सञ्चारकर्मी र गायक छत्र परियार जीवन–मरणको दोसाँधमा

नरेन्द्र केसी

“झर्छन् आँसु बल्झिन्छ मनको घाउ
तिम्रो याद मेटाउन कहाँ जाऊँ
मठमन्दिरमा गछ्र्यौ भाकल
लाखौं कोसिस गर्दा नि तिम्लाई भुल्न सकिन
निरमाया तिम्ले भुल्दा भाछु पागल”Chatra_Pariyar

राजपुर– ९ भौवानाकाका छत्र परियारले यस्तो गीत गाउँदा उनी आफैलाई थाहा थिएन होला आँसु कहाँ झर्छन् र मनको घाउ कहाँ–कहाँ बल्झिन्छ भन्ने कुरा । यी गीतका हरफहरु यतिबेला गायक तथा सञ्चारकर्मी छत्र परियारको स्वयं आफ्नै जीवनमा बज्रिन आइलागेका छन् ।

“नाका आवाज” द्वैमासिक पत्रिकाका सम्वाददाता समेत रहेका गायक छत्र यतिबेला जीवन–मरणको दोसाँधमा उभिएका छन् । उनको एकातिर मृत्यु छ, अर्कोतिर जीवन । मृत्यु यस अर्थमा कि उनलाई अचानक क्यान्सर रोग लागेको छ र सामान्य किसान परिवारमा जन्मिएका छत्रलाई मृत्यु स्वीकार्नुको कुनै विकल्प छैन । यद्यपि उनले जीवन खोजिरहेका छन् र हजारौं/लाखौं दानवीरसमक्ष हारगुहार गरेका छन् । “जिन्दगीको अन्तिम श्वास लिँदासम्म जीवनको आश हुँदोरहेछ”, छत्रले भने, “मलाई पनि जीवनको आश छ । उपचारका लागि मेरो आर्थिक हैसियत छैन । स्वदेश र विदेशमा रहेका जीवनदाताहरुले मलाई जीवनदान दिनुहुनेछ भन्ने विश्वास छ ।”

“देख्छु आँखाको सेरोफेरो” अनि “मठमन्दिरमा गछ्र्यौ भाकल” लगायतका धेरै कर्णप्रिय गीतका गायक तथा सञ्चारकर्मी छत्र परियारको क्यान्सर रोग पहिलो चरणमै रहेकाले निको हुने चिकित्सकहरुले बताए पनि महङ्गो उपचार खर्च लाग्ने देखिएको छ । चितवनमा उपचार गराइरहेका परियारले आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएकाले २० देखि २४ लाखसम्म खर्च लाग्नसक्ने चिकित्सकहरुले बताएको छत्रले जानकारी दिए ।

“दुई घण्टा ढिलो मात्र अस्पताल गएको भए बाँच्नसक्ने अवस्था नरहेको चिकित्सकहरुले भन्नुभयो”, छत्रले थपे, “अब खतरा टरे पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारका लागि आर्थिक अभाव छ । “झर्छन् आँसु बल्झिन्छ मनको घाउ” भन्ने मेरै गीत मैमाथि लागू भएको छ ।”

सहयोग संकलन शुरु
सञ्चारकर्मी तथा गायक परियारको उपचारका लागि सहयोग संकलन कार्य शुरु गरिएको छ । क्रान्तिकारी पत्रकार संघ दाङका साधारण सदस्य रहेका परियारको उपचार सहयोगका लागि सो संगठनले संस्थागत पहल थालेको छ । संघले आइतवार पत्रकार सम्मेलन गरी सहयोगका लागि सबैलाई अपिल गर्दै संघको तर्फबाट ५ हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष डिल्ली मल्लले सहयोग हस्तान्तरण गरेका हुन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि ५ हजार सहयोग गरेको छ । महासंघका अध्यक्ष सुदीप गौतमले सहयोग हस्तान्तरण गरेका थिए । त्यस्तै महासंघका सल्लाहकार एवं गणतन्त्र दैनिकका प्रकाशक/सम्पादक सविन प्रियासन र घोराही निवासी लक्ष्मी अधिकारीले पनि १/१ हजार सहयोग गरेका छन् । परियारलाई सहयोग गर्न चाहनेले परियारको मोबाइल नम्बर ९८६७७३५९९९ मा सम्पर्क गर्न सकिने संघले जनाएको छ । त्यस्तै संघका जिल्ला अध्यक्ष डिल्ली मल्लको ९८४७८२७२२१ मा पनि सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : आइतवार, चैत्र ०७, २०७२ समय : १९:४७:०५ 1753 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi