नेपालमा पर्यटन विकासको सम्भावना, समस्या र चुनौती (अवधारणा–पत्र)

(२०७३ असार १८ गते नेपालमा पर्यटन विकासको सम्भावना, समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंहद्वारा प्रस्तुत)
Mohan_Bikram_Singh१. नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ वा पर्यटनबाट लाखौँ मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठूलो अन्तर पार्दछ । त्यसरी पर्यटनले विश्वस्तरमा नै एउटा ठूलो उद्योगको रूप लिंदै गएको छ र नेपालमा पनि पर्यटनको क्रमशः द्रुत रूपले त्यही रूपमा विकास हुँदै गइरहको छ । संसारका विकसित देशहरूमा आम रूपमा मानिसहरूले सालको केही समय अनिवार्य रूपले पर्यटनमा लगाउने गर्दछन् र त्यस सिलसिलामा नेपालमा पनि ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू आउने गर्दछन् । तर हाम्रो देशमा पर्यटनको त्यस रूपमा विकास भएको छैन । त्यो अवस्थामा एकातिर वाह्य पर्यटकहरूको नेपालमा आगमन र तिनीहरूको बसाईमा बृद्धि गर्न अधिकतम प्रयत्न गर्दै आन्तरिक पर्यटनलाई पनि विकसित र व्यवस्थित गर्न योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्दछ ।
२. देशमा पर्यटनको विकासबारे विचार गर्दा प्रारम्भमा नै एउटा कुराप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आजको युगमा विकासका साथै त्यसको पूँजीवादीकरण हुँदै जाने हुन्छ । जहाँ पनि विकास हुन्छ त्यहाँ पूँजीवाद अगाडि आउँछ । त्यसको अर्थ हुन्छ, विकासको क्षेत्रमा पूँजीपति वर्गको प्रभूत्व हुन्छ, त्यसबाट हुने आयको ठूलो भाग उनीहरूले लैजान्छन् र जनताको ठूलो भाग त्यसबाट हुने आयबाट बञ्चित हुन्छ । त्यही कुरा पर्यटनको क्षेत्रमा पनि सत्य हो । पर्यटनको विकासका साथै त्यसबाट प्राप्त हुने आयको न्यायपूर्ण वितरण होस् र जनसाधारण पनि त्यसबाट लाभान्वित होउन । त्यसप्रति पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।
३. अहिलेसम्म नेपालमा पर्यटनको विकास गर्दा केही उच्च हिमशिखर, धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरू वा प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरूलाई नै महत्व दिने गरिएको छ । तर पर्यटनको विकासका सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो हो – ग्रामीण पर्यटन । यो पक्षलाई विकसित गर्ने प्रयत्न गरियो भने त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने छ । अर्को शब्दमा त्यसले पर्यटनको विकासमा गुणात्मक फड्को नै ल्याउने छ । त्यसबारे देशका पिछडिएका क्षेत्रहरूको विकासमा धेरै मद्दत पुग्नुका साथै जनसाधारणलाई पनि प्रत्यक्ष रूपले धेरै लाभ पुग्नेछ । सरकारले प्रस्तुत गरेको पर्यटनसम्बन्धी रणनीतिक योजना (२०१६–२०२५)ले खालि पर्यटनसितसम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिइएको छ । ग्रामीण पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाइएको छैन । विश्वस्तरमा पनि ग्रामीण पर्यटन प्रति मानिसहरूको रुचि बढ्दै गएको छ र त्यसले महत्वपूर्ण स्थान लिदै गइरहेको छ । पर्यटनबारे विचार गर्दा आम रूपमा ग्रामीण पर्यटनको पक्षतिर कम ध्यान दिने गरिन्छ । त्यस प्रकारको पृष्ठभूमिमा पर्यटनको त्यो उपेक्षित पक्ष, ग्रामीण पर्यटनको पक्षप्रति यो अवधारणापत्रमा बढी प्रकाश हाल्ने प्रयत्न गरिने छ । बास्तवमा ग्रामीण पर्यटनको भविष्य अत्यन्त उज्ज्वल छ । त्यसले यो कुरा मान्दछ कि नेपालको प्रत्येक गाउँगाउँ पर्यटनका केन्द्र हुन सक्दछन् । नेपाल गाउँगाउँहरूको देश हो । प्रत्येक गाउँका आआफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरू छन् । ती सबै पर्यटनका विषयहरू हुन सक्दछन् । तिनीहरूलाई व्यवस्थित वा विकसित गरेर पर्यटनको धेरै नै विकास गर्न सकिन्छ ।
४. पर्यटनको पक्ष सामान्यतः वाह्य पक्ष हो । पर्यटक भन्नाले देशभित्र वा बाहिरबाट आउने मानिसहरूलाई नै बुझ्नु पर्दछ । तर त्यससित जोडिएको अर्को आन्तरिक पक्ष पनि छ । त्यो हो – ग्रामीण विकास । ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ । एकातिर, ग्रामीण विकास नभइकन ग्रामीण पर्यटनको विकास हुन सक्दैन । अर्कातिर, पर्यटनले ग्रामीण विकासमा मद्दत पुर्‍याउँछ । त्यसरी पर्यटनसित जोडिएपछि गाउँहरूको विकासको व्यापक सम्भावना बढेर जानेछ । त्यसको अर्थ यो पनि हुन्छ, नेपालमा ग्रामीण पर्यटनको विकास हुनुको साथै गाउँहरूको पनि विकास हुँदै जानेछ । त्यो अवस्थामा नेपालको राजधानी, केही प्रमुख शहरहरूमा केन्द्रित रहेको विकास गाउँहरूमा विस्तार हुनेछ । त्यसरी ग्रामीण पर्यटनले खालि पर्यटनमा एउटा नयाँ आयाम थप्ने र त्यसमा गुणात्मक फड्को ल्याउने मात्र काम गर्नेछैन, त्यसले नेपालको समग्र विकासमा पनि नयाँ आयाम थप्ने र गुणात्मक फड्को ल्याउने काम गर्नेछ । त्यसरी सामान्यत पर्यटनले विशेषतः ग्रामीण पर्यटनले पिछडिएको देशलाई उन्नत देशमा लैजान र जनसाधारणको आर्थिक स्तर उठाउन पनि बलियो आधार प्रदान गर्नेछ ।
५. ग्रामीण पर्यटनको सवालमा सरकारले तयार पारेको १० वर्षे रणनीतिक योजनामा केही उल्लेख गरिएको छ । यद्यपि यो रणनीतिक योजना लागू भइसकेको छैन । आर्थिक वर्ष २०७३–७४देखि त्यसलाई लागू गर्ने सरकारको उद्देश्य रहेको छ । देशका पछिपरेका क्षेत्रहरूलाई मिलाएर पर्यटन विकास क्षेत्रहरूको निर्माण गर्ने योजनाले त्यो दिशामा केही मद्दत पुर्‍याउने छ । तैपनि ग्रामीण पर्यटनको पाटोलाई उपेक्षा गरिएको छ । बजेटले पनि त्यसबारे खास ध्यान दिएको पाइन्न । यद्यपि जनस्तरमा त्यो दिशातिर प्रयत्न भइरहेका छन् । सिरुवारी, घान्द्रुक, घले गाउँ, बन्दिपुर आदि त्यो दिशामा गरिएका केही उल्लेखनीय उदाहरण हुन् । त्यो बाहेक कुनै गाउँमा पर्यटकलाई आकर्षित गर्ने खास विषयहरू के–के हुन् ? त्यो पक्षको अध्ययन गर्ने र विकसित गर्नुपर्ने आवश्यकता हुन्छ । विभिन्न जनजातिहरूका गाउँहरूमा उनीहरूको संस्कृति जनजीवन पर्यटकहरूका लागि रुचि वा अध्ययनका विषयहरू हुन सक्दछन् । त्यही प्रकारले कुनै गाउँमा ऐतिहासिक वा पुरातात्विक महत्वका कैयौँ विषयहरू हुन सक्दछन् । तिनीहरूको अध्ययन, अनुसन्धान वा उत्खननद्वारा नै कैयौँ महत्वपूर्ण ऐतिहासिक वा पुरातात्विक महत्वका विषयहरूको ज्ञान हुन सक्दछ । वास्तवमा नेपालका प्रत्येक गाउँमा त्यस प्रकारका बेग्लाबेग्लै सम्भावनाहरू छन् । ती सम्भावनाहरूलाई ठीकसित विकसित गर्ने प्रयत्न गरेमा पर्यटनको विकासका साथै प्रत्येक गाउँको विकासका धेरै नै सम्भावनाहरू अगाडि आउन सक्दछन् । अर्को शब्दमा केही प्रयत्न गर्ने वित्तिकै थोरै प्रयत्न र थोरै समयमा नै नेपालमा सयकडौँ होइन, हजारौँ सिरुवारी, घान्दु्रक, घलेगाउँहरू हुन सक्दछन् । त्यसले नेपालमा पर्यटनको विकासमा आशातित प्रगति हुनेछ ।
६. ग्रामीण पर्यटनको क्षेत्रमा नयाँ थपिएको नाम ओखरकोट हो । २०६६ सालमा ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्यूठान गठन भएपछि गत करिब आधा दशकको अवधिमा त्यहाँ जनस्तरबाट योजनाबद्ध प्रकारले कैयौँ कामहरू भइरहेका छन् । त्यो समितिको पहलमा ओखरकोट र त्यसको सेरोफेरोका १० वटा गाविसहरूमा पर्यटन र ग्रामीण विकासको सर्वेक्षण र अध्ययनको काम भएको छ । त्यो समितिको पहलमा र नेपाल पर्यटन बोर्ड र प्यूठान जि.वि.स.को सहयोगमा प्यूठानमा पर्यटनको विकासका लागि गुरु योजनाको निर्माण भएको छ । ओखरकोटको पर्यटनको विकासमा संलग्न व्यक्तिहरू सम्मिलित भ्रमण टोलीबाट सिरुवारी, घान्द्रुक, बन्दिपुर गएर त्यहाँको ग्रामीण पर्यटनको विकासबारे शिक्षा र प्रेरणा लिने काम भएको छ । संसदीय कोषको सहयोगमा र जि.वि.स.को तत्वाधानमा ओखरकोट पर्यटनको विकासको गुरु योजना बनेको छ । उक्त गुरुयोजनामा ओखरकोटको कोटमा भ्यू टावर, गाउँमा रिङ्ग रोड, रक गार्डेन, पार्कहरू बनाउने योजनाहरू बनेका छन् । (उक्त तीनवटै अध्ययनका प्रतिवेदनहरू ‘ओखरकोट’ पुस्तकको परिशिष्टमा प्रकाशित भएका छन् ।) गाउँमा होमस्टेको स्थापना भएको छ । सरकारी सहायतामा रक गार्डेनको निर्मँणमा प्रारम्भिक काम भएको छ । गाउँमा रिङ्ग रोड, मोटर सडकको निर्माण भएको छ । ओखरकोट, बाँदीकोट हुँदै गुल्मी जोड्ने रणनीतिक सडकको योजना अन्तर्गत काम शुरु भएको छ । समितिले ओखरकोट विश्वकोष परियोजना बनाएर काम शुरु गरेको छ । त्यो योजना अन्तर्गत करिब ५० जना स्वदेशी र विदेशी विज्ञहरूले ओखरकोट र आसपासका गाउँहरूमा गएर प्रारम्भिक अध्ययन र अनुसन्धान गर्ने काम गरिसकेका छन् । उनीहरूका प्रारम्भिक अध्ययनबाट तयार पारिएका लेख प्रतिवेदन “ओखरकोट” लेख सङ्ग्रह पुस्तकका रूपमा प्रकाशित भइसकेको छ । त्यसका साथै “ओखरकोट (तस्वीर सङ्ग्रह)” पनि प्रकाशित भइसकेको छ । ओखरकोट (डकुमेन्ट्री) को निर्माण पनि भइसकेको छ । त्यो समितिले छिट्टै ‘ओखरकोट’ अर्धवार्षिक पत्रिका पनि प्रकाशित गर्दैछ । समितिले १० गाविसहरूलाई मिलाएर “गौमुखी पर्यटन विकास क्षेत्र” बनाउने योजना बनाएको छ । त्यो विकास क्षेत्रका लागि आर्थिक वर्ष २०७३–७४ को बजेटमा केही रकमको पनि विनियोजन गरिएको छ । ओखरकोटमा जनस्तरबाट पर्यटन र विकासको काम ५ वर्ष पहिले शुन्यबाट सुरु भएको थियो । त्यहाँ भएको प्रगतिले बताउँछ कि केही प्रयत्न गर्ने वित्तिकै नेपालको प्रत्येक गाउँमा पर्यटनको विकास हुन सक्दछ ।
७. नेपालमा पर्यटनको गन्तव्य स्थानहरूमा मुख्य रूपले उच्च हिम शिखर तथा काठमाडौँ उपत्यका, पोखरा, लुम्बिनी आदि क्षेत्रहरू रहने गरेका छन् । ती स्थानहरू बाहेक सौराहा (चितवन), मुस्ताङ, खप्तड लेक, जनकपुर, रारा आदि पनि नाम पर्यटकीय स्थलहरू आउने गरेका छन् । तर पर्यटनको विकासका लागि नयाँ पर्यटकीय क्षेत्रहरूको खोजी वा निर्माण गर्नुपर्दछ । त्यसका लागि व्यापक सम्भावनाहरू पनि छन् । पर्यटनसम्बन्धी रणनीतिमा नेपालका विकासका दृष्टिले तुलनात्मक रूपलेपछि परेका ६ वटा क्षेत्रहरूलाई पर्यटनको गन्तव्यको रूपमा विकसित गर्ने योजना बनाएको छ । जो यस प्रकार छन् :
१. बृहत्तर पोखरा – पश्चिम क्षेत्र ।
२. बृहत्तर लुम्बिनी – दक्षिण पश्चिम क्षेत्र ।
३. कैलालीको सेरोफेरो – सूदुरपश्चिम क्षेत्र ।
४. इलाम सेरोफेरो – पूर्वी क्षेत्र ।
५. कर्णाली प्रदेश – मध्ये पश्चिम क्षेत्र ।
६. मध्यमाञ्चल क्षेत्र ।
बृहत्तर पोखरा अन्तर्गत पश्चिम क्षेत्रको पोखरा र सेरोफेरो पर्दछ । बृहत्तर लुम्बिनी अन्तर्गत दक्षिण–पश्चिमी क्षेत्र भित्रका चितवन, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु र प्यूठान पर्दछन् । सुदुर पश्चिम क्षेत्रमा कैलालीको सेरोफेरो, पूर्वी क्षेत्रमा इलामको सेरोफेरो, मध्यपश्चिम क्षेत्रमा कर्णाली प्रदेश र मध्यमाञ्चलमा काठमाडौँ उपत्यका भित्रका जिल्लाहरू पर्दछ ।
८. उपरोक्त ६ वटा क्षेत्रहरूको विकासबाट नेपालमा पर्यटनको विकासमा धेरै मद्दत पुग्ने आशा गर्न सकिन्छ । त्यसरी कैयौँ जिल्ला वा प्रदेशहरूलाई मिलाएर पर्यटन क्षेत्रको विकास गर्ने बाहेक एउटै जिल्लामा पनि कतिपय गाविसहरूलाई मिलाएर पर्यटन क्षेत्रहरू बनाउने र पर्यटकीय गन्तव्यहरू बनाउने प्रयत्न गर्नुपर्दछ । केही पूर्वाधार तयार पार्ने वित्तिकै नेपालमा हजारौँको सङ्ख्यामा पर्यटकीय गन्तव्यहरू बन्न सक्नेछन् र त्यसरी नेपालको पर्यटनको क्षेत्रका धेरै नै विस्तार हुन सक्नेछ । त्यस सिलसिलामा प्यूठानको गौमुखी पर्यटन विकास क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
९. प्यूठानको गौमुखी पर्यटन विकास क्षेत्रभित्र प्यूठानका ओखरकोट, बाँदिकोट, नारीकोट, खुङ, अर्खा, रजवारा, पूँजा, लिवाङ, तुषारा र बाङ्गे गरी १० वटा गाविसहरू पर्दछन् । त्यो क्षेत्रमा गौमुखी जस्तो प्राकृतिक र धार्मिक महत्वको स्थान छ । केही पूर्वाधार निर्माण हुने वित्तिकै त्यो राष्ट्रिय महत्वको पर्यटकीय केन्द्र बन्न सक्दछ । लिवाङमा स्नाथान जस्तो प्रागऐतिहासिक महत्वको स्थान पनि त्यही क्षेत्रमा पर्दछ । त्यहाँको मानव शास्त्रीय अध्ययन गर्ने हो भने त्यहाँ ढुङ्गे युगीन सभ्यताको जानकारी प्राप्त हुने सम्भावना भएको मत इतिहासकारहरूले प्रकट गरेका छन् । लिवाङमा नै दियाल्नाचौर जस्तो अत्यन्त सुन्दर रमणीय स्थान छ । ओखरकोटमा बाईसे–चौविसे राजाहरूको समयभन्दा पहिले मगर, जाट राजाहरूको पालाको ऐतिहासिक र पुरातात्विक महत्वको कोट छ । जहाँ उत्खनन गर्ने हो भने, मध्यकालिन मगर इतिहास र संस्कृतिसम्बन्धी महत्वपूर्ण सामाग्रीहरू प्राप्त हुन सक्दछन् । बाङ्गेमा कौछेखण्डको जङ्गल छ जहाँ सफारी (बन बिहार)का लागि धेरै नै महत्वपूर्ण हुन सक्दछ । ओखरकोटको ढाँडमा रक गार्डेनको निर्माणका दिशामा काम भइरहेको छ, जो आफ्नो प्रकारको राष्ट्रिय महत्वको पर्यटकीय स्थल बन्न सक्नेछ । त्यो क्षेत्रमा बाग्लुङको ढोरपाटनदेखि गौमुखी क्षेत्र हुँदै स्वगद्वारी पुग्ने पर्यटकीय पैदल मार्गको जीपीएस सर्भे गरिएको छ । गौमुखी भित्रका १० वटा गाविसलाई जोड्न आन्तरिक पर्यटकीय मार्गको निर्माणका लागि सरकारले केही बजेट स्वीकृत गरेको छ र त्यो बाटोको निर्माणको काम छिटै सुरु हुँदैछ । इस्नाथानमा पर्यटनको विकास, गौमुखी पर्यटन क्षेत्रको विकास समेतमा पर्यटनको विकासका लागि केही आर्थिक बजेट पनि विनियोजन गरिसकेको छ । गौमुखी पर्यटन विकासको अवधारणा एउटा प्रतिनिधि उदाहरण मात्र हो । त्यो नयाँ विकसित अवधारणा हो । प्यूठानमा स्वर्गद्वारी आसपासका गाविसहरूलाई मिलाएर स्वर्गद्वारी पर्यटन विकास क्षेत्रको निर्माण गर्न सकिन्छ । त्यही प्रकारले बेग्लाबेग्लै जिल्लाहरूमा पर्यटकीय महत्वका कैयौँ गाउँहरूलाई मिलाएर पर्यटन विकास क्षेत्रहरूको निर्माण गर्न सकिन्छ । अन्नपूर्ण पर्यटन विकास त्यससम्बन्धी एउटा आदर्श उदाहरण हो । त्यसरी नेपालमा अहिलेका परम्परागत गन्तव्यहरू बाहेक सयकडौँ नयाँ पर्यटकीय गन्तव्यहरू तयार हुन सक्नेछन् ।
१०. नेपाल पर्यटन बोर्डले सम्बन्धित जिल्लाहरूका जिविसहरूसित सहकार्य गरेर भक्तपुर, गोरखा, सल्यान, इलाम, मुस्ताङ, सिन्धुपाल्चोक, प्यूठान सहितका केही जिल्लाहरूमा सर्वेक्षण गरेर गुरुयोजनाहरू बनाएको छ । ती गुरुयोजनाहरूलाई एकीकृत रूपमा लागू गर्ने प्रयत्न गरिएमा नेपालको पर्यटनको विकासका लागि धेरै मद्दत पुग्ने छ । ती गुरु योजनाहरूलाई लागू गर्ने पहल गर्नुका साथै रणनीतिक योजनामा प्रस्तावित छ वटै पर्यटन विकास क्षेत्रहरू, अन्य सम्भावित जिल्लाहरू, विभिन्न जिल्लाहरू अन्तर्गतका कतिपय गाविसहरूलाई मिलाएर बन्ने विकास क्षेत्रहरू (जस्तै कि गौमुखी पर्यटन क्षेत्र) आदिको पनि गुरुयोजना बनाएर पर्यटनको विकासका लागि पहल गर्नुपर्दछ । त्यसो भएमा पर्यटनको विकासको सम्भावनामा कैयौँ गुणा बृद्धि हुनेछ ।
११. सरकारले कैयौँ योजनाहरू बनाउँछ । तर ती मध्ये धेरै लागू हुँदैनन् । कतिपयलाई कार्यान्वयन गर्ने प्रयत्न गरिए पनि कार्यान्वयनको दौरानमा ठूलो धनराशी भ्रष्टाचार हुन्छ । कुनै योजनालाई लागू गर्ने सिलसिलामा त्यो कार्यक्रमलाई बढीभन्दा बढी कसरी सफलता पूर्वक लागू गर्नेभन्दा त्यो कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा कति धेरै भ्रष्टाचार गर्ने ? त्यो कुरालाई प्राथमिकता दिएर काम गर्ने गरिन्छ । त्यो प्रवृत्ति कर्मचारीहरूमा मात्र होइन, राजनीतिक दलहरूमा पनि काफी हदसम्म पाइन्छ । यहाँसम्म कि कैयौँ कार्यक्रमहरू सम्पन्न गर्न दलीय वा जनस्तरमा उपभोक्ता समितिहरू बन्दछन्, त्यस प्रकारका उपभोक्ता समितिमा एकातिर, राजनीतिकरण गर्नेतिर प्रतिस्पर्धा हुन्छ भने, अर्कातिर, कामलाई कार्यान्वयन गर्नेभन्दा त्यसबाट भ्रष्टाचार गर्न खोज्नेहरूको बाहुल्यता हुन्छ । विकास वा पर्यटनका लागि कुनै नयाँ रकमको निकास भयो भने त्यसबारे कति लाभ उठाउने ? त्यतातिर सोच्ने प्रवृत्ति पनि निकै पाइन्छ । जसले भ्रष्टाचार गर्न चाहन्छन्, उनीहरूले माथिदेखि नै विभिन्न प्रशासकीय स्तरमा विकास रकमको भागबण्डा छुट्टाउँदै आउँछन् । जसले भ्रष्टाचार नगरिकन सेवा भावले काम सम्पन्न गर्न चाहन्छन्, उनीहरूलाई भ्रष्ट कर्मचारीहरूको सहयोग हुन्न । त्यस प्रकारका भ्रष्ट र गैरजिम्मेवार प्रवृत्तिहरूका कारणले धेरैजसो विकास कार्यक्रमहरू असफल हुन्छन् वा कार्यान्वयन भए पनि तिनीहरूको गुणस्तर कम हुन्छ । त्यही कुरा पर्यटनसम्बन्धी कार्यहरूको सन्दर्भमा पनि सत्य हो ।
१२. अन्य विकसित देशहरूको तुलनामा नेपालमा पर्यटनको पक्ष अपेक्षाकृत नयाँ विषय हो । बाटो, पुल, स्कूल आदि रचनात्मक कार्यहरूबारे जनता धेरै अभ्यस्त भइसकेका छन् । तर पर्यटनलाई उनीहरूले कम महत्व दिन्छन् । ग्रामीण पर्यटनलाई ता अरू कम महत्व दिने गरिन्छ । त्यो अवस्थामा सर्वप्रथम उच्च राजनीतिक र प्रशासकीय स्तरदेखि जनस्तरसम्म सामान्यतः पर्यटन र विशेषतः ग्रामीण पर्यटनको महत्वबारे योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।
१३. कुनै स्थानमा जब पर्यटनको धेरै विकास हुन्छ, त्यसबाट ठूला व्यवसायीहरू नै त्यसबाट फाइदा उठाउन अगाडि आउँछन् । त्यसरी पर्यटनको विकासबाट जनसाधारणलाई अत्यन्त कम लाभ पुग्दछ । त्यसकारण पर्यटनको विकासबाट जनस्तरलाई बढीभन्दा बढी लाभ पुगोस् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ । ग्रामीण पर्यटनले स्थानीय जनतालाई बढी लाभ पुर्‍याउन सक्दछ । हाम्रा अगाडि सिरुवारी (स्याङ्जा), घान्दु्रक (कास्की), बर्दियाको ठाकुरद्वाराको डल्ला र कैलालीको भादागाउँ लगायतका उदाहरणहरू छन् । सिरुवारी ग्रामीण पर्यटनको शायद नेपालभरिको नै सबैभन्दा पुरानो र एउटा आदर्श नमूना हो । त्यहाँ कुनै होटेल छैनन् । त्यहाँ पूरै नै होमस्टेको व्यवस्था छ । त्यसरी त्यहाँ आउने पर्यटकहरूबाट स्थानीय जनतालाई नै लाभ पुग्दछ । धान्द्रुकमा होमस्टेभन्दा होटलको व्यवस्था बढी छ । त्यहाँ होम स्टेहरू एकाधमात्र छन् । तैपनि त्यहाँ गाउँ बाहिरका मानिसहरूले होटेल खोल्न पाउँदैनन् । ग्रामीण पर्यटनको सिलसिलामा सर्वप्रथमता सिरुवारीको प्रणालीलाई नै अपनाउने प्रयत्न गरिनु पर्दछ । कुनै स्थानमा पर्यटनको विकास धेरै भयो भने बाहिरका र कतिपय विदेशका पनि ठूला व्यवसायीहरूले ठूला होटेलहरू खोल्न थाल्दछन् । त्यो अवस्थामा पर्यटनबाट स्थानीय जनतालाई पुग्ने लाभ अत्यन्त नगण्य हुन्छ । सरकारले कानून बनाएर नै ग्रामीण पर्यटनबारे स्थानीय जनताको लाभ सुनिश्चित गर्न त्यहाँ गाउँ बाहिर ठूला व्यवसायी वा विदेशी व्यापारीहरूलाई प्रवेश गर्न नपाउने व्यवस्था गर्नुपर्दछ ।
१४. गत दशकहरूमा पर्यटनको विकासको क्षेत्रमा सरकारी वा गैर–सरकारी स्तरमा उल्लेखनीय प्रगति भएको छ । त्यस अनुसार पर्यटनसम्बन्धी कैयौँ नीति, योजना, ऐन, गुरुयोजना वा कानूनहरू बनेका छन् भने सरकारी वा गैर–सरकारी स्तरमा पर्यटनसम्बन्धी काम गर्नका लागि कैयौँ संस्थाहरूको गठन र विकास भएको छ । पर्यटनको क्षेत्रमा भएका यी सबै कार्यहरू महत्वपूर्ण छन् । तर राष्ट्रिय अर्थतन्त्रमा पर्यटनले पुर्‍याउने योगदान र त्यसको सम्भावित भविष्य समेतमाथि ध्यान दिंदै त्यसका लागि सरकारले विनियोजन गर्ने गरेको बजेट एकदम अपर्याप्त वा कम हुने गर्दछ । आर्थिक वर्ष २०७३–७४ मा सरकारले कूल बजेटको जम्मा २.४१ प्रतिशत पर्यटनका लागि विनियोजन गरेको उदाहरणबाट पनि त्यो कुरा प्रष्ट हुनेछ । तर त्यति कम प्रतिशत रकम पनि पर्यटनको विकासका लागि मात्र नभएर पर्यटन, संस्कृति र नागरिक हबाई उड्डयनको विकास र साधारण खर्चका लागि छुट्टाइएको एकीकृत रकम हो । त्यो रकम मध्ये पनि ठूलो अंश लुम्बिनीको विकास र पोखराको अन्तर्राष्ट्रिय विमान स्थलको निर्माणका लागि छुट्टाइएको छ । त्यसपछि पर्यटनको विकासका लागि अत्यन्त कम रकम बाँकी रहन्छ । त्यो न्यून रकमले पर्यटनको क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न हुन सक्दैन । खास गरेर ग्रामीण पर्यटन, विभिन्न जिल्लाहरूमा पर्यटन विकास क्षेत्रहरूको निर्माणमा समेत जोड दिने हो भने पर्यटनका लागि बजेट कैयौँ गुणा बढाउनु पर्ने आवश्यकता छ ।
१५. सामान्यतः पर्यटन र विशेषतः ग्रामीण पर्यटनको विकासबारे विचार गर्दा ग्रामीण क्षेत्रको आर्थिक विकाससम्बन्धी योजनाहरूको कार्यान्वयनमा पनि विशेष जोड दिनुपर्ने आवश्यकता छ । त्यसका लागि खास गरेर कृषिको आधुनिकीकरण र सहकारीतामा जोड दिनु आवश्यक छ । त्यसरी आर्थिक आधार बलियो भएपछि नै ग्रामीण विकासले ठोस रूप लिन सक्नेछ र त्यसबाट ग्रामीण पर्यटनलाई पनि मद्दत पुग्नेछ । त्यसरी ग्रामीण क्षेत्रमा आर्थिक विकासको लागि सरकारी स्तरमा विभिन्न योजनाहरू लागू गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यहरू अगाडि बढाउन प्रोत्साहित गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्दछ । समाप्त
प्रकाशित मिति : शनिवार, आषाढ १८, २०७३ समय : २३:२४:१६ 2132 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi