विश्व महिला सम्मेलनका लागि ४० देशका महिला राजधानीमा

“विश्वका महिलाहरु सर्वोच्च शिखर चुम्दैछन्” भन्ने मूल नारा

काठमाडौं । “विश्वका महिलाहरु सर्वोच्च शिखर चुम्दैछन्” भन्ने मूल नाराका साथ दोस्रो विश्व महिला सम्मेलन आइतवारदेखि राजधानीमा शुरु भएको छ । विश्वका ४० देशका महिलाहरुको सहभागिता रहेको महिला विश्व सम्मेलनको उद्घाटन आइतवार सभामुख ओनसरी घर्तीमगरले गरेकी छन् ।

woman8सभामुख घर्तीमगरले आफ्नो उद्घाटन मन्तव्यका क्रममा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने मान्यता राख्न नहुने बताउँदै भनिन्, “जिम्मेवारी पाएपछि महिलाहरु जे काम पनि सफलतापूर्वक गर्नसक्छन् ।” उनले सामान्य महिलाहरुले पनि जिम्मेवारी पाएमा ठूलाठूला काम गर्नसक्ने धारणा राखिन् । सभामुख घर्तीमगरले नेपालको नयाँ संविधानमा थुप्रै महिला अधिकार समावेश भएको र त्यसको सफल कार्यान्वयमा जोड दिइन् ।

उद्घाटनसत्रमा युरोपियन कोअर्डिनेटर जर्मनीकी मोनिका गार्टनर, निदरल्याण्डकी हलिङ्का, बंगलादेशकी जोली, मध्यपूर्वकी ओजलाम लगायतका महिला नेतृहरुले सम्बोधन गरेका थिए । आइतवारदेखि शुरु भएको दोस्रो विश्व महिला सम्मेलन ६ दिनसम्म चल्नेछ ।

दोस्रो महिला विश्व सम्मेलन चैत १ र २ गते विभिन्न ९ वटा विषयहरुमा केन्द्रित रही कार्यशाला सम्पन्न हुनेछ । महिलासँग सम्बन्धित विषयहरु महिलावाद, महिला आन्दोलन, ग्रामीण महिलाको समस्या, किसान महिला र युवा महिलाका समस्या, राष्ट्रिय स्वाधीनतामा महिलाले खेलेको भूमिका, महिला र वातावरण संरक्षण, साम्राज्यवाद र महिला उत्पीडन लगायतका विषयमा कार्यपत्रहरुको प्रस्तुति रहने व्यवस्थापकीय भूमिका निर्वाह गरिरहेका नेपालका विभिन्न महिला संगठनको तर्फबाट सांसद मीना पुनले बताइन् । सांसद् पुनका अनुसार ९ वटा समूहमा विभाजित भएर एकएकवटा कार्यपत्रमाथि छलफल हुनेछ ।Woman2

त्यसक्रममा चैत ३ र ४ गते साधारणसभा हुनेछ भने चैत ५ गते “काठमाडौं घोषणापत्र जारी गर्दै विश्व महिला सम्मेलनको समापन गरिने छ । सम्मेलनले महादेशस्तरको कोअर्डिनेटरको चयन पनि गर्नेछ । दोस्रो महिला विश्व सम्मेलनको व्यवस्थापन नेपालका विभिन्न महिला संगठनहरुको “संयुक्त महिला संघ, नेपाल”ले गरिरहेको छ । जसमा एमाले, दुई माओवादी, माले, संयुक्तलगायतका वामपन्थी महिला संघसंगठनहरु सम्मिलित छन् ।पहिलो विश्व सम्मेलन भेनेजुयलाको राजधानी काराकासमा भएको थियो । दोस्रो विश्व महिला सम्मेलन “विश्वका महिलाहरुले सर्वोच्च शिखर चुम्दैछन्” भन्ने नाराका साथ नेपालमा शुरु भएको हो । साम्राज्यवादविरुद्ध विश्वका महिलाहरु एक हुने, राजनीतिक परिवर्तन र देशको विकास भए पनि महिलामाथिका भेदभाव कायम रहेको र अविकसित देशमा सामन्ती व्यवस्था र भर्खर सामन्ती व्यवस्थाको अन्त्य भएका देशहरुमा झन समस्या धेरै हुने भएकाले सममस्या समाधानका लागि एक ठाउँमा जम्मा हुने, समस्याको पहिचान र समाधानको उपाय खोजी गर्ने र निचोड निकाल्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ ।

प्रकाशित मिति : मङ्गलवार, चैत्र ०२, २०७२ समय : १३:०६:३९ 917 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi