एकता समाज प्रवासी नेपालीको हकहितका लागि स्थापित सामाजिक संस्था हो

छविलाल बस्नेत (अध्यक्ष, ओमान नेपाली एकता समाज)

छविलाल बस्नेत ओमान नेपाली एकता समाजको अध्यक्ष पदमा क्रियाशील हुनुहुन्छ । उहाँसँग हाम्रा समाचारदाता जीबी लामाले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ । (सम्पादक)

chhabilal-basnetतपाईं हालसालै ओमान नेपाली एकता समाजको अध्यक्षमा चयन हुनु भएको छ । यो समाज स्थापना कहिले र कुन उद्देश्यले भएको हो ?

-> हजुर, ओमान नेपाली एकता समाजका निवर्तमान अध्यक्ष तथा सहयोद्धा मित्र शिबलाल गिरीजी ओमान छाडी स्वदेश प्रस्थान गर्नु भएको हुनाले गत अक्टोबर २ का दिन सम्पन्न बिस्तारित बैठकद्वारा मलाई साथीहरुले अध्यक्षको जिम्मेवारी दिएको छ । ओमान नेपाली एकता समाजको स्थापना सन् २००७ डिसेम्बर २० तारीखका दिन हामी प्रवासमा कार्यरत नेपाली मजदुरहरुबिच भैपरिआउने समस्याहरु सामूहिक रुपले समाधानको लागि, प्रवासी नेपाली नेपाली मजदुरहरुको हक हितको लागि र उनीहरुमाथि उनी अन्याय र अत्याचारबिरुद्ध आवाज बुलन्द गर्ने उद्धेश्य बोकी स्थापना भएको एउटा सामाजिक संस्था हो ।

प्रवासमा आफ्नो ब्यक्तिगत कामको अलावा समाज सेवामा आफूलाई कसरी समर्पित गरिरहनु भएको छ र कतिको कठिनाई महसूस गर्नु भएको छ ।

-> कुनै पनि काम गर्दा सामान्य कठिनाई त छदैछ तैपनि कमाउनको लागि सबै कुरा छोडेर बिदेश आएका छौ दिनमा २४ घण्टा हुन्छ ८ घण्टा काम गरेर बाँकी १६ घण्टामा ८ घण्टा सुते पुग्छ र बाँकी समयलाई समाज परिबवर्तनको लागि सामाजिक हितको लागि लगाउनु आवश्यक छ तर मान्छेलाई सामूहिक हितको भावना भएन भने उसले समय पनि निकाल्न सक्दैन ।

ओमानमा सामाजिक संघसंगठनको लागि यहाँको कानूनसितको वैधानिकता कस्तो छ र यस सम्बन्धमा कुनै अप्ठ्यरो तथा बाधाहरु के हुन ? र समाधानको प्रयास के हुन सक्छ ?

-> ओमानको कानून सम्मत यहाँको कुनैपनि संघसंस्था खुलेको होईन । खासै त्यस्तो दर्ता प्रक्रिया पनि केही नभएता पनि एउटा सोसियल क्लब चाही दर्ता गर्न मिल्ने प्रावधान रहेछ र यहाँका सबै नेपाली संघसंस्थाहरु र कूटनीतिक नियोगको पहलमा सोसियल क्लब दर्ता प्रक्रियामा पनि हामी गाएका हौ तर प्रावधिक कारणबश रोकिरहेको छ । अहिलेसम्म खासै त्यस्तो अप्ठ्यरो त आइपरेको छैन । सानातिना समस्या आएको खण्डमा कूटनीतिक नियोगको सहयोगमा समाधान गर्दै आएका छौ र हामीले कुनै कम्पनीको मजदूरको समस्याको हकमा हामी सामाजिक कार्यकर्ता हौं भनेर जाने गर्छौ र निस्वार्थ रुपमा सेवाको भावनाले लागेको भएर होला अहिले सम्म त्यस्तो कुनै ठुलो समस्या आएको छैन ।

ओमानमा स्थापित नेपाली कूटनीतिक नियोग र नेपालीबिचको सम्बन्ध कस्तो देखिएको छ र नियोगले जनहितका कामहरुमा कत्तिको चासो देखाएको पाउनु भएको छ एउटा सामाजिक कार्यकर्ताको हैसियातले ?

-> खासगरी पहिला ओमानमा दूतावास नभएको र अहिले भएको अवस्थालाई तुलनात्मक रुपले हेर्दा धेरै फरक पाएका छौ । पहिला हामीले सानातिना काम पनि साउदीको दूतावासमार्फत गर्नु पर्ने भएको हुनाले महिनौ दिनसम्म कुर्नु पर्थ्यो तर अहिले त्यो अवस्था छैन । र अहिले सम्म दूतावासले कुनै काम आल्टाल वा ढिलासुस्ती गरेको भन्ने कुनैपनि गुनासा सुन्नमा आएको छैन त्यो अर्थमा नियोगले राम्रै काम गरिरहेको मान्न सक्छौ र महिनाको एकदिन अन्तिम शुक्रवार विदाको दिन पनि दूतावासले आफ्नो सेवा सुचारू गरेर अरुदिनमा छुट्टी मिल्न गाह्रो भएका कामदारहरूको लागि पनि सुविधा दिई रहेको छ पक्कै पनि यो राम्रो काम हो साथै दूतावासले नेपाली संघसंस्थाहरुबीच पनि राम्रो सम्बन्ध कायम गरी जनहितको सवालमा सहकार्य गर्दै आइरहेको हामीले पाएका छौ ।

लामो समयदेखि प्रवासमा कार्यरत हुनुहुन्छ । प्रवासी नेपालीहरूको बास्तबिक समस्या के हो जस्तो लाग्छ तपाईलाई ?

-> सर्वप्रथम आज दैनिक करिब एक हजारको हाराहारीमा युवाहरु विदेशिनु परिरहेका छन् यसको प्रमुख कारण भने देशको परिस्थिति सरकार र प्रमुख राजनैतिक दलहरु नै बढी जिम्मेवार हुन । लाखौको संख्यामा युवाहरु विदेशिएर पनि आफ्नो श्रम र पसिना अनुसार पारिश्रमिक नपाउनु र आउनु भन्दा पहिला नै मेनपावर अथवा दलाललाई तिर्नु पर्ने मोटो रकमले पनि मजदुरलाई धेरै समस्यामा पारेको छ । नेपाल सरकारले बैदेशिक रोजगार जस्तो एउटा महत्वपूर्ण क्षेत्रलाई निजी मेनपावरहरुलाई दिएको छ र ती मेनपावरहरुले हामी कामदारहरुलाई बस्तुसरह बेचेको छ र विदेशका कम्पनीमालिकहरुले कौडीको मूल्यमा किनेर सस्तो परिश्रमिकमा काममा लगाईएको छ । जसका कारण अधिकांश मजदुरहरु श्रम शोषणमा परेको छ यसको एउटै समाधान भनेको मेनपावर ब्यवस्थालाई पूर्णरुपमा खारेज गरी नेपाल सरकारले श्रम मन्त्रलाय मार्फत दक्ष मजदूरहरुलाई मात्र बिदेश पठाउने गरेमा मात्र केहीहदसम्म समस्याको निराकरण हुन्छ अझ त्यो भन्दा नि हाम्रो प्रमुख जोड भनेको सरकारले स्वदेशमा नै रोजगारीको ब्यवस्था गरी आम युवाहरुलाई देशको बिकास र निर्माणमा लगाउनु पर्छ भन्ने हो ।

तपाईको संगठनले प्रवासी नेपालीहरूको हितमा हाल सम्म चालेका कदमहरु के के हुन ?

-> हाम्रो संगठन स्थापना कालदेखि नै समाजसेवा समर्पित भएको हुनाले यसले मजदुरहरुको समस्या समाधानको लागि गरेका कामहरूको बारेमा त ईतिहास नै पल्टाउनु पर्ने हुन्छ र ति सबै मलाई याद पनि नहुन सक्छ । यहाँ कूटनीतिक नियोग नभएको बेला पनि हामीले साउदीको दूतावासमार्फत नियोगको मागसहित परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको र सायत त्यसको सुनुवाई भएर नै दूतावास पनि स्थापना भयो । दूतावास स्थापना पश्चात् पनि हामीले यहाँका मजदुरहरुको समस्याहरुको समाधानको लागि बिविध मागहरु सहित दूतावासमार्फत सरकारलाई बेलाबखत ज्ञापन पत्र बुझाउदै आइरहेका छौ । २००७ मै स्थापना भएपनि हाम्रो संगठन २००९ देखि अलि सक्रीयपुर्वक कार्य गर्दै आएको छ । त्यस बेलाको नेपालीहरूको परिवेश र अहिलेको परिवेशमा धेरै भिन्नता आएको छ । नेपाली-नेपालीबीच नै भएको विभेद र सम्बन्धमा अहिले सुधार छ । त्यो बेलामा मानब तस्करहरुको निकै चलखेल थियो ओमानमा । ठगिएका मजदुरहरुलाई न्याय दिलाउने क्रममा हामीले दलालहरूको कठोर धम्कीका बावजूत पनि पीडितलाई उद्दार गरी स्वदेश फिर्ता गरी क्षतिपूर्ति दिलाएको थुप्रै कामहरु पनि हामीले गरेका छौ ।

बिदेशमा हामी ब्यक्तिगत आकांक्षा पूर्ति गर्नको लागि आएको हो या समाजसेवा या राजनीतिको लागि ?

-> गाँस बॉस र कपासका लागि हो तर यहाँ आएर पनि हामीले समाजसेवा र राजनीतिक गतिविधि सञ्चालन गर्न सक्छौं ।

प्रकाशित मिति : मङ्गलवार, कार्तिक ०२, २०७३ समय : २२:५८:०९ 1614 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi