उदघाटनमा पुगेका उपप्रधानमन्त्री महराले जब आफ्नै विद्यार्थीलाई अस्पतालमा भेटे…

पहलमानको नर्भिकमा निःशुल्क उपचार

पहिलोपेज

Krishna_Bahadur_Maharaकाठमाण्डौ । समयले मानिसलाई कहाँ कहाँ पुराउँछ ? भन्ने त गीतै छ । एउटा सामान्य संयोगले जटिल परिस्थितिलाई पनि सरल र सहज बनाइदिन्छ । यस्तै सुखद संयोग उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र उनैले कक्षा १ देखि १० सम्म पढाएका विद्यार्थी लिवाङ– ७ रोल्पाका पहलमान सेनबीच बनेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र लिवाङ–७, रोल्पाका पहलमान सेनबीच भेट हुने संयोगले सेनको निःशुल्क उपचार हुने भएको छ । जण्डिसले थलिएका सेनको बिगत केही दिनदेखि काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

उसो त उपप्रधानमन्त्री महरा नर्भिक अस्पतालमा निर्माण भएको लून–गङ्गा सुइट्सको उदघाटनका लागि बुधबार नर्भिक अस्पताल पुगेका थिए । त्यही बेलामा अर्थमन्त्री महरालाई रोल्पाको लिवाङ घर भएका बिरामी सेनको त्यही अस्पतालमा उपचार भइरहेको जानकारी आयो । त्यसपछि, अस्पतालको सातौं तलामा उपचार गराइरहेका सेनलाई भेट्न महरा आफै पुगेका थिए । विरामी सेन परेछन्, आफैले कक्षा १ देखि १० कक्षासम्म पढाएका विद्यार्थी पहलमान सेन । आफ्नै बिद्यार्थी गम्भीर अवस्थामा उपचारार्थ भर्ना भएको देखेर उपप्रधानमन्त्री महराले अस्पतालको ब्यवस्थापन पक्षलाई गर्न सकिने सहयोग गरिदिन आग्रह गरेका थिए ।

त्यही रहेका अस्पतालका अध्यक्ष बसन्त चौधरीले सेनको सम्पूर्ण उपचार निःशुल्क गरिने बताए । अस्पताल स्रोतका अनुसार पहलमानको उपचारका लागि हालसम्म करिब ४२ हजार रुपैयाँ खर्च भएको छ । बिरामी डिस्चार्ज हुने बेलामा उक्त रकम पनि फिर्ता गरिने अस्पतालले जनाएको छ ।

पहलमानको उपचारमा संलग्न चिकित्सक डा. मनु बस्नेतका अनुसार पहलमानलाई भएको बिमारलाई “कोनिक लिभर डिसिज” भनिन्छ । स्वास्थ्य अवस्थामा सुधार भइरहेको र यही सुधार कायम भए एक हप्तामा डिस्चार्ज गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : बुधवार, भाद्र २९, २०७३ समय : १९:३६:०५ 15977 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi