोका चहार्दै गर्नु परेको छ । जनतालाई यो विषयमा हामीले सिकाउनु पर्छ जस्तो लागेको छ ।

७. तपाई सरकारी कार्यालय वा मन्त्रालयमा जाँदा कृष्णबहादुर महराको छोरा भन्दा पनि एउटा सर्वसाधारण नागरिक वा माओवादी केन्द्रको नेताको रुपमा प्रस्तुत हुनुहुन्छ । सिचाई मन्त्रालयमा दाङको सिचाईको लागि योजना माग गर्न गएको बेला महराको छोरा पनि सर्वसाधारण नागरिकको रुपमा प्रस्तुत भएको भन्दै सिचाईका एक अधिकृतले प्रशंसा पनि गर्नुभयो रे । बुवाको नाम भजाउँदा तपाईलाई काम गर्न सजिलो हुने थिएन र ?
म अहिले पनि मेरो स्तरबाट गर्ने कामहरु त्यो विकाससँग सम्बन्धित भए पनि बुवालाई कमै मात्र भन्छु । दाङको चमै सट्गैया सिचाई कुलो सर्भेको लागि सिंचाई विभागमा गएको बेला एकजना शाखा अधिकृतले त्यसो भन्नुभएको थियो । म आफ्नो बर्कतले भ्याएसम्म काम आफै गर्नुपर्छ भन्ने मान्यता राख्छु । सबै कुरा बुवालाई भनेर साध्य पनि हुँदैन । फेरि सर्वसाधारणको रुपमा जाँदा जनतालाई कर्मचारीले गर्ने व्यवहार सबै थाहा हुन्छ नि त ।

८. अब पार्टीको कुरा गरौं, अहिले माओवादी केन्द्र केमा व्यस्त छ ?
गणतन्त्र, संघीयता लगायत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्नु आजको मुख्य कार्यभार हो । राजनीतिमा, संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मत गराउने र चुनावको माध्यमबाट देशलाई पूर्ण लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिडाउने, जनतालाई समावेशीपूर्ण तरिकाले नयाँ संविधान र शासन सत्ताको प्रत्याभूति गराउने एजेन्डामा हाम्रो पार्टी दृढतापूर्वक अगाडि बढिरहेको छ भने आन्तरिक रूपमा पार्टी संगठन सुदृढीकरणको दिशामा अगाडि बढेको छ ।

९. नेताले हामी त ठीकै छौं तर कार्यकर्ताले राम्रो गरेनन् भन्ने अनि कार्यकर्ताले हामी त ठीकै छौं नेता बिग्रिए भन्ने । खासमा बिग्रिएको को हो ?
हामी जहाँ जहाँ बिग्रिएका छौं स्तरअनुसार हामी सबै बिग्रिएका हौंला । त्यसलाई हामीले सच्याउनु पर्छ । कार्यकर्ता र नेताले एकापसमा आरोपप्रत्यारोप गर्नु भनेको हामी हाम्रो दृष्टिकोणमा स्पष्ट छैनौं भन्ने अर्थ लाग्छ । मलाई लाग्दैन कि हामी त्यो स्तरको अन्तरबिरोधमा छौं । यदि हामीमा समस्या नै गम्भीर प्रकृतिका छन् भने त्यसलाई सच्याउने बिधि भनेको जनता हुन् । हामी सबै जनतामा जाऔं । जनताप्रति उत्तरदायी बनौं, सबै समस्या त्यहाँ हल हुन्छ ।

१०. जनयुद्धमा उठाइएका नारा नेताले छाडे । कार्यकर्ताले जनता छाडे भन्ने लाग्दैन ?
तपाईंको आशय अलि बुझिएन । जनयुद्धमा उठाएका एजेन्डा सबै पूरा भएका छैनन्, त्यो सत्य हो तर नारा एजेन्डा छोडेको बिल्कुलै होइन । अहिले नयाँ संविधान निर्माणदेखि गणतन्त्र, समाबेशी, समानुपातिक, धर्म निरपेक्षता सबै माओवादीका युद्धकालीन कार्यनैतिक नारा थिए । आज ती पूरा हुँदैछन् । समाजवादी क्रान्तिमार्फत बाँकी कार्यभार पूरा गर्छौं ।

११. केही व्यक्तिगत कुरा गरौं । तपाई दाङमा बस्नुहुन्छ । एटमले नाटक गर्छ, महराको छोरालाई काठमाडौंमा बसेर टन्न खान पुग्छ । पैसा पनि छ भन्छन नि ?
अरु दुनियाँ नेता र मन्त्रीका छोराछोरी जस्तै म पनि काठमाडौंका बङ्गलामा र विदेशका स्कुल कलेजहरुमा शयर हुन्थें भने मेरो टिप्पणी नै किन हुन्थे र ? आज म जनताकै बीचमा छु । मान्छेमा हुने कमजोरी ममा पनि छन् । टिप्पणी र आलोचनालाई म शिक्षाको रूपमा लिन्छु । समाजमा सुहाउँदो जीवनस्तर मेरो छ । त्यो हामीले बनाउनु पनि पर्छ जस्तो लाग्छ । भोको पेट र नाङ्गो हातले राजनीति गर्नु छैन मलाई तर तपाईंले भने जस्तो ब्यापारी पाराको टन्न पैसावाल चाहिँ हैन म, एटमको जीवन कस्तो छ ? दाङको गैरागाउँ, जहाँ म बस्छु, त्यहाँ आएर सबैले हेर्न सक्नुहुन्छ ।

१२. तपाईको परिवार हाल को कता के गरिरहेका छन त ?
हाम्रो सिङ्गो परिवार माओवादी आन्दोलनबाट आएको हुनाले अरु पूर्णकालीन कार्यकर्ताझैं व्यवस्थापनकै पाटोमा भौतारिरहेका छौं हामी पनि । दिदी, बहिनी र म दाङमै छौं । दिदीको पसल छ । बहिनी र ज्वाई सहकारी र सफ्टवेयर कम्पनीमा काम गर्छन् । म पनि कृषि, सप्लाई ब्यबसाय र पार्टीको काम गर्छु । अहिले एउटा रेमिटान्स कम्पनी खोलेर काम सञ्चालन गर्दैछु । भाइले बुवाको काममा सहयोग गरिरहेको छ । आफ्नो ब्यबस्थापनको काम र पार्टीकै काममा हामी सब परिवार छौं ।

१३. अन्तमा केही भन्नु छ कि ?
तपाइँहरु श्रमजीवी पत्रकार हो तर अहिले सञ्चार जगतमा भ्रमपूर्ण अफवाह फैलाएर व्यापार गर्ने गिरोह फैलिएको छ, सत्य र तथ्य लेख्ने र प्रकाशित गर्ने तपाईंहरुको मेहनतले नै मिडिया क्षेत्रको विकृति हट्न सक्छ भन्ने विश्वास मैले लिएको छु । धन्यवाद ।

प्रकाशित मिति : शुक्रवार, माघ ०७, २०७३ समय : १९:२३:५६ 4849 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi